काठमाडौं। लक्ष्मी सन्राइज बैंकले ‘नवौं आमन्त्रण गोल्फ प्रतियोगिता’ काठमाडौंको गोकर्ण रिसोर्टमा शनिवार सम्पन्न गरेको छ । ‘स्विङ फर सस्टेनेबिलिटी’ विषयमा रही गरिएको उक्त प्रतियोगिताले बैंकको शून्य कार्बन अवधारणा र हरित पहलप्रतिको प्रतिबद्वतालाई जोड दिएको बताइएको छ ।
प्रतियोगिता पूर्व यस प्रतियोगितामा हुने सम्भावित सम्पूर्ण कार्बन उत्सर्जनको अध्ययन गर्दा उक्त कार्यक्रममा १ टन कार्बन उत्सर्जन हुने र त्यसलाई
परिपूर्ति गर्न ४५ रूख रोप्नुपर्ने आकलन गरिएको थियो । तथापि बैंकले १ हजार रूख रोप्ने प्रतिबद्धता व्यक्त गरेको छ । प्रतियोगितामा हरेक सहभागीलाई हरित तथा दिगो भविष्यको लागि व्यक्तिगत योगदान स्वरूप १–१ बिरुवा पनि प्रदान गरिएको थियो ।
प्रतियोगितामा १०७ गोल्फरको सहभागिता थियो, जसमा ८ महिला प्रतियोगी थिए । सहभागीले ३४ ह्यान्डिक्यापको साथ १८ होल स्टेबलफोर्ड ढाँचामा प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताको उपाधि आत्माराम सिम्खडाले हात पारेका छन् । प्रतियोगिताको उपविजेता आशिषलाल श्रेष्ठ, उत्कृष्ट ग्रस टाशी छिरिङ, वरिष्ठ श्रेणी विजेता तुलसी भट्ट, महिला विजेता तारा कार्की चित्रकार, महिला उपविजेता सुमित्रा खड्का बनेका छन् ।
विजेतालाई बैंकका अध्यक्ष रमण नेपालले पुरस्कार प्रदान गरेका थिए । साथै बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह, गोकर्ण गोल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्लबका क्याप्टेन जोसेफ नाथनले प्रतियोगीलाई सम्मान गर्दै सो प्रतियोगिताको दिगोपनप्रतिको प्रतिबद्धतामा जोड दिएका थिए ।