काठमाडौं । नेपाल राष्ट्र बैंकले कृषि कर्जालाई प्राथमिकता दिए पनि यसमा बैंक, वित्तीय संस्थाको लगानी भने घट्न थालेको छ । सहुलियत ब्याजको कृषि कर्जा प्रवाह बन्द हुनुका साथै विदेशिने युवा बढेपछि बैंकहरूको कृषि कर्जा वृद्धिदर नकारात्मक देखिएको हो ।
राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदनअनुसार चालू आर्थिक वर्ष (आव) को असोजमा कृषिक्षेत्रको कर्जाको मात्रा घटेको छ । क्षेत्रगत रूपमा खानी, उत्पादनमूलक उद्योग, निर्माण, थोक तथा खुद्रा व्यापार, सेवा उद्योग र उपभोग्यलगायत क्षेत्रमा कर्जा बढ्दा कृषिमा भने शून्य दशमलव ४ प्रतिशतले घटेको छ ।
गत आवको असारसम्ममा बैंक, वित्तीय संस्थाबाट कृषिक्षेत्रमा ४ खर्ब १८ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह भएकोमा गत असोजसम्ममा शून्य दशमलव ४ प्रतिशत अर्थात् १ अर्ब ५६ करोड रुपैयाँले कमी आई ४ खर्ब १७ अर्ब रुपैयाँ कायम भएको छ ।गत आवको असोजको तुलनामा भने बैंकहरूको कृषि कर्जा शून्य दशमलव १६ प्रतिशतले बढेको छ । गतवर्ष असोजसम्म बैंकहरूले कृषि क्षेत्रमा ४ खर्ब १६ अर्ब ३५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
राष्ट्र बैंकले भने कृषिमा कर्जा प्रवाह बढाउन बाध्यकारी बनाउँदै आएको छ । राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकहरूले कृषिमा २०८४ असार मसान्तसम्ममा कुल कर्जाको न्यूनतम १५ प्रतिशत प्रवाह गर्नुपर्छ । यसअनुसार २०८१ असारसम्ममा ११ प्रतिशत, २०८२ असारसम्ममा १२ प्रतिशत, २०८३ असारमा १३ प्रतिशतको सीमा निर्धारण गरिएको छ ।
यसअघि कृषिमा तोकिएको सीमाअनुसार कर्जा प्रवाह गर्न २०८० असारसम्मको समयसीमा दिइएकोमा कोभिड–१९ महामारीको कारण देखाउँदै राष्ट्र बैंकले थप समय दिएको हो । तोकिएको समयसीमामा कर्जा पुर्याउन बैंकहरूले कृषिमा लगानी बढाउँदै जानुपर्नेमा उल्टो घट्न थालेको छ ।
बैंकहरू भने सहुलियत ब्याजदरको कर्जा रोकिएको तथा बैंकमा कृषि कर्जाको माग पनि नभएकाले लगानी विस्तार नभएको बताउँछन् । ‘राष्ट्र बैंकले निर्देशन दिएर मात्र कृषि कर्जा बढाउन सकिँदैन,’ एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, ‘सरकारले युवाहरू कृषिमा आकर्षित हुने वातावरण बनाए स्वत: लगानी बढ्छ ।’ युवा विदेशिने क्रम बढ्नु र सहुलियत ब्याजको कर्जा रोकिनु पनि यसको प्रमुख कारण भएको उनले बताए । बैंक, वित्तीय संस्थाहरूले सरकारबाट ब्याज अनुदान नपाएपछि १ वर्षयता सहुलियत कर्जा दिएका छैनन् ।
नेपाल राष्ट्र बैंक, अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट पनि युवाहरू विदेश जाने क्रम बढेकाले कृषि कर्जामा प्रभाव परेको हुनसक्ने बताउँछन् । ‘अहिले युवा विदेशिने क्रम बढेकाले कृषिमा कर्जाको माग कम भएको हुनसक्छ,’ उनले भने ।
राष्ट्र बैंकका अनुसार गत आवको असारको तुलनामा असोजमा बैंकहरूको कर्जा प्रवाह १ खर्ब २८ अर्ब ६५ करोड रुपैयाँ (२ दशमलव ५ प्रतिशत)ले वृद्धि भएको छ । गतवर्ष असोजको तुलनमा भने यसपटक कर्जा प्रवाह ६ प्रतिशतले बढेको छ ।
यस्तै गत आवको असारको तुलनामा चालू वर्षको असोजसम्ममा बैंकहरूको निक्षेप २ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ । गत आवको असोजको तुलनामा निक्षेप वृद्धि १२ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । यसैगरी उच्च विप्रेषण आप्रवाहका कारण अर्थतन्त्रका बाह्य सूचकहरू अझ बलियो भएका छन् । चालू आवको असोजसम्ममा विप्रेषण आप्रवाह ११ दशमलव ५ प्रतिशतले वृद्धि भई ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । यससँगै चालू खाता १ खर्ब ११ अर्ब ८७ करोडले बचतमा रहेको छ । यसैगरी विदेशी मुद्राको सञ्चिति ९ दशमलव ४ प्रतिशतले वृद्धि भई २२ खर्ब ३२ अर्ब २८ करोड रुपैयाँ बराबर पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ ।