काठमाडौं । दुई क्याप्टेन चम्किंदा नेपालले क्यानडाविरूद्धको तीन एकदिवसीय खेलको सिरिज जितेको छ । क्यानडाविरुद्धको आज भएको दोस्रो खेलमा चार विकेटले उक्त सिरिजमाथि कब्जा जमाएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर क्यानडाले पहिला व्याटिङ गर्ने निर्णय गरेको थियो । क्यानडाले नेपालसामु २८६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले उक्त विजयी लक्ष्य ४५ दशमलव १ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका तीन खेलाडीले अर्धशतकीय पारी खेले । नेपाली सिनियर टिमका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ८७ रन बनाए । उनले १०१ बल खेल्ने क्रममा ४ छक्का र ८ चौका प्रहार गरे । यस्तै जुनियर टिमका क्याप्टेन देव खनालले ८१ बलमा ७६ रन बनाए । उनले त्यसक्रममा २ छक्का र ७ चौका हाने । यसैगरी अनिलकुमार साहले ३ छक्का र ७ चौकासहित ५० रनको योगदान दिए । भीम सार्कीले २३, पवन शर्राफले १४ र आशिफ शेखले १० रन बनाए ।
बलिङतर्फ क्यानडाका हर्ष थाकर र ईश्वरजोत सोहीले दुई–दुई तथा शाद विन जाफर र दिलप्रित बज्वाले एक–एक विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रनको योगफल बनायो । क्यानडाका लागि ओपनर आरोन जोन्सनले सर्वाधिक ६५ रन जोडे । उनले ६२ बलमा १० चौका र २ छक्का हाने । यस्तै नवनित धलिवालले ४६, श्रेयश मोभ्वाले ४०, पर्गत सिंहले ३८, निकोलस कीर्तनले २०, उदय भगवान्ले २०, दिलप्रित बज्वाले १९ तथा शाहिद अहमदजाइलाईले १३ रन बनाए ।
बलिङतर्फ नेपालका लागि रोहितकुमार पौडेल र कुशल मल्लले दुई–दुई तथा सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले एक–एक विकेट लिए । यसअघि बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपालले क्यानडामाथि रोमाञ्चक जित हासिल गरेको थियो । नेपालले क्यानडासँग पहिलो पटक एकदिवसीय सिरिज खेलेको हो ।