लुम्बिनी (रुपन्देही) । बुद्ध जन्मस्थल लुम्बिनीमा शुक्रवार दोस्रो लुम्बिनी अन्तरराष्ट्रिय शान्ति महोत्सव शुरु भएको छ ।
महोत्सवमा लुम्बिनी अन्तरराष्ट्रिय शान्ति म्याराथन, लुम्बिनी अन्तरराष्ट्रिय ध्यान दिवस र लुम्बिनी शान्ति कन्सर्ट गरी तीनओटा प्रमुख कार्यक्रम हुनेछन् ।
पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डे र चिनियाँ राजदूत छन सोङले शान्ति महोत्सवको संयुक्तरूपमा उद्घाटन गरे । कार्यक्रमको उद्घाटनका अवसरमा मायादेवी मन्दिर उद्यानमा करीब २०० भिक्षु र साधकहरूको सहभागितामा ध्यान गरिएको थियो ।
मन्त्री पाण्डेले लुम्बिनीलाई बौद्धमार्गीहरूको आस्थाको केन्द्र मात्र नभई विश्व शान्ति पर्यटनको प्रमुख केन्द्रको रूपमा रहेको बताए ।
नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले लुम्बिनी अन्तरराष्ट्रिय शान्ति महोत्सवले नेपाल र चीनबीच संस्कृति आदान–प्रदानमा प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे । उनले यस वर्ष चीन नेपालको ७०औं वर्षगाँठको अवसर र नेपाल भ्रमण वर्ष सफल पार्न यो महोत्सवले थप ऊर्जा प्रदान गरेको बताए ।
नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास, लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटीलगायत विभिन्न निकायहरूको सहभागितामा यो कार्यक्रम आयोजना भएको हो ।
महोत्सवका अवसरमा भोलि (शनिवार) अन्तरराष्ट्रिय शान्ति दिवसको अवसरमा तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन हुनेछ । साथै लुम्बिनी शान्ति सांगीतिक कार्यक्रम पनि आयोजना हुनेछ ।
हेर्नुस् तस्वीरहरू