बैंकिङ प्रणालीमा मानिसहरू अभ्यस्त हुँदै गएसँगै बैंक तथा वित्तीय संस्थाको कारोबारमा खतरा बढ्दै गएको छ ।
प्रविधिको विकासले बैंकिङ कारोबार गर्न सजिलो बनाए पनि बैंक तथा वित्तीय संस्थाको सुरक्षा व्यवस्थामा चुनौती थपेको छ । बैंकिङ प्रणालीभित्र अनधिकृत रूपमा प्रवेश गरी रकम चोरी गर्ने, आफ्नो फाइदाका लागि संस्थामा जालझेल गरी रकम ठगी गर्नेजस्ता कार्यले बैंक तथा वित्तीय संस्थालाई समय समयमा झस्काउने गरेको छ । बैंक तथा वित्तीय संस्थाको ठगीलाई बुझ्न ठगीको कानूनी व्यवस्थाको बारेमा जान्नु उपयुक्त हुन्छ । आफ्नो कार्यले कसैलाई असर पर्न सक्छ भन्ने कुरा जानाजानी गैरकानूनी वा कपटपूर्ण व्यवहार गरी अर्काको सम्पत्ति जालसाजीपूर्वक प्राप्ति गर्नु ठगी हो ।
मुलुकी अपराध संहिता, २०७४ ले ठगीलाई फौजदारी कसूर मानेको छ । यसको दफा २४९ ले कसैले ठगी गर्न वा गराउन रोक लगाएको छ । बैंक तथा वित्तीय संस्थाको कारोबारमा हुन सक्ने कसूरजन्य कार्यबाट वित्तीय प्रणालीलाई सुरक्षित पार्न बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ ले केही व्यवस्था गरेको छ । ऐनको परिच्छेद २ मा नक्कली कागजात पेश गरी अनधिकृत रूपमा खाता खोल्ने वा खाताबाट रकम माग गर्ने, विद्युतीय कार्ड वा उपकरणको प्रयोग गरी रकम निकाल्ने, काल्पनिक व्यक्तिको नाममा खाता खोली रकम निकाल्ने, बैंक तथा वित्तीय संस्थाको खाताबाट अनधिकृत रूपमा रकम निकाल्ने, रकमान्तर गर्ने वा नगद भुक्तानी दिने कार्य बैंकिङ कसूरभित्र पर्छ ।
अहिले विद्युतीय माध्यमको प्रयोग गरी भुक्तानी लिने वा दिने कार्र्य बढ्दो छ । आधुनिक बैंकिङ प्रणालीसँग जोडिएर आउने अपराधका गतिविधिलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ५२ अनुसार कुनै व्यक्तिले कसैको खाताको बाँकी मौज्दात (ब्यालेन्स) वा एटीएम कार्डमा मिलेमतो गरी कुनै तरीकाले जालसाजी गरी लाभ उठाएमा त्यसरी उठाएको कार्यलाई कसूर मानेको छ । बैंकिङ कसूर तथा सजाय ऐनको दफा ६ मा पनि कसैले क्रेडिट कार्ड, डेबिट कार्ड, एटीएम कार्ड वा अन्य विद्युतीय माध्यमको दुरुपयोग वा अनधिकृत प्रयोग गरी भुक्तानी लिन दिन नहुने गरी कसूर कायम गरेको छ । कसैले पनि गलत विवरण पेश गरी वा कृत्रिम व्यवसाय खडा गरी वा नक्कली ऋणी खडा गरी कर्जा लिन वा दिन, धितोको अस्वाभाविक मूल्यांकन गरी कर्जा लिन वा दिन, आफूलाई प्राप्त अख्तियारीभन्दा बढी कर्जा सहुलियत प्रदान गर्न हुँदैन । यस्ता कार्यले बैंक तथा वित्तीय संस्थामा जोखिम बढ्न गई हानिनोक्सानी हुन पुग्छ । यस किसिमका कार्यलाई पनि अहिलेको कानूनले बैंकिङ कसूर मानेको छ ।
बैंक तथा वित्तीय संस्थाको ठगीको कार्यमा संस्थाको कर्मचारी, पदाधिकारी, सञ्चालक समिति, ग्राहक वा अन्य अन्जान व्यक्तिको पनि सामेल हुन सक्छ । संस्थाको कर्मचारी, पदाधिकारी, सञ्चालक समितिका सदस्यले कुशलतापूर्वक आफ्नो पदीय दायित्व निर्वाह गर्न सकेन भने बैंकिङ कसूर फस्टाउने मौका पाउँछ । यस्ता कार्य नियन्त्रण गर्न बैंक तथा वित्तीय संस्थाका संस्थापक, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा ऋण प्रवाह गर्न अख्तियारप्राप्त व्यक्तिले आफूले ऋण सुविधा उपयोग गर्ने मनसायले नक्कली ऋणी खडा गरी ऋणको पूरै वा आंशिक रकम भुक्तानी लिन वा दिन वा आफ्नो वित्तीय स्वार्थ गाँसिएको कुनै व्यक्ति वा संस्थाको नाममा कुनै प्रकारको कर्जा प्रवाह गर्नसमेत नहुने कानूनी व्यवस्था गरेको छ । यस किसिमको अनधिकृत कर्जा प्रवाह गर्ने कार्यले बैंक तथा वित्तीय संस्थालाई हानिनोक्सानी हुने गर्छ भने कर्जा प्रवाह गर्ने वा कर्जा लिनेलाई लाभ हुने गर्छ । यस्तो कार्य बैंक तथा वित्तीय संस्थाको ठगीको कार्यभित्र पर्न आउँछ ।
ठगी गर्ने मनसायले बैंक तथा वित्तीय संस्थाको कुनै कागजात, खाता, बहीमा केरमेट गरी, सच्याई किर्ते वा जालसाजी गरी हानिनोक्सानी पुर्याउने वा संस्थाको स्वामित्वमा रहेको चलअचल सम्पत्तिको किर्ते कागजात बनाई हानिनोक्सानी पुर्याउने कार्य कसैले पनि गर्नु वा गराउनु हुँदैन ।
बैंकिङ तथा वित्तीय प्रणालीको कारोबारमा हुन सक्ने कसूरजन्य कार्यको व्यवस्था र सजाय गर्न बनेको बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ को दफा ३(ग) अनुसार आफ्नो खातामा मौज्दात रकम नभएको जानीजानी चेक काटी दिने कार्यलाई बैंकिङ कसूर मानेको छ । यो ऐन आउनुपहिले बैंक तथा वित्तीय संस्थासम्बन्धी अपराधजन्य कार्यहरू मुलुकी ऐन ठगीको महलअन्तर्गत कारबाही हुने गरेको थियो । विगतमा कसैले आफ्नो बैंक खातामा रकम नभएको चेक कसैलाई जारी गरेको अवस्थामा ठगीमा कारबाही चलाई निर्णय गरेको पनि देखिएको छ । कसैले चेकमा खातावालाको जबर्जस्ती सहीछाप गराई चेक जारी गरी खाताबाट रकम निकाली बैंक तथा वित्तीय संस्थालाई हानिनोक्सानी पुर्याएको अवस्थामा भने बंैकिङ कसूर ठहरिन्छ । बैंकिङ कसूर ठहरिनका लागि बैंक तथा वित्तीय संस्थाबाट चेकअनुसारको रकम भुक्तानी लेनदेन गरिसकेको हुनुपर्ने गरी नेपालको सर्वोच्च अदालतले समेत विभिन्न मुद्दामा व्याख्या गरिसकेको छ ।
ठगीको कार्यमा अरूलाई हानिनोक्सानी पुर्याई आफूले लाभ प्राप्त गरेजस्तै बैंकिङ कसूरमा पनि बेइमानी गरी कसैले लाभ प्राप्त गर्छ । यस्तो कार्यले बैंक तथा वित्तीय संस्था आर्थिक रूपमा कमजोर हुने गर्छ । यस्ता कार्यहरू नियन्त्रण गर्न विधायिकाले फरकफरक उद्देश्य र प्रयोजनका लागि कानून बनाई लागू गरेको हुन्छ । कानूनको उचित प्रयोगले मात्र बैंक तथा वित्तीय संस्थामा ठगीको कार्य हुन पाउँदैन ।
लेखक अधिवक्ता हुन् ।