काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी मंसिर ११ गतेदेखि ६२ दशमलव ५६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले बुधवार (आज) हकप्रद शेयर निष्कासन गर्ने मिति तय गरेको हो । यो हकप्रद शेयर निष्कासन प्रयोजनका लागि बुक क्लोजको मिति भने कम्पनीले यसअघिनै तय गरेको थियो । उक्त हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले कात्तिक २७ गते एक दिन बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा कात्तिक २६ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न सक्नेछन् ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो । कात्तिक २६ गतेसम्म कायम शेयरधनीहरूले यो हकप्रद खरीदका लागि पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् ।
हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाल लिमिटेडले कम्पनीलाई समयमा वित्तीय दायित्व वहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ ।
कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै एनएलजी इन्स्योरेन्सका केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरू र लक्ष्मी सनराइज बैंकका काठमाडौं उपत्यका बाहिरका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था छ । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । अनलाइन आवेदनका लागि मेरो शेयर समेत प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
कम्पनीलाई यो हकप्रद शेयर निष्कासनका लागि बोर्डले असोज ११ गते अनुमति दिएको थियो । कम्पनीले हकप्रद शेयर निष्कासनका लागि २०८० कात्तिक २ गते बोर्डमा निवेदन दिएको थियो । कम्पनीले तत्काल कायम रहेको १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ चुक्तापूँजीको आधारमा ६६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव २०८० साउन १५ गते सम्पन्न विशेष साधारण सभाबाट पारित गराएको थियो ।
सोही निर्णयबमोजिम कम्पनीले २०८० कात्तिक २ गते ६६ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन पेश गरेको थियो । बोर्डबाट स्वीकृति प्राप्त नहुँदै २०८० फागुन ३ गते सम्पन्न १८औं वार्षिक साधारण सभाबाट १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँको आधारमा ५ दशमलव ५० प्रतिशत बोनस शेयर पारित भई उक्त बोनस शेयर वितरणपछि १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९५८ रुपैयाँ चुक्तापूँजी कायम भएको छ ।
भदौ २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पूर्व निर्णय पुनरावलोकन गरी हाल कायम चुक्तापूँजीको आधारमा ६२ दशमलव ५६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । सो निर्णयलाई कात्तिक ७ गते सम्पन्न विशेष साधारण सभाले स्वीकृतिसमेत प्रदान गरिसकेको छ । यस कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्था छ । यो हकप्रद विक्रीपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार रुपैयाँभन्दा बढी कायम हुनेछ ।