काठमाडौं । लगातार तीन कारोबार दिन घटेको नेप्से आइतवार (आज) २ दशलमव ३३ प्रतिशत वृद्धि भएको छ । यससँगै नेप्से २ हजार ७३८ दशमलव ०६ विन्दुमा पुगेको हो ।
आज नेप्से परिसूचकसँगै कारोबार रकममा वृद्धि भएको छ । आज रू. ९ अर्ब ७७ करोड बराबरको शेयर कारोबार भएको हो । यो कारोबार रकम दुई महीनायताकै उच्च हो । यसअघि गत भदौ ३० गते नेप्सेमा रू. १० अर्ब ३३ करोडको शेयर कारोबार भएको थियो ।
बजार लगातार घट्दा शेयर मूल्य सस्तो भएपछि खरीदकर्ता आकर्षण देखिएको जानकार बताउँछन् । यसो त पछिल्लो समय बजारका सूचक सकारात्मक देखिएका छन् । यही कारण अब बजारले गति लिने विश्वासमा आम लगानीकर्ता छन् ।
पछिल्लो समय बैंकको ब्याजदर निरन्तर घट्दो क्रममा छ भने शेयर बजारका नीति पनि बजार अनुकुल देखिएका छन् । अर्थतन्त्रसमेत सुधारोन्मुख भएकाले अब बजारमा रौनक देखिने आशमा लगानीकर्ता छन् ।
यस दिन सेन्सेटिभ इन्डेक्स २ दशलमव ०७ प्रतिशत, फ्लोट इन्डेक्स २ दशलमव २३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ९६ प्रतिशत वृद्धि भएको छ ।
आइतवार ३२५ धितोपत्रको २ करोड २४ लाख ७४ हजार २८१ कित्ता शेयर १ लाख ६५१ पटक कारोबार भएको छ ।
कारोबारमा आएका धितोपत्रमध्ये तीन धितोपत्रको मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । गुराँस लघुवित्त वित्तीय संस्था, श्रृजनशील लघुवित्त वित्तीय संस्था र सुपर मादी हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतका दरले वृद्धि भएको हो । गुराँस लघुवित्तको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार ९०, श्रृजनशील लघुवित्तको रू. २ हजार १३० र सुपर मादी हाइड्रोपावरको शेयर मूल्य रू. ७४२ दशमलव ५० पुगेको छ ।
आइतवार सबैभन्दा बढी सानिमा ग्रोथ फण्डका इकाईधनीहरूले गुमाएका छन् । यस फण्डको इकाई मूल्य ६ दशमलव ७६ प्रतिशत घटेको छ । फण्डको इकाई मूल्य रू. ९ दशमलव ५१ कायम भएको छ । त्यस्तै, समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ४ दशमलव ८६ प्रतिशत घटेर रू. ३ हजार ६२० दशमलव २० मा झरेको छ ।
शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा सानिमा जिआईसी इन्स्योरेन्सले ओगटेको छ । यस कम्पनीको रू. ३८ करोड ४ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७६९ दशमलव ९० कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा समृद्धि फाइनान्स छ । यस कम्पनीको रू. ३४ करोड १९ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
आज कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक बढेका छन् । तीमध्ये जलविद्युत् समूहको सूचक सबैभन्दा बढी ४ दशलमव २६ प्रतिशत वृद्धि भएको छ । त्यस्तै अन्य समूहको २ दशमलव ५२ प्रतिशत, वित्त समूहको २ दशमलव ४८ प्रतिशत र लगानी समूहको सूचक २ दशमलव ५६ प्रतिशतका दरले वृद्धि भएको छ ।