प्रत्येक वर्ष संयुक्त राष्ट्रसंघले विकासको कुनै विशिष्ट विषयमा केन्द्रित गरेर विश्व मानव विकास प्रतिवेदन तयार गर्ने गर्दछ । विकासलाई भौतिक र आर्थिक पक्षबाट हेर्ने परम्परागत धारणाको परिपूरकको रूपमा रहेको यस नयाँ अवधारणाले विकासलाई मानवीय तवरले हेर्दछ । अर्को शब्दमा यो विकासलाई हेर्ने, बुझ्ने, बुझाउने र नीतिगत मार्गदर्शन गर्ने मानवीय आँखा हो । यसमा मानवलाई नै विकासको साधन र साध्य मानिन्छ । यसमा मानवीय सक्षमतालाई जोड दिइन्छ । विद्वान् अर्थशास्त्रीहरू अमत्र्य सेन र मोहम्मद उल हकले यो अवधारणाको विकास गरेका हुन् । यसमा विकासलाई प्रतिव्यक्ति आयका साथै शिक्षा र स्वास्थ्य (औसत आयु) को अवस्थाका आधारमा मापन गरिन्छ । आय र शिक्षा तथा स्वास्थ्यका परिसूचकहरू केही हदसम्म सहसम्बन्धित हुने गरे तापनि मानव विकासको एकीकृत सूचकले दिने देश विकासको तस्वीर र प्रतिव्यक्ति आयले दिने यस्तो तस्वीर फरक पाइने गरेको छ ।
विगतमा जसरी नै सन् २०२३–२४ को मानव विकास प्रतिवेदनले पनि विश्वका १९३ वटा देशको विकासको अवस्था सार्वजनिक गरेको छ । यसका लागि धेरै जसो तथ्यांकहरू सन् २०२२ को प्रयोग गरिएकाले अहिलेको र त्यतिबेलाको अवस्थामा केही फरक हुन सक्दछ । तर, कोभिड–१९ पछि देशहरू बिस्तारै विकासमा तंग्रिन लागेको अवस्था यस प्रतिवेदनबाट थाहा हुन्छ । स्मरणीय छ, यस अगाडिको प्रतिवेदनले कोभिड–१९ का कारणले विकासको उल्टो अवस्थाको चित्रण गरेको थियो । मानव विकास सूचकाङ्क पहिलो पटक घटेको थियो ।
विकास कठिन तथा बहुआयामिक प्रक्रिया हो । मानव विकास त झनै जटिल कार्य भएकाले यसमा सुधार तथा वृद्धि ल्याउन सबैको सहयोग र सबैसँगको सहकार्यमा उत्थानशील विकासको मोडेललाई व्यवहारमा उतार्नु अहिलेको आवश्यकता रहेको छ ।
पछिल्लो मानव विकास प्रतिवेदनको विशिष्ट विषयवस्तु ‘ध्रुवीकृत विश्वमा विकासका लागि सहयोगको पुन:परिकल्पनामार्फत विद्यमान ग्रिडलकलाई तोड्नु’ रहेको छ । प्रतिवेदनले विकासका लागि सबै विश्वसँग अहिले उपलब्ध साधन–स्रोत, प्रविधि र क्षमताको समतामूलक वितरण गर्न सकेमा मात्र पनि विकासमा फड्को मार्न सकिने यथार्थ अवस्थालाई चित्रण गर्दै यसका लागि विभिन्न रूपमा देशभित्र र अन्तरराष्ट्रिय रूपमा रहेका ध्रुवीकरणको अन्त्य गर्न जोड दिएको छ । प्रतिवेदनले धनी देशहरू कोभिड–१९ को महामारीबाट पूर्णरूपले पुनरुत्थान भएको तर गरीब देशहरू भने अझै पुनरुत्थान हुन नसकेको असमान तस्वीर पनि सार्वजनिक गरेको छ । यसलाई विश्वव्यापी आपसी सहयोगको कमी र अविश्वासको रूपमा बुझ्नु पर्ने तथ्यलाई पनि प्रतिवेदनले स्पष्ट पारेको छ । यसलाई तोड्न सामूहिक रूपले कार्य गर्नु पर्ने विषयलाई प्रतिवेदनले जोड दिएको छ ।
यस आलेखमा पछिल्लो मानव विकास प्रतिवेदनले देखाएको नेपालको अवस्थाको बारेमा चर्चा गरिएको छ । नेपाल विगत वर्षको १४९ औं स्थानको तुलनामा १८५ देशमध्ये तीन स्थान उक्लिएर १४६ औं स्थानमा पुगेको छ । हाम्रो मानव विकास सूचकाङ्क शून्य दशमलव ६०१ मात्र पुगेको छ भने विश्वको सबभन्दा उच्च सूचकाङ्क स्वीटजरल्यान्डको (शून्य दशमलव ९६७) रहेको छ । औसत आयु ७० दशमलव ५ वर्ष पुगेको भए तापनि औसत विद्यालयमा रहने वर्ष ४ दशमलव ५ वर्ष मात्र रहेको हुँदा समग्र मानव विकास सूचकाङ्क अद्यापि कमजोर रहेको अनुमान गर्न सकिन्छ । नेपालको सूचकाङ्कलाई मध्यम श्रेणीमा लिन सकिन्छ । सन् १९९० मा शून्य दशमलव ३९५ रहेको मानव विकास सूचकाङ्क प्रतिवर्ष १ दशमलव ३२ प्रतिशत दरले बढेर सन् २०२२ मा शून्य दशमलव ६०१ मा पुग्नुलाई केही हदसम्म प्रशंसनीय नै मान्न सकिन्छ । यसबाट नेपालले विगतमा विकासको लागि गरेको प्रयासलाई सन्तोषजनक मान्नु पर्दछ । यस अवधिमा नेपालले धेरै ठूला, संवैधानिक, राजनीतिक, आर्थिक, सामाजिक र प्रशासनिक उतारचढाव खेपेको छ । सन् २०१०–२०२२ को दशकमा सूचकाङ्कमा भएको प्रगतिको दर भने शून्य दशमलव ८५ प्रतिशत मात्र रहेकाले थप प्रयास गर्नु पर्ने जरूरी देखिन्छ । सन् २०१७ को पीपीपी मूल्यमा नेपालको प्रतिव्यक्ति राष्ट्रिय आय ४०२६ अमेरिकी डलर पुगेको उल्लेख छ जब कि विनिमय दरको आधारमा यस्तो आय १४०० डलरको हाराहारीमा मात्र रहेको छ । मापनको फरकले आयमा यस्तो अन्तर देखिएको हो ।
प्रतिवेदनले देशमा व्याप्त असमानतालाई पनि देखाएको छ । असमानतालाई समेत विचार गरेर हिसाब गरिएको मानव विकास सूचकाङ्क शून्य दशमलव ४२४ मात्र हुनुले यसलाई स्पष्ट पारेको छ । यो विकासको प्रतिफलको असमान वितरण वा अवसरमा असमानताको अवस्था हो । यसलाई ३१ दशमलव ९ रहेको आय समानता सूचकले पनि स्पष्ट गरेको छ । ४० प्रतिशत गरीबको आय २० दशमलव ४ प्रतिशत मात्र रहनु, १० प्रतिशत धनीको आय २६ दशमलव ४ प्रतिशत रहनु र एक प्रतिशत धनीको आय ९ दशमलव ७ प्रतिशत रहनुले देशमा आयको गहिरै असमानता रहेको देखिन्छ । समतामूलक मध्यमवर्गीय समाज स्थापनाको लागि यसलाई चुनौतीपूर्ण अवस्थाको रूपमा लिन सकिन्छ । असमानता मापन गर्ने अर्को सूचक जिनी गुणक पनि ३२ दशमलव ८ रहेको छ । लैङ्गिक विकास सूचक शून्य दशमलव ८८५ हुनु, महिलाको मानव विकास सूचकाङ्क शून्य दशमलव ५६२ हुनु र महिलाको प्रतिव्यक्ति आय २६०९ डलर मात्र हुनुलाई पनि असमान समाजका सूचकको रूपमा लिन सकिन्छ । महिलाहरू पुरूषको तुलनामा धेरै वर्ष बाँच्नुलाई भने सकारात्मक उपलब्धिको रूपमा लिन सकिन्छ । धनी देशको तुलनामा नेपालले निकै कम कार्बन उत्सर्जन गर्ने गरेको छ । यसबाट नेपालले तीव्र गतिमा विकास गर्न नसके तापनि जलवायुको विनासलाई रोकेर विश्वलाई योगदान गरेको स्पष्ट हुन्छ ।
नागरिक समाजले आशा र विश्वास पुनर्जीवित गर्न जनताको सहभागिता र आवाजलाई अझ प्रवर्द्धन गरी सरकार र निजी क्षेत्रका कामलाई सहयोग गरी परिपूरक भूमिका निर्वाह गर्न सक्दछन् । सरकारको नेतृत्वमा यस प्रकारको बहुपक्षीयताको मार्ग अवलम्बन गरी मानव विकासलाई थप उचाइमा पुर्याउन सक्ने देखिन्छ ।
मानव विकास प्रतिवेदनले प्रस्तुत गरेको नेपालको मानव विकासको तस्वीर सुधार गर्नु प्राथमिकताको विषय हो । विकास कठिन तथा बहुआयामिक प्रक्रिया हो । मानव विकास त झनै जटिल कार्य भएकाले यसमा सुधार तथा वृद्धि ल्याउन सबैको सहयोग र सबैसँगको सहकार्यमा उत्थानशील विकासको मोडेललाई व्यवहारमा उतार्नु अहिलेको आवश्यकता रहेको छ । प्रतिव्यक्ति आय बढाउन रोजगारी सहितको उच्च तथा फराकिलो आर्थिक वृद्धिदर हासिल गर्न लगानी बढाउनु आवश्यक छ भने शिक्षा र स्वास्थ्यमा सुधार ल्याउन मानव संशाधन विकासलाई प्राथमिकता प्रदान गरी परिमाणात्मक तथा गुणात्मक पक्षमा सुधार ल्याउनु पर्दछ । यसमा पनि शिक्षामा थप सुधार गर्नुपर्ने आवश्यकता देखिन्छ । विदेशिने जनशक्तिलाई देशमै रोक्न उपयुक्त रणनीति सहितको कार्ययोजना तर्जुमा गरी कार्यान्वयनमा ल्याउनु जरूरी देखिन्छ । लैङ्गिक लगायतका क्षेत्रमा रहेका विकासका असमानता मेटाउन समावेशी विकास नीतिलाई थप साधनस्रोतसहित निरन्तरता दिनु पर्नेछ । विकासका सबै क्षेत्रमा र देशको प्रत्येक कुनामा लोकतन्त्र र सुशासनलाई संस्थागत गरी जनताको जीवनस्तरमा सुधार ल्याउनु जलवायुलाई स्वच्छ राख्न नेपालले गरेको योगदानका लागि धनी देशबाट विकास सहयोग प्राप्त गरी लगानीको आवश्यकता पूरा गर्नु पर्दछ ।
यसका लागि देशका तीनै तहका सरकारबीच मात्र नभई निजी क्षेत्र, नागरिक समाज, अन्तरराष्ट्रिय समुदाय, प्राज्ञिक समुदाय र आमजनतासँग पनि सहकार्य गर्नु अपरिहार्य रहेको छ । यसले विकास प्रक्रियालाई जरैदेखि पालित पोषित गर्नेछ । संघीय सरकारले पारदर्शिता, जवाफदेहिता र लगानी तथा निष्ठा प्रवर्द्धन जस्ता शासकीय पक्षमा बढी ध्यान दिन र प्रादेशिक तथा स्थानीय सरकारहरूले योजना र सेवा प्रवाह प्रभावकारी तवरले बढाउनु जरूरी छ । नागरिक समाजले आशा र विश्वास पुनर्जीवित गर्न जनताको सहभागिता र आवाजलाई अझ प्रवर्द्धन गरी सरकार र निजी क्षेत्रका कामलाई सहयोग गरी परिपूरक भूमिका निर्वाह गर्न सक्दछन् । सरकारको नेतृत्वमा यस प्रकारको बहुपक्षीयताको मार्ग अवलम्बन गरी मानव विकासलाई थप उचाइमा पुर्याउन सक्ने देखिन्छ । यसका लागि निर्माणाधीन १६ औं आवधिक विकास योजनाले मानव विकासलाई उच्च प्राथमिकता दिनु पर्नेछ ।
लेखक योजना आयोगमा कार्यरत छन् ।