काठमाडौं। आगामी अक्टुबर ५ मा ‘मिस्टर एण्ड मिस लियो २०२४’ आयोजना हुने भएको छ । यो कार्यक्रम बहु–डिस्ट्रिक्ट काउन्सिल नेपालले आयोजना गर्ने भएको हो, जसमा १५ ओटा डिस्ट्रिक्ट काउन्सिल सहभागी हुने बताइएको छ । काठमाडौंको बुढानिलकण्ठस्थित लेमन ट्री प्रिमियरमा आयोजना हुने प्रतियोगितामा प्रत्येक डिस्ट्रिक्टबाट एक पुरुष र एक महिला गरी २ जनाले प्रतिनिधित्व गर्ने बताइएको छ ।
कार्यक्रमका समन्वयक इन्जिनियर मनीष अर्यालका अनुसार प्रतियोगितामा विजयी हुने पुरुष र महिला दुवै प्रतियोगीलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने दोस्रो र तेस्रो स्थान हासिल गर्ने प्रतियोगीलाई क्रमश: २० र १० हजार रुपैयाँ पुरस्कार दिइने बताइएको छ । कार्यक्रममा सहभागी हुन प्रतियोगीले ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको तयारी स्वरूप १५ दिने प्रशिक्षण कार्यक्रम आयोजना गरिनेछ । यस क्रममा नेतृत्व विकास, र्याम्प वाक, पोर्टफोलियो निर्माण लगायतका विभिन्न तालीम दिइने बताइएको छ । प्रशिक्षण कार्यक्रम सेप्टेम्बर १५ पछि सर्वनाम थिएटरमा आयोजना हुने भएको छ । प्रतियोगितामा १८ देखि ३१ वर्षका लियो सदस्यले भाग लिन पाउनेछन् ।