मङ्सिर २५, सुर्खेत (अस) । सरकारी निकायले मध्यपश्चिममा प्रतिकिसान १ सय १० रुपैयाँमात्र लगानी गर्ने गरेको पाइएको छ । यस क्षेत्रमा कृषिमा आश्रित २३ लाख ५१ हजार ३ सय ५८ कृषकमा सरकारले उक्त रकम लगानी गर्दै आएको हो । मध्यपश्चिम क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतले गरेको अध्ययनमा त्यस क्षेत्रमा प्रतिकृषक १ सय १० रुपैयाँ र प्रतिपरिवार ५ सय ५१ रुपैयाँ सरकारले लगानी गरेको उल्लेख छ । गत आर्थिक वर्षमा यस क्षेत्रका लागि रू. २५ करोड ८४ लाख बजेट विनियोजन भएको थियो भने खेतीमा प्रतिहेक्टर सरकारी लगानी ५ सय ७८ रुपैयाँ गरेको छ ।
यस क्षेत्रको ५ लाख ७४ हजार हेक्टर खेतीयोग्य जमीनमा ४ लाख ४६ हजार हेक्टरमा मात्रै खेती गरिएको छ । जसमा केवल १ लाख ८५ हेक्टर क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा उपलब्ध छ । लगानी न्यून, पर्याप्त सिँचाइ सुविधाको कमी, भौगोलिक विकटतालगायत विभिन्न कारणले यस क्षेत्रका धेरै जिल्लामा वर्षेनि खाद्यान्न सङ्कट हुने गरेको छ ।
निर्देशनालयका अनुसार यस क्षेत्रमा ६ लाख ८६ हजार ९ सय ७२ मेट्रिक टन खाद्यान्न आवश्यक हुने गरेकोमा ७ लाख २४ हजार ५ सय ७८ मेट्रिक उपलब्ध हुने गरेको छ । ३६ हजार ६ सय ७ मेट्रिक टन खाद्यान्न बचत हुने गरे पनि बाँके, बर्दिया, सुर्खेत, दाङ र सल्यान जिल्लाबाहेक प्यूठान, रुकुम, रोल्पा, दैलेख, जाजरकोट र कर्णालीका पाँचओटै जिल्लामा खाद्यान्न अभाव हुने गरेको छ ।
यो क्षेत्र तरकारी मात्रैमा निर्भर छ भने दलहन, तेलहन, फलफूल र माछा उत्पादनमा आत्मनिर्भर नभएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । यहाँको कृषि क्षेत्रलाई उकास्न सरकारले विभिन्न कार्यक्रमहरू सञ्चालन गरे पनि ती प्रभावकारी हुन सकेका छैनन् । सहकारी खेती, साना सिँचाइ तथा मल बीउ ढुवानी कार्यक्रम, साना सिँचाइ विशेष कार्यक्रम, कर्णाली अञ्चल कृषि विकास आयोजना, स्याउमा आत्मनिर्भर कार्यक्रमलगायत २१ ओटा कार्यक्रम सञ्चालन रहेको मप क्षेत्रीय कृषि निर्देशनालयका कृषि प्रसार अधिकृत देवराज भुसालले बताए ।
निर्देशनालयले कृषि तथा तरकारी फलफूल र पशुपक्षीमा लगानी गर्नका लागि ऋण परिचालन पनि गरेको छ । जसमा सबैभन्दा बढी ऋण पशुपालनमा रू. १२ करोड ६५ लाख गरेको छ भने त्यसपछि बालीमा १० करोड ४६ लाख र फलफूल खेती, वन पैदावार तथा जडीबुटी खेतीमा १ करोड ४० लाख रुपैयाँ प्रवाह गरेको निर्देशनालयले जानकारी दिएको छ । यस क्षेत्रमा लगानी गरिएका विभिन्न कार्यक्रमबाट ५४ हजार २ सय ३५ घरधुरीका २ लाख ७१ हजार ७ सय २१ जना कृषक प्रत्यक्ष लाभान्वित भएको दाबी कृषि प्रसार अधिकृत भुसालले गरे । उनका अनुसार दलित ४४ हजार, जनजाति ७८ हजार र अन्य १ लाख ४८ हजार बढी छन् ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.