चितवन। चितवनको भरतपुरस्थित माउण्ट एभरेष्ट ब्रुअरीका मजदूर तथा कर्मचारीले तलबको मागसहित आन्दोलन गरेका छन् । भरतपुरमा बिहीवार पत्रकार सम्मेलन गरेर उनीहरूले २८ महीनादेखिको तलब नपाएको बताए । एक वर्ष अघिसम्म बियर उत्पादन गरेको सो उद्योगले डेढ सयभन्दा बढी मजदूर तथा कर्मचारीको तलब र उपदान नदिएको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।
पत्रकार सम्मेलनमा आन्दोलनका संयोजक माधवप्रसाद पौडेलले बारम्बार ताकेता गर्दा पनि तलब नपाएपछि आफूहरू आन्दोलित भएको बताए । ‘हामीले बारम्बार अनुरोध र ताकेता गर्यौं । तर कम्पनीले कसैको पनि कत्ति पनि पैसा दिएको छैन,’ संयोजक पौडेलले भने ।
तलबका लागि श्रम तथा रोजगार कार्यालयमा उजुरी दिँदा पनि हालसम्म माग सुनुवाइ नभएको उनले बताए । यो अवधिमा तीनजना मजदूर दुर्घटनामा परेको र बिरामी हुँदा उपचार खर्च नभएर ज्यान गुमाएको उनको भनाइ छ । उद्योगले तलब दिने आश्वासन दिएर अन्योलमा पार्दा अन्यत्र काम गर्न नपाएको र आफूहरूलाई दिनचर्या चलाउनै धौधौ परेको गुनासो उनले गरे ।
भरतपुर महानगरपालिका–१२ मा ५ बिघा क्षेत्रफलमा रहेको उक्त ब्रुअरी २०४७ सालदेखि सञ्चालनमा आएको हो । यो उद्योगले शुरूमा सानमिग्यल बियर उत्पादन गर्दै आएकोमा पछिल्ला वर्ष गोल्डेन टाइगर, एभरेष्ट र राइनो ब्रान्डमा बियर उत्पादन गर्दै आएको थियो । गतवर्षदेखि भने उद्योगको उत्पादन तथा विक्रीवितरण बन्द छ ।