काठमाडौं । विश्वभर मनाइने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा एनसेल फाउन्डेसनले विभिन्न संस्थासँग सहकार्य गरेको छ । बालविवाह अन्त्यका लागि जनसचेतना जगाउन र संयुक्त पहलद्वारा यसको समाधान खोज्न संस्थाले जोन्टा क्लब काठमाडौं, युएनएफपीए र युनिसेफ नेपालसँग सहकार्य गरेको हो । उक्त सहकार्यअन्तर्गत महिलाविरुद्धको हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवसको अवसरमा एक विशेष कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा महिला नेतृत्वमा रहेका संस्थाहरू, निजी क्षेत्रका प्रतिनिधिहरू र विभिन्न सरोकारवालाहरूले बालविवाह अन्त्यका समाधानबारे छलफल गरेको एनसेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कार्यक्रमको उद्घाटन जोन्टा क्लब काठमाडौंका अध्यक्ष बिना रानाले गरेकी थिइन् । उनले बालविवाह रोक्न सबै पक्षको सहकार्य अपरिहार्य रहेकोमा जोड दिएकी छन् । युनिसेफ नेपालकी डेप्युटी रिप्रेजेन्टेटिभ टु नेपाल जी हयुन राह, युएनएफपीए नेपालकी लैंगिक तथा मानव अधिकार विशेषज्ञ, कमला विष्ट, कलाकार प्रकाश सपुत र एसडीजी स्टुडियोले ‘शिरमै फुर्के रिबन’ शीर्षकको संगीत भिडियो सार्वजनिक गरे ।
कार्यक्रममा आफ्नो धारणा राख्दै एनसेलकी हेड अफ कर्पोरेट कम्युनिकेसन्स एण्ड सिएसआर, विशाखा लक्ष्मी खड्काले भनिन् ‘नेपालको एक अग्रणी निजी क्षेत्रको रूपमा एनसेल समावेशी र समानतामा आधारित समाज निर्माणप्रति प्रतिबद्ध छ । एनसेलमा हामी लैंगिक हिंसाको अन्त्य गर्नु केवल सामाजिक आवश्यकता मात्र नभई सबैको नैतिक जिम्मेवारी पनि हो भन्ने विश्वास राख्छौं । यस किसिमको विभिन्न क्षेत्रको साझेदारीहरूको माध्यमबाट हामी यस सामूहिक प्रयासलाई प्रोत्साहन गर्न, समुदायलाई सशक्त बनाउन सक्ने वातावरण निर्माणतर्फ काम गर्न चाहन्छौं ।’
बालविवाहको मूल समस्याहरू, जस्तै– गरीबी, शिक्षा अभाव र सीमित आर्थिक स्रोतको समाधान गर्न महिला नेतृत्वमा रहेका संस्थाहरू, निजी क्षेत्र र अन्य सरोकारवालाहरूको एकीकृत दृष्टिकोण आवश्यक रहेको एनसेलले बताएको छ । उक्त सहकार्यद्वारा बालविवाह अन्त्य गर्न सबै पक्षले आफ्नो अनुभव र स्रोत प्रयोग गरी योगदान गर्न सक्ने अपेक्षा गरिएको छ ।
जोन्टा क्लब काठमाडौंकी अध्यक्ष रानाले भनिन्, ‘लैंगिक हिंसा अझै पनि गम्भीर समस्या हो, जसलाई बालविवाहको बढ्दो दर र जलवायु परिवर्तनका खतराहरूले थप जटिल बनाएको छ । ‘जोन्टा सेज नो टु भायोलेन्स अगेंस्ट वुमन’ अभियानमार्फत हामी महिलाहरू, किशोरीहरू र समाजको उज्ज्वल भविष्य निर्माण गर्न प्रतिबद्ध छौं । २०१८ देखि जोन्टा इन्टरनेशनलले युएनएफपीए–युनिसेफ ग्लोबल प्रोग्राम टु इन्ड चाइल्ड म्यारिजलाई समर्थन गर्दै आएको छ । युनिसेफ, युएनएफपीए र एनसेल फाउन्डेसनसँग सहकार्य गर्न पाउँदा हामी निकै हर्षित छौं ।’
कार्यक्रमको समापनमा, युनिसेफ नेपालकी राहले भनिन्, ‘विभिन्न सहकार्यद्वारा हामी बालविवाहको चक्र तोड्न र महिलाहरू तथा किशोरीहरूलाई उनीहरूको सम्पूर्ण सम्भावनामा पुग्न सशक्त बनाउन सक्नेछौं । यो कार्यक्रम समानता र हिंसामुक्त समाज निर्माणतर्फको हाम्रो प्रारम्भ हो ।’ बालविवाह अन्त्यका लागि जनसचेतना जगाउन र संयुक्त पहलद्वारा यसको समाधान खोज्न संस्थाले जोन्टा क्लब काठमाडौं, युएनएफपीए र युनिसेफ नेपालसँग सहकार्य गरेको हो ।