काठमाडौं । मंगलवार बजार खुलेको केही मिनेटमै विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
शेयर मूल्य प्रतिकित्ता रू. ३ हजार ६ सय दशमलव ९० पुगेको छ । आजसँगै यस कम्पनीको शेयर मूल्य लगातार तीन कारोबार दिन पोजेटिभ सर्किट लागेको हो । लगातार पोजेटिभ सर्किट लागेको कम्पनीको पछिल्लो चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार रू. १ करोड २४ लाख घाटामा रहेको छ । यस कम्पनीले गत आवको दोस्रो त्रैमासमा पनि रू.५६ लाख ५१ हजार नोक्सानीमा थियो । यस आधारमा गत वर्षभन्दा यस वर्ष कम्पनीको नोक्सानी बढेको छ ।
तर धितोपत्रको दोस्रो बजारमा कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढी रहेको देखिन्छ । यस्तो अवस्थामा गरिएको लगानीमा धेरै जोखिम हुने देखिन्छ ।
नेप्सेमा कम्पनीको कुल ७ लाख ९२ हजार ११३ कित्ता शेयर रहेको छ । जसमध्ये सर्वसाधारणको २ लाख ३७ हजार ६३३ कित्ता मात्रै रहेको छ भने बाँकी संस्थापकको छ । यस कारण पनि कम्पनीको शेयरमा विक्री चाप कम हुने भएकाले खरीदकर्ता आकर्षित भएको देखियो ।
साथै कम्पनीले अंकित मूल्यमा ५१ हजार २९२ दशमलव ५० कित्ता एफपीओ निष्कासन गर्न सेबोनबाट स्वीकृती पाएको छ । जसका कारण पनि माग उच्च रहेको हो ।
कस्तो छ वित्तीय अवस्था
दोस्रो त्रैमाससम्ममा कम्पनीको खराब कर्जा ६ दशमलव २३ प्रतिशत पुगेको छ । गत आवको यसै अवधिमा यस्तो कर्जा २ दशमलव ६१ प्रतिशत मात्रै थियो ।
कम्पनीले सम्भावित जोखिम बापतको ब्यवस्थामा रू. १८ करोड २६ लाख छुट्याएको छ । गत आवमा कम्पनीले यो शीर्षकमा रू. १२ करोड २१ लाखमा मात्रै छुट्याएको थियो । धेरै रकम प्रोभिजन गर्दा कम्पनी घाटामा गएको हो ।
कम्पनी घाटामा रहेसँगै प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ४७ पैसा ऋणात्मक रहेको छ । प्रतिशेयर नेटवर्थ सयभन्दा मुनि ९१ रुपैयाँ २३ पैसा रहेको छ ।
त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा बढेको छ । गत आवमा कम्पनीले रू. ४३ लाख ९८ हजार खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा बढेर रू. १ करोड पुगेको छ ।
चुक्ता पूँजी रू.७ करोड ९२ लाख रहेको कम्पनीले जगेडा कोष रू. ६९ लाख ४७ हजार ऋणात्मक छ ।
कम्पनीले रू. ५४ करोड ९९ लाख सापटी लिएर रू. १६ करोड ८२ लाख निक्षेप संकलन गरेर रू. ७३ करोड ८ लाख कर्जा लगानी गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणले देखाएको छ ।
कम्पनीले हालसम्ममा आठ ओटा जिल्लामा २१ शाखा कार्यालय मार्फत १२ हजार २१० ग्राहकहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।