काठमाडौं । लगातार ६ कारोबार दिन घटेको नेप्से बिहीवार भने ७८ दशमलव १७ अंक अर्थात २ दशमलव ९९ प्रतिशत बढेर बन्द भएको छ । नेप्से २ हजार ६८८ दशमलव ३८ विन्दुमा पुगेको हो । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन रू.६ अर्ब ८५ करोड बराबरको कारोबार भएकोमा आज रू. ८ अर्ब भन्दा बढीको कारोबार भएको हो ।
लगातार घटेको बजारमा कम्पनीको शेयर मूल्य तल्लो विन्दुमा झरेसँगै खरीदकर्ता आकर्षित भएका छन् ।सोही कारण समग्र बजार बढेको हो । त्यस्तै यस भन्दा अगाडि प्रोफिट बुक गरी बसेकाहरु पनि सक्रिय भएकाले बजारमा सकारात्मक प्रभाव परेको हो ।
पछिल्लो केही समय देखि सरकार र नियामक निकायहरू शेयर बजार सुधारप्रति प्रतिबद्ध देखिएका छन् । राष्ट्र बैंकले पछिल्ला दिनहरूमा क्रमशः खुकुलो नीति लिँदै गएको देखिन्छ । बैंकहरुले लगानी बढाउन सक्ने गरी पुनः नीतिहरू परिमार्जन भएका छन् ।
त्यस्तै बैंक ब्याजदर निरन्तर घट्दोक्रममा छ । बैंकिङ प्रणालीमा प्रचुरमात्रामा लगानी गर्न सक्ने तरलता रहेको छ भन संस्थागत लगानीकर्तालाई पनि कर्जाको सीमा खारेज भएको छ । यस कारण पनि शेयर बजारमा सकारात्मक प्रभाव पर्ने जानकारहरु बताउँछन् ।
यस दिन सेन्सेटिभ इन्डेक्स २ दशलमव ८९ प्रतिशत, फ्लोट इन्डेक्स २ दशमलव ९९ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ३ दशमलव १६ प्रतिशत वृद्धि भएको छ ।
३१८ धितोपत्रको १ करोड ९४ लाख ३३ हजार १५४ कित्ता शेयर १ लाख ३ हजार ४६२ पटकमा रू.८ अर्ब १६ करोड भन्दा बढीको कारोबार भएको हो । कारोबारमा आएका धितोपत्रमध्ये चार धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था, ग्रीन भेन्चर, इष्टर्न हाइड्रोपावर र रावा इनर्जी डेभलपमेन्टको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।
थ्री स्टार हाइड्रोपावरको शेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ३९ दशमलव ५० मा झरेको छ । त्यस्तै दोस्रोमा सानिमा लार्ज क्याप फण्डको इकाई मूल्य ८ दशमलव ४९ प्रतिशत घटेर रू. ९ दशमलव ७० कायम भएको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. ४७ करोड ६५ लाख बराबरको भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार २४० कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा हिमालयन रिइन्स्योरेन्स कम्पनीको रू. २४ करोड ४८ लाख बराबरको भएको हो ।
कारोबारमा आएका १३ समूहगत सूचकमध्ये म्युचुअल फण्डको सूचक शून्य दशमलव ०९ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको सूचक बढेको हो । सबैभन्दा बढी हाइड्रोपावर समूहको सूचक ४ दशमलव २४ प्रतिशत वृद्धि भएको छ । त्यस्तै अन्य समूहको सूचक ३ दशमलव ८२ प्रतिशत, लगानी समूहको ३ दशमलव ७४ प्रतिशत र जीवन बीमा समूहको ३ दशमलव ४६ प्रतिशत वृद्धि भएको हो ।