गरीबमा वित्तीय पहुँच राख्ने उद्देश्यले लघुवित्त सेवाको शुरुआत सन् १९७० को दशकमा भएको हो । बंगलादेशमा सन् १९७६ मा प्रो.मोहमद युनुसले ग्रामीण बैंक स्थापना गरेपश्चात् लघुवित्त कार्यक्रमको संस्थागत रूपमा शुरुआत भएको पाइन्छ । लघुवित्त सेवाको मूल सिद्धान्तका बारेमा सीजीएपीले औंल्याएका मूल सिद्धान्तहरू चर्चा गर्न अपरिहार्य छ । यस संस्थाले प्रतिपादन गरेका लघुवित्तका ११ ओटा मुख्य सिद्धान्त निम्न छन् :
ऋण मात्र होइन, विविध खालको वित्तीय सेवाको खाँचो गरीबलाई पनि हुन्छ : अन्य व्यक्तिलाई जस्तै सुविधाजनक ढंगबाट लचिलो रकम लागतको वित्तीय सेवा आवश्यक हुन्छ । परिस्थितिअनुसार उनीहरू कर्जा मात्र होइन बचत, बीमा, नगद स्थानान्तरण सेवा चाहन्छन् ।
लघुवित्त सेवा गरीबीसँग जुध्ने एउटा सशक्त माध्यम हो : गरीबले लघुवित्त सेवामा पहुँच पाएपछि उनीहरूको आय बढ्छ, सम्पत्तिको सृजना हुन्छ अनि सम्भाव्य बाह्य विपत्तिबाट जोगिन सक्छ । गरीब परिवारले लघुवित्तको उपयोग दैनिक हातमुख जोड्ने समस्या हल गर्नेदेखि भविष्यको योजना निर्माण गर्नेसम्मका लागि गर्ने गर्छन् ।
लघुवित्त भनेको गरीबलाई सेवा पुर्याउने वित्तीय प्रणालीको निर्माण गर्नु हो : धेरैजसो विकासोन्मुख मुलुकमा बहुसंख्यक जनता गरीब हुन्छन्, उनीहरूले बैंकिङ सेवा पाउँदैनन् । धेरै गरीब आधारभूत वित्तीय सेवाको पहुँचभन्दा बाहिर छन् । धेरै मुलुकमा लघुवित्तलाई अहिले पनि सीमान्त क्षेत्रको विकासको वाहकका रूपमा हेरिन्छ । लघुवित्तमा धेरैभन्दा धेरै गरीबको पहुँच पुर्याउन लघुवित्त वित्तीय क्षेत्रको अभिन्न अंग हुनु जरुरी हुन्छ ।
गरीबमा वित्तीय पहुँचको मुख्य औजार लघुवित्त सेवा नै हो । गरीबमा आय आर्जनमूलक र सानो कर्जा, सहुलियतपूर्णका साथै विनाझन्झटिलो, विनाधितो कर्जा प्रवाह, बचत, बीमा र साना विप्रेषण सेवा नै यसको प्रमुख उद्देश्य हो ।
धेरै गरीबबीच लघुवित्त सेवा पुर्याउन वित्तीय दिगोपना आवश्यक हुन्छ : भरपर्दो किसिमको लघुवित्त संस्थाहरूको अपर्याप्तताका कारण धेरैजसो गरीबले राम्रो वित्तीय सेवा प्राप्त गर्न सकेका छैनन् । संस्था बलियो र दिगो हुन आफ्ना सबै प्रकारका लागत उठ्ने गरी ब्याज निर्धारण गर्नुपर्छ । बलियो र खुद्रा वित्तीय मध्यस्थकर्ताको अभावमा धेरै गरीबको वित्तीय सेवामा पहुँच हुन सकेको छैन ।
वित्तीय रूपले दिगो संस्थाको निर्माण गर्न आफैमा साध्य होइन, यो गरीबकहाँ पुग्ने बाटो मात्र हो । दिगोपन भनेको लघुवित्त सेवा दिने संस्थाको सम्पूर्ण लागत धान्न सक्ने क्षमता हो । दिगोपन प्राप्त गर्नुको अर्थ कारोबार लागत घटाउनु, सदस्यका लागि अति उपयोग हुने सेवा दिनु र बैंकिङ सेवाबाट वञ्चित वर्गसम्म पुग्ने नयाँ बाटो पहिचान गर्नु हो ।
लघुवित्त संस्था स्थायी प्रकृतिको स्थानीय वित्तीय संस्थाको निर्माणतर्फ उन्मुख हुन्छ : गरीबलाई वित्तीय सेवा पुर्याउन स्थानीय वित्तीय संस्था बन्न जरुरी छ । यस प्रकारका संस्थाले स्थानीय बचतलाई परिचालन गर्न, लघुकर्जा दिन र विविध खालका सेवा प्रदान गर्न सक्नुपर्छ । स्थानीय वित्तीय संस्था र निजी पूँजीबजार सुदृढ हुँदै गएपछि दाता र सरकारमाथिको तथा सरकारी विकास बैंकमाथिको निर्भरता बिस्तारै घट्दै जान्छ ।
लघुकर्जा हरेकका लागि र हरेक परिस्थितिमा सर्वोत्तम उपाय होइन : आम्दानी वा ऋणको किस्ता बुझाउने स्रोत नहुने अतिगरीब र विपन्नहरूलाई ऋण उपयोग गर्नुभन्दा अघि अन्य खालको सहयोग चाहिन्छ । धेरैजसो अवस्थामा सानो अनुदान, पूर्वाधार सुधार, रोजगारी र तालीम कार्यक्रम तथा अन्य गैरवित्तीय सेवा गरीबी निवारणका लागि अझ उपयुक्त औजार हुन सक्छ । सम्भव भएसम्म यस्ता गैरवित्तीय सेवाहरू बचत निर्माणसँग जोड्नुपर्छ ।
निर्देशित ब्याजदरले गरीबको वित्तीय सेवाको पहुँचलाई कुठाराघात गर्छ : थोरै ठूलो कर्जा लगानीभन्दा धेरै सानो कर्जा लगानीको लागत बढी हुन्छ । लघुकर्जा दाता संस्थाले औसत बैंक ब्याजदरभन्दा बढी ब्याज नलगाएसम्म उनीहरूले आफ्नो सम्पूर्ण लागत धान्न सक्दैनन् । उनीहरूको विकास र दिगोपनालाई दुर्लभ र अनिश्चित मानिने कम लागत भएको स्रोत प्राप्तिमा सीमित गरिदिन सरकारले ब्याजदर नियन्त्रण गर्यो भने ब्याजदर यति धेरै कम हुन्छ कि त्यसबाट लघुकर्जा दिगो हुनै सक्दैन । लघुकर्जा दिने संस्थाले आफ्नो सञ्चालन अदक्षताको लागत बेहोर्नुपर्छ । हुनुपर्ने भन्दा बढी ब्याज र शुल्क आफ्ना ग्राहकलाई लगाउन हुँदैन ।
सरकारको भूमिका वित्तीय सेवालाई बढावा दिने वातावरण बनाउनु हो, प्रत्यक्ष रूपमा आफैले वित्तीय सेवा प्रदान गर्ने होइन : गरीबहरूको बचतको सुरक्षा हुने कुरालाई दृष्टिगत गरी लघुवित्त सेवाको विकासलाई गति प्रदान गर्ने किसिमका सहयोगात्मक नीति बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ । सरकारले लघुवित्तका लागि गर्न सक्ने महत्त्वपूर्ण कुरा के हो भने स्थिर अर्थ व्यवस्था कायम राख्नु, ब्याजदर नियन्त्रण नगर्नु, अनुदानपूर्ण दीर्घकालीन ऋण कार्यक्रम सञ्चालन गरेर वित्त बजारलाई नबिगार्नु आदि हुन् । विशेष परिस्थितिमा जब अन्य स्रोतको अभाव हुन्छ, सुदृढ र स्वनिर्भर लघुवित्त संस्थाका लागि सरकारी आर्थिक सहयोग महत्त्वपूर्ण हुन्छ ।
बाह्य दातृ संस्थाको सहयोग निजी पूँजीको पूरक हुनुपर्छ, प्रतिस्पर्धी होइन : लघुवित्त सेवा उपलब्ध गराउने संस्थाहरूको क्षमता अभिवृद्धि गर्न, त्यसका लागि आवश्यक पर्ने पूर्वाधार विकास गर्न र परीक्षणात्मक वस्तु तथा सेवालाई सहयोग गर्नमा भने दातृ निकायले अस्थायी रूपमा उचित अनुदान वा ऋण प्रदान गर्न सक्छन् । केही अवस्थामा लामो अवधिको अनुदान पनि आवश्यक हुन्छ । यसले छरिएर रहेका जनसंख्या वा दुर्गम स्थानका जनसंख्यालाई सेवा पुर्याउनुपर्ने हुन्छ ।
संस्थागत र मानवीय क्षमताको कमी नै मूल अवरोध हो : लघुवित्त संस्थाको व्यवस्थापक र व्यवस्थापन सूचना प्रणाली, लघुवित्तलाई नियमन गर्ने केन्द्रीय बैंक, अन्य सरकारी निकाय र दातृ संस्थाहरू तहसम्म नै शीप र प्रणाली बनाउनु आवश्यक हुन्छ । माथि उल्लेख गरिएका सबै तहका क्षेत्रबाट हुने लगानीले क्षमता विकास गर्न ध्यान केन्द्रित गर्नुपर्छ ।
लघुवित्तको कार्य सम्पादनको मापनमा पारदर्शिता भएमा यसले राम्रो काम गर्छ : गरीबलाई वित्तसेवा पुर्याउने संस्थाको वित्तीय र सामाजिक उपलब्धिसम्बन्धी शुद्ध, स्तरीय र तुलना गर्ने योग्य सूचनाको निकै महत्त्व हुन्छ । बैंक निरीक्षक, दातृ निकाय, लगानीकर्ता र खासगरी लघुवित्त सेवाका गरीब ग्राहकलाई जोखिम र प्रतिफलको मूल्यांकन गर्न यस प्रकारको सूचना आवश्यक हुन्छ ।
यसरी अन्तरराष्ट्रिय संस्था सीजीएपीले उठान गरेका लघुवित्तका मूल सिद्धान्त नै लघुवित्तमा अहिलेसम्मका उत्कृष्ट र प्रतिस्थापित आधारशिला मानिएको छ । गरीबमा वित्तीय पहुँचको मुख्य औजार लघुवित्त सेवा नै हो । गरीबमा आय आर्जनमूलक र सानो कर्जा, सहुलियतपूर्णका साथै विनाझन्झटिलो, विनाधितो कर्जा प्रवाह, बचत, बीमा र साना विप्रेषण सेवा नै यसको प्रमुख उद्देश्य हो । यिनै सिद्धान्तबाट प्रेरित लघुवित्त कार्यक्रम विश्वमा प्रभावकारी बनेर गरीबी न्यूनीकरण गर्नमा अहम् भूमिका निर्वाह गर्दै आएको छ ।
नेपालमा लघुवित्त कार्यक्रम द्रुत गतिमा विस्तार भएको त छ तर सैद्धान्तिक हिसाबले विचलन आएको देखिन्छ । स्वस्थ्य प्रतिस्पर्धा, अधिक नाफा, धितोमुखी ठूलो आकारमा कर्जा प्रवाह यसका उदाहरण हुन् ।
लेखक लघु तथा ग्रामीण वित्तविज्ञ हुन् ।