लिच्छविकालमा राजा मानदेवको पालामा ‘मानाङ्क’ नामको मुद्रा प्रचलनमा ल्याइएको थियो । यसपछिका राजाहरूले आफ्नो शासनकालमा तामा, चाँदीका विभिन्न मुद्रा सिक्काका रूपमा प्रयोगमा ल्याएका थिए । धेरै समयपछि राजा त्रिभुवनको शासनकालमा विसं २००२ सालतिर मुद्राका रूपमा कागजी नोटलाई प्रचलनमा ल्याइएको थियो । यो नोट अहिलेसम्म विभिन्न रंगमा फरकफरक दरका कागजी नोट चलनचल्तीमा रहेका छन् । एक समय १० रुपैयाँको प्लास्टिकको पोलिमर नोट चलनचल्तीमा ल्याइएको थियो ।
नेपाल सरकारले वा नेपाल राष्ट्र बैंकले निष्कासन गरेको नोट, मोहर, रुपैयाँ, रेचकी वा पैसा नेपाली मुद्रा हुने भनी नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन, २०१४ मा भनिएको छ भने नेपाली रुपैयाँमा अंकित मुद्रा नै नेपाली मुद्रा भनी नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा परिभाषा गरेको छ । अहिलेको अवस्थासम्म आइपुग्दा मुद्राको परिभाषा नै फरक भइसकेको छ ।विभिन्न किसिमका करेन्सी नोट, पोस्टल अर्डर, पोस्टल नोट, मनी अर्डर, चेक, ड्राफ्ट, ट्राभलर्स चेक, प्रतीतपत्र, विनिमयपत्र, प्रतिज्ञापत्र, क्रेडिट कार्डलाई मुद्राका रूपमा लिन थालेका छन् । नेपाल राष्ट्र बैंकले आवश्यक सूचना प्रकाशन र प्रसारण गरी तोकिदिएको मौद्रिक उपकरणसमेत मुद्राका रूपमा गनिन पुगेका छन् । विद्युतीय बैंकिङ, स्वीफ्टबाट हुने भुक्तानी, विभिन्न कार्डबाट हुने भुक्तानी, अन्तरबैंक भुक्तानी, ई–वालेट, मोबाइल बैंकिङजस्ता मौद्रिक उपकरण पनि मुद्राको परिभाषाभित्र समेटिन पुगेको छ । अहिले भर्चुअल करेन्सीलाई पनि मुद्रासरह मानी कारोबार हुने गरेको छ ।
धातुको सिक्का, कागजी नोटको चलनचल्तीलाई कम गर्दै विद्युतीय प्रविधिको प्रयोग गरी मौद्रिक उपकरणमार्फत रकम भुक्तानी हुने क्रम बढ्दो छ । यसले भौतिक रूपमा हुने मुद्राको काराबोरलाई विस्थापित गर्दै लगेको छ । विद्युतीय कारोबारले जीवनलाई सहज बनाउँदै लगे पनि यसमा ठगीको खतरा पनि बढ्दै गएको छ । क्रिप्टो करेन्सीलाई भने नेपालमा अवैध मानिएको छ ।
नेपालमा मुद्राको विषयलाई लिएर विभिन्न किसिमका अपराध हुने गरेका छन् । लुकिछिपी खोटा मुद्रा बनाउने कामहरू हुँदै आएका छन् । सर्वसाधारणका लागि चलनचल्तीमा ल्याउने गरी नक्कली करेन्सी नोट छापेर बजारमा पुर्याउने गरेका छन् । यस्ता नक्कली नोटले सक्कली नोटको काम गरिरहेको हुन्छ । यस्ता नक्कली नोट नै खोटा मुद्रा हुन् । पहिले खोटा मुद्रालार्ई चलनचल्तीमा ल्याउने, बनाउने, बनाउन लगाउने कामलाई अपराधका रूपमा मुलुकी ऐन, २०२० को खोटाचलनको महलमा कानूनी व्यवस्था गरेको थियो । मुलुकी अपराध संहिता, २०७४ जारी भएपछि यसको परिच्छेद २२ मा मुद्रसम्बन्धी अपराधको व्यवस्था गरियो । यसको दफा २५६(२) मा नेपाल सरकार वा नेपाल राष्ट्र बैंक वा विदेशी सरकार वा अधिकारप्राप्त विदेशी संस्थाले निकालेको विश्वास हुने गरी अनधिकृत रूपमा बनाएको नक्कली मुद्रा नै खोटा मुद्रा भनी परिभाषा गरिएको छ ।
कसैले पनि यस्ता खोटा मुद्रा बनाउन वा बनाउने उद्योग गर्न हुँदैन । कसैले खोटा मुद्रा हो भन्ने जानीजानी सद्देसरह चलन गर्न हुँदैन । गलत नियतले त्यस्तो मुद्रा खरीद वा विक्री गर्न, निकासी वा पैठारी गर्न, लेनदेन गर्न, सद्देसरह चलनचल्तीमा ल्याउन र त्यस्तो मुद्रा आफूसँग राख्न हुँदैन । खोटा मुद्रा बनाउने सामान बनाउन, मर्मत गर्न, खरीद विक्री गर्न, लिन–दिन वा निकासी पैठारी गर्न, आफूसँग राख्नसमेत हुँदैन । यस्तो काम कसैले गरेको खण्डमा त्यो मुद्रासम्बन्धी अपराधभित्र पर्छ । कसैले पनि मुद्रा बनाउने यन्त्र वा उपकरण वा अन्य सामग्री मुद्रा बनाउने ठाउँबाट बाहिर लैजान पाउँदैन । कानूनबमोजिम अधिकारप्राप्त अधिकारीको आदेशले मात्र त्यस्तो औजार बाहिर लैजान पाउँछ ।
बजारमा नोट निष्कासन गर्ने अधिकार नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ५२ अनुसार नेपाल राष्ट्र बैंकलाई रहेको छ । बैंकले आवश्यकताअनुसार विभिन्न दरका नोट निष्कासन गर्न सक्छ । एक वर्षका लागि कति नोटको आवश्यकता पर्छ भनी नेपाल राष्ट्र बैंकले गरेको अध्ययन प्रतिवेदनका आधारमा नोट छापिन्छ । धेरै पहिलेदेखि मुद्राका रूपमा मान्यता पाउँदै आएको धातुका सिक्काहरू अहिले बजारमा कमै मात्र चलनचल्तीमा छन् । सिक्काको निश्चित तौल कानूनद्वारा निर्धारण गरिएको हुन्छ । धातुबाट बनेको सिक्काको निर्धारित तौल घटाउन वा त्यसको रूप बदल्न हुँदैन ।
धातुको मुद्राको तौल घटाउन वा धातुको अंश फरक पार्न वा एक किसिमको मुद्रालाई अर्को किसिमको मुद्रा हो भन्ने भान पार्ने गरी निकासी वा पैठारी गर्न वा आफूसँग राख्न हुँदैन । तोकिएको मापदण्डभन्दा विपरीत हुने गरी मुद्रा बनाउन हुँदैन । प्रचलित कानूनबमोजिम मुद्रा बनाउने अधिकार पाएको कुनै अधिकारी वा व्यक्तिले जानीजानी कानूनद्वारा निर्धारित मापदण्ड र शर्तविपरीत हुने गरी मुद्रा बनाउन हुँदैन । साथै मुद्रा बनाउनुपर्ने परिमाणभन्दा बढी मुद्रा बनाउन हुँदैन । त्यसरी मुद्राको परिमाणमा फरक पार्ने नियतले कुनै काम गर्न हुँदैन । त्यस्तो काम गरी आफूलाई वा अरू कसैलाई लाभ पुर्याउन वा त्यस्तो काममा सहयोग पुर्याउन हुँदैन । कानूनबमोजिम रोक लगाइएको मुद्रा चलनचल्तीमा ल्याउन, लेनदेन गर्न वा आफूसँग राख्न हुँदैन ।
अहिले बजारमा सिक्काभन्दा बढी बैंक नोट चलनचल्तीमा रहेको छ । अधिकारप्राप्त अधिकारीको आदेशविना कसैले पनि बैंक नोट वा सिक्कालाई काम नलाग्ने गरी जलाउन, गाल्न, च्यात्न हुँदैन । साथै नोटमा केरमेट गर्न वा लेख्नसमेत हुँदैन । बैंक नोट झुत्रो भई अक्षर, चिह्न, आकार नचिनिने भएमा वा अन्य कुनै कारणले चलनचल्तीमा ल्याउन नहुने भएमा त्यसरी झुत्रो भएको नोटलाई जलाउने वा सडाउने गर्नुपर्छ । त्यसरी जलाउने वा सडाउने कर्तव्य भएको व्यक्तिले नोटलाई नजलाई वा नसडाई चलनचल्तीमा ल्याउन हुँदैन । कुनै किसिमले आफूले लाभ पाउने बदनियतले त्यस्तो झुत्रो नोटलाई नजलार्ई वा नसडाई आफूसमक्ष राख्न वा अरूलाई दिन हुँदैन ।
नेपालमा अहिले प्रतिबन्धित बिटक्वाइनलगायत क्रिप्टो करेन्सीहरूको कारोबार हुने गरेको पाइएको छ । यस्ता मुद्राको कारोबारको वास्तविक हिसाबकिताब देखिँदैन । यसले सम्पत्ति शुद्धीकरणको खतरा पनि बढाएको छ । त्यसैले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने ऐन, २०८० ले मुलुकी अपराध संहिता, २०७४ मा संशोधन गरी क्रिप्टो करेन्सीको कारोबारलाई रोक लगाउने प्रयास गरेको छ । संहिताको दफा २६२क अनुसार क्रिप्टोग्राफी वा अन्य तरीकाले सृजना वा उत्पादन गरिएको, विद्युतीय माध्यमबाट मूल्य दर्शाउने वा मूल्यको प्रतिनिधित्व गर्ने प्रकृतिको, व्यापारिक क्रियाकलापमा महत्त्व रहेको, मूल्य वा खाताको एकाइमा सञ्चित वा भण्डारण गर्न सकिने सूचना, कोड वा संकेत नम्बर, टोकन क्रिप्टो करेन्सीजस्ता अभौतिक सम्पत्ति नै अभौतिक मुद्रा हुन् । नेपाल राष्ट्र बैंकले जारी गर्ने मुद्राबाहेक कसैले पनि नेपालमा प्रयोग गर्ने गराउने वा नेपालभित्र वा बाहिरको व्यावसायिक कारोबारको भुक्तानी लिने, दिने वा हिसाब मिलान गर्ने वा अन्य प्रयोजनको लागि मुद्राको नाम लिई वा नलिई अभौतिक मुद्राको उत्पादन, विक्री, कारोबार, सतही वा स्थानान्तरण गर्न हुँदैन । साथै त्यस्तो मुद्रा कसैले राख्न, जारी गर्न वा हस्तान्तरण गर्न, गराउन हुँदैन । यसविपरीत कसैले कुनै व्यावसायिक कारोबारसम्बन्धी रकम कुनै माध्यमबाट भुक्तानी लिने दिने गर्नु हुँदैन ।
मानिशहरू मुद्रा आर्जनका लागि अपराधसम्म पनि गर्न पुग्छन् । मुलुकी अपराध संहिता, २०७४ ले निषेध गरेका मुद्रासम्बन्धी अपराध कसैबाट भए गरेमा सजायको भागिदार बन्नुपर्छ । मुद्रासम्बन्धी अपराध गर्न प्रयोग भएको औजार, उपकरण, यन्त्र र त्यससँग सम्बद्ध सामग्री जफत हुन्छ । संहितामा फरकफरक अपराधका लागि फरक फरक कैद तथा जरीवाना हुने गरी सजायको व्यवस्था गरिएको छ । कसैले पनि मुद्रासम्बन्धी अपराध गरी सम्पत्ति आर्जन गरेमा वा त्यस्तो सम्पत्ति शुद्धीकरण गरेमा समेत सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को परिच्छेद ७ बमोजिम सजाय हुन्छ ।
लेखक अधिवक्ता हुन् ।