नेपाल भदौ १५ गतेदेखि राजधानीमा आरम्भ भएको तीनदिने मनी एक्स्पो २०१२ आज आइतवारबाट समाप्त हुँदै छ । राजनीतिक अस्थिरता र प्रशासनिक सुस्तीका बीचमा पनि स्वदेशमा लगानीका सम्भावनाहरू प्रशस्त छन् भन्ने सन्देश दिन यो एक्स्पो सफल भएको छ । आर्थिक अभियान दैनिक र ज्याम टेक्नोलोजिजको आयोजनामा गतवर्षदेखि आयोजना हुँदै आएको मनी एक्स्पोले लगानीका अवसरहरूको पहिचान तथा प्रवर्धन गर्न त सघाउ पुर्याएको छ नै, लगानी व्यवस्थापनका प्राविधिक शीप आदानप्रदान कार्यमा पनि यसको उल्लेख्य योगदान छ । न्यूनतम लगानीका माध्यमबाट उच्चतम प्रतिफल कसरी प्राप्त गर्ने भन्ने ज्ञान दिने उद्देश्य रहेको यो एक्स्पोले आफ्नो लक्ष्य पूरा गरेको विश्लेषण गर्न सकिन्छ । लगानीका निम्ति ठूलो पूँजी आवश्यक पर्दैन । सानो परिमाणको पूँजीबाट पनि विवेकपूर्ण लगानी गर्न सकियो भने त्यसबाट राम्रो प्रतिफललिन सकिन्छ । पूँजीबजार र कमोडिटी बजारमा सानो पूँजीबाटै लगानी थाल्न सकिन्छ । वर्तमानमा बैङ्क र वित्तीय संस्थाहरू नयाँ क्षेत्रमा लगानी गर्न उत्सुक छन् । नयाँ अवधारणा र परियोजना हुने हो भने तिनीहरूबाट कर्जा लिएर उद्यम वा व्यवसाय गर्न सकिन्छ । भौतिक र सामाजिक विकासका आधारभूत पूर्वाधारसमेत बन्न नसकेको नेपालमा यी क्षेत्रमा जति पनि लगानीका अवसर छन् ।
(सम्पादकीयबाट) वर्ष ७, अंक ३५१, आइतवार १७ भदौ, २०६९