काठमाडौं । पछिल्लो केही दिनयता नेप्से परिसूचक निरन्तर घट्दो छ । नेप्से परिसूचक लगातार चार कारोबार दिन घटेर सोमवार २ हजार ६४६ दशमलव ०३ विन्दुमा झरेको छ । बजार निरन्तर घट्दा लगानीकर्ताहरू प्यानिक भएको देखियो । सोही कारण बजार २६ सयको लाइनमा झरेको हो । चार कारोबार दिनमा नेप्से १८४ दशमलव १५ अंक घटेको छ । कारोबार रकम पनि दिनहुँ घट्दो छ ।
यसअघि छोटो समयमै बजारमा ४६ प्रतिशतभन्दा बढीको वृद्धि भएको थियो । यसरी बढेको बजारबाट नाफा बुक गरेकाहरू पुनः प्रवेश गरेका छैनन् । सोही कारण पनि कारोबार रकम कम देखिएको हो । बजार बढ्नका लागि खरीदकर्ता आकर्षित हुनु पर्ने देखिन्छ । तर पछिल्लो समय बजारको प्रवृत्ति हेर्दा खरीदकर्ता केही सुस्त देखिएका छन् । यसोत नेप्से सर्पोट विन्दु नजिक आएको प्राविधिक विश्लेषक बताउँछन् । २ हजार ६३० विन्दुबाट रिर्भस हुने उनको भनाई छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स २ दशमलव १९ प्रतिशत, फ्लोट इन्डेक्स २ दशमलव २४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव ०९ प्रतिशत घटेको छ ।
३२७ धितोपत्रको २ करोड १० लाख ४८ हजार ९११ कित्ता शेयर १ लाख ११ हजार ९८६ पटकमा रू. ९ अर्ब ४३ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये हाथवे इन्भेष्टमेन्ट नेपालको शेयर मूल्य सबैभन्दा बढी ८ दशमलव ९८ प्रतिशत वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ५६५ पुगेको हो । त्यस्तै दोस्रोमा नेपाल वेयरहाउजिङ्ग कम्पनीको शेयर मूल्य ७ दशमलव ५९ प्रतिशत बढेर रू. १ हजार ६५ कायम भएको छ ।
सोमवार सबैभन्दा बढी उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ७ दशमलव ७८ प्रतिशत घटेसँगै धेरै गुमाएका हुन । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ६३५ मा झरेको छ । दोस्रोमा श्रृजनशिल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ७ दशमलव ०२ प्रतिशत घटेर रू. २ हजार २५ मा झरेको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. ३७ करोड भन्दा बढीको शेयर कारोबार भएको हो । शेयर मूल्य प्रतिकित्ता रू. २ हजार ८५ कायम भएको छ । सर्वाधिक शेयर खरीद-विक्री हुने दोस्रोमा हिमालयन रिइन्स्योरेन्स कम्पनीको रू. २७ करोड ९४ लाख बराबरको भएको हो ।
कारोबारमा आएका १३ओटै समूहगत सूचक घटेसँगै समग्र नेप्से घटेको हो । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको सूचक २ दशमलव ६७ प्रतिशत घटेको छ । त्यस्तै जीवन बीमा समूहको २ दशमलव ४९ प्रतिशत, निर्जीवन बीमा समूहको २ दशमलव ४५ प्रतिशत र हाइड्रोपावर समूहको सूचक २ दशमलव ४४ प्रतिशत घटेको हो ।