काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले गत आर्थिक वर्ष (आव) ०८०/८१ को लाभांश प्रस्ताव गरेको छ । वैशाख ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीका आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ५ अर्ब रुपैयाँ छ । सोही पूँजीको आधारमा नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात् लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको हो ।
आगामी वार्षिक साधारण सभा गर्न गत आवको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पनि स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेश गर्ने निर्णय कम्पनीले गरेको छ । कम्पनीले गत वर्षभन्दा यस वर्ष थोरै लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।