प्रत्येक वर्ष मार्च ८ तारीख (यस वर्ष फागुन २४, शनिवार) का दिन विश्वभर महिला दिवस मनाइयो । अन्तरराष्ट्रिय नारी दिवसको लामो इतिहास छ र यसले महिलाले भोगेका भेदभाव र दु:खका साथै उनीहरूले अधिकार प्राप्तिका लागि गरेको संघर्षलाई स्मरण गराउँछ । अमेरिकामा सन् १९०८ मा महिला समानताका लागि भएको महिलावादी आन्दोलनको सम्झनामा सन् १९११ देखि अन्तरराष्ट्रिय महिला दिवस मनाउने गरिएको हो । उक्त आन्दोलनमा १५ हजार महिलाले आफूहरूमाथि भएको काम गर्ने समय, ज्याला दर र मतदानमा रहेका असमानता हटाउनुपर्ने मागसहित र्याली निकालेका थिए । यो दिवस सन् २०११ मा अस्ट्रिया, जर्मनी, डेनमार्क र स्वीट्जरल्यान्डमा मनाइएको थियो ।
करीब ६५ वर्षपछि र संयुक्त राष्ट्रसंघको स्थापना भएको ३० वर्षपछि मात्र यस दिवसलाई संयुक्त राष्ट्रसङ्घले सन् १९७५ मा आधिकारिक मान्यता दिएको थियो । त्यसो त मतदानलगायत अधिकार पनि महिलाले विश्वभर नै ढिलो गरी प्राप्त गरेका हुन् । पहिलोपटक सन् १९११ मा दिवस मनाएको १०० वर्ष पछि सन् २०११ मा नारी दिवसको शतक उत्सव मनाइयो । यस वर्ष सन् २०२५ मा ११४औं अन्तरराष्ट्रिय महिला दिवस मनाइँदै छ । यसले महिला, अर्थतन्त्र र विकासलाई विगत, वर्तमान र भविष्यसँग जोड्नुपर्छ । महिलालाई योग्य बनाउने र योग्यता प्राप्त गरेका महिलाको अर्थतन्त्र, समाज र समग्र शासनप्रणालीका सबै क्षेत्रमा निर्णायक सहभागिता सुनिश्चित गर्नुमा नै दिवसको सार्थकता रहन्छ ।
- आध्यात्मिक रूपले महिला र पुरूष दुवैलाई आत्माका स्वरूपमा समान हैसियत प्रदान गरिएको छ ।
- गृहणीको रूपमा उनीहरूले गर्ने परिवारको लालन–पालनसम्बन्धी कामलाई देशको उत्पादनमा गणना नगरिने भए तापनि यस्तो कामविना परिवार, समाज र समग्र अर्थतन्त्र नै चलायमान हुन सक्दैन ।
- संघीय, प्रदेश र स्थानीय तहका व्यवस्थापिकामा सरदर ३६ प्रतिशतभन्दा बढी महिलाको प्रतिनिधित्व रहेको छ ।
पूर्वीय हिन्दू धार्मिक र आध्यात्मिक दर्शनमा महिलाहरूको स्थान अति नै उच्च रहेको पाइन्छ । उनीहरूलाई शक्तिका प्रतीकका रूपमा पूजा नै गर्ने गरिन्छ । नवरात्रमा दुर्गाका शक्तिपीठहरूमा गरिने आराधना, पूजापाठ र बलि दिने काम यसैका उदाहरण हुन् । संस्कृतमा ‘यत्र नार्यस्तु पुज्यन्ते, रमन्ते तत्र देवता’ नै भनिएको छ । यसबाट देवतालाई खुशी बनाउन पनि नारीको पूजा गर्नुपर्ने हिन्दू शास्त्रीय मान्यता रहेको स्पष्ट हुन्छ । हिन्दुहरूका त्रिदेव ब्रह्मा, विष्णु र महेश्वरले आफ्ना पत्नीहरूलाई प्रदान गरेको स्थान र उनीहरूसँग गर्ने व्यवहार नै हाम्रो लागि महिलाप्रति गरिने समग्र व्यवहारको गतिलो मानक बन्न सक्छ । त्रिदेवको व्यवहारमा महिलालाई सम्मान र उनीहरूको योगदानको कदरको बेजोड मिलन पाइन्छ । शिवजीलाई त अर्धनारीश्वरकै रूपमा पूजा गरिन्छ । त्रिदेवमा भेदभाव, असमानता र हिंसाको कुनै गुञ्जायस देखिँदैन । निर्णयमा पूर्ण सहभागिता गराएको पाइन्छ । यसरी हेर्दा ईश्वरीय शासनमा महिलाको भूमिका प्रभावकारी देखिन्छ । देवताहरूले पनि आफ्ना पत्नीहरूको सल्लाह लिएर काम गर्ने गरेको पाइन्छ ।
आध्यात्मिक रूपले महिला र पुरूष दुवैलाई आत्माका स्वरूपमा समान हैसियत प्रदान गरिएको छ । महिलाको बारेमा मनुवादको आलोचना गरिए तापनि वास्तवमा मनुवादको अपव्याख्या पनि गरिएको छ । वैदिक युगबाट पुराण युगमा आउँदासम्म वैदिक ज्ञानको व्याख्यामा थुप्रै कमीकमजोरी भएका छन् । पूर्वीय हिन्दू धार्मिक र आध्यात्मिक दर्शनको मौलिक स्वरूपमा महिलालाई सम्मान गरिएको र यसका लागि मार्गदर्शन पनि गरिएको छ । यी मार्गदर्शनलाई आत्मसात् गरी सबै प्रकारका महिलाविरुद्धका सबै भेदभाव र हिंसालाई अन्त्य गरेर महिलालाई सम्मान र उनीहरूले परिवार, समाज र राष्ट्रका लागि गरेको योगदानलाई व्यावहारिक रूपले कदर गर्ने व्यवस्था सुनिश्चित गर्नु अहिलेको आवश्यकता हो । देशको अर्थतन्त्रको उन्नयन र समग्र विकासका लागि यसको अन्य विकल्प पनि छैन ।
देशको अर्थतन्त्र निर्माणमा महिलाको ठूलो योगदान रहेको छ । गृहणीको रूपमा उनीहरूले गर्ने परिवारको लालन–पालनसम्बन्धी कामलाई देशको उत्पादनमा गणना नगरिने गरिएको भए तापनि यस्तो कामविना परिवार, समाज र समग्र अर्थतन्त्र नै चलायमान हुन सक्दैन । छोराछोरी जन्माउने, हुर्काउने, संस्कारी बनाउने, भान्छा सम्हाल्ने, घरका वृद्ध सदस्यहरूको हेरचाह गर्ने यस प्रकारका केयरसम्बन्धी र अनौपचारिक कामहरू अमूल्य छन् । कृषिमा अहोरात्र खट्ने पनि महिला नै हुन् । तथ्यांकशास्त्र र अर्थशास्त्रले यसको मूल्यलाई गणना नगरेको मात्र हो । नेपालका प्राय: सबै घरपरिवारमा महिला नै बिहान सबभन्दा पहिला उठ्छन् र राति सबभन्दा ढिलो गरी सुत्छन् । प्रतिदिन उनीहरूको कार्यघण्टा १५–२० घण्टासम्म हुने गरेको छ । परिवारका सबै सदस्य महिलामाथि नै निर्भर हुन्छन् । उनीहरू नहुँदा घर शून्य हुन्छ । यसैले उनीहरूलाई गृहलक्ष्मीको दर्जा प्रदान गरिएको छ । सबैले गर्ने कामको जगमा महिला नै हुने गरेका छन् । पुरूषहरूले महिलाको यस प्रकारको काम र योगदानको सम्मान गर्न र उनीहरूले गर्ने कामको बाँडफाँट गर्न कन्जुस्याइँ गर्नु हुँदैन । पछिल्लो समयमा यसमा सुधार हुँदै गएकाले औपचारिक श्रमबजारमा पनि महिलाहरूको प्रतिनिधित्व २६ प्रतिशत पुगेको छ ।
विगत १५ वर्षमा नेपाल सरकारले लिएको सकारात्मक विभेदको नीतिले स्वामित्व, नेतृत्व, अर्थतन्त्र र समाजमा महिलाहरूको पहिचान, पहुँच र प्रतिनिधित्व ह्वात्तै बढाएको छ । देश विकासमा उनीहरूको निर्णायक भूमिका रहने अवस्था सृजना भएको छ ।
यस वर्षको महिला दिवसले लैङ्गिक समानताका लागि गरिने कामलाई थप जोड दिन उत्प्रेरित गरेको छ । काम गरेर नै नतिजा आउने भएकाले यसलाई जोड दिएको देखिन्छ । महिला विकास, विकासमा महिला र महिला सशक्तीकरण समकालीन विश्वमा जोडदार तवरले उठान गरिएका विषय हुन् । यसले विकासलाई लैङ्गिक कोणबाट हेर्ने सोचको विकास हुँदै गएको पाइन्छ । यो आधा जनसंख्यालाई गरिने न्याय नै हो, विकासको आधा अंशलाई उठाउनु हो । यसै तथ्यलाई मनन गरेर नेपाल सरकारले महिला सशक्तीकरणलाई संवैधानिक, कानूनी र योजनाबद्ध तवरले अगाडि बढाएको पाइन्छ । संविधानबाटै महिला–मैत्री समावेशी संयन्त्रलाई अवलम्बन गरिनु, महिला विकासलाई केन्द्रविन्दुमा राखेर कानूनी प्रबन्ध गरिनु, बजेटमा लैङ्गिक कोडको व्यवस्था गरी सबै तहका सरकारमा लैङ्गिक उत्तरदायी बजेटको अनुपात ४० प्रतिशत पुग्नु र महिला विकासमा केन्द्रित निकायहरूको स्थापना र सञ्चालन गरिनु यसैका केही उदाहरण हुन् । महिलाहरूको पहिचान, पहुँच र प्रतिनिधित्व बढाउने र यसको गुणस्तर सुधार गर्ने कार्यमा यी प्रयास फलदायी बन्दै गएका पनि छन् ।
यसैको फलस्वरूप शिक्षालगायत क्षेत्रमा लैङ्गिक समानता कायम हुँदै गएको छ । महिलाहरूको वित्तीय स्रोत तथा सम्पत्तिमा स्वामित्व बढेको छ । शिक्षामा पहुँच बढेसँगै औपचारिक क्षेत्रबाट आय आर्जन गर्ने महिलाहरूको संख्या पनि बढेको छ । संघीय, प्रदेश र स्थानीय तहका व्यवस्थापिकामा सरदर ३६ प्रतिशतभन्दा बढी महिलाको प्रतिनिधित्व रहेको छ । अहिले सहकारीमा आधा सदस्य महिला छन् । समावेशी व्यवस्थाका कारण सार्वजनिक सेवामा ३० प्रतिशतभन्दा बढी महिलाहरूको उपस्थिति छ । शिक्षक, प्रहरी, सेनालगायत सार्वजनिक क्षेत्रमा पनि महिलाहरूको संख्या बढेको छ । अब बैङ्क खाता पनि आधा महिलाका भएका छन् । करिब २५ प्रतिशत घरजग्गामा यिनैको स्वामित्व भएको छ । घरजग्गा पास गर्दा लाग्ने शुल्कमा महिलाको लागि गरिएको छूट र सशक्तीकरणको आवाजले काम गरेकोले यस प्रकारको उपलब्धि प्राप्त भएको हो ।
अन्य क्षेत्रमा पनि समानता र समावेशिता बढ्दै गएको छ । यसले महिलाको आत्मसम्मान र आत्मविश्वास बढेको छ । संविधानले पैतृक सम्पत्ति, वंशीय र समान हक पाएकै अवस्था छ । सामाजिक सुरक्षाका सेवासुविधा पाउनेहरू सबैले बैङ्कमा खाता खोल्नुपर्ने नीतिले महिलाहरूको पनि वित्तीय सेवामा पहुँच बढाएको छ । समग्रमा विगत १५ वर्षमा नेपाल सरकारले लिएको सकारात्मक विभेदको नीतिले स्वामित्व, नेतृत्व, अर्थतन्त्र र समाजमा महिलाहरूको पहिचान, पहुँच र प्रतिनिधित्व ह्वात्तै बढाएको छ । देश विकासमा उनीहरूको निर्णायक भूमिका रहने अवस्था सृजना भएको छ । घर धान्ने महिलाहरू देश धान्ने हैसियतमा पुगेका छन् । भूमिका बढेसँगै उनीहरूबाट उच्च कार्यसम्पादन र उत्तरदायित्वको पनि अपेक्षा गर्न थालिएको छ । आधा धर्ती ढाकेका महिलाहरूले अब देश विकासको आधा जिम्मेवारी पनि बहन गर्नुपर्ने चुनौती आएको छ ।
डा. भुसाल विकास विश्लेषक हुन् ।