काठमाडौं । गत मंगलवार २५ दशमलव ८८ अंक बढेको नेप्से बुधवार (आज) २० दशमलव ४१ अंक घटेर बन्द भएको छ । यससँगै नेप्से २ हजार ६४५ दशमलव ३९ विन्दुमा झरेको छ ।
यसअघि गत आइतवार नेप्से परिसूचक ४७ दशमलव ४४ अंक र सोमवार ५७ दशमलव ९९ अंकले घटेको थियो ।
आज वाणिज्य बैंकहरूले नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेपनि त्यसले शेयर बजारमा प्रभाव पार्न नसकेको देखिएको छ । आज बैंकिङ्ग समूहको सूचक सबैभन्दा बढी १ दशमलव ७० प्रतिशत घटेको छ ।
बैंकहरूको वित्तीय विवरण सार्वजनिक भएपछि शेयर बजारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको थियो । तर, बैंकहरूले आम्दानी बढाउन नसकेको र राष्ट्र बैंकको सहुलियतले मात्रै नाफा बढाएको विवरण सार्वजनिक भएपछि शेयर बजारमा विक्रीकर्ता हाबी भएको जानकार बताउँछन् ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ७१ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ८३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ७५ प्रतिशत घटेको छ ।
३२४ धितोपत्रको १ करोड ५७ लाख ४२ हजार ५१४ कित्ता शेयर ६५ हजार ९१ पटकमा रू. ६ अर्ब २७ करोड बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका धितोपत्रमध्ये आइसिएफसि फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत बढेसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८२३ दशमलव ९० पुगेको छ ।
यस कम्पनीले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासमा आकर्षक मुनाफा आर्जन गर्न सफल भएको छ । यस कारण कम्पनीको शेयरमा खरीदकर्ता आकर्षित भएका हुन् । त्यस्तै, समृद्धि फाइनान्सको शेयर मूल्य ९ दशमलव ९३ प्रतिशत बढेर रू. ७०४ दशमलव १० पुगेको छ ।
बुधवार महुली लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा बढी ४ दशमलव २८ प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू १ हजार ५६४ मा झरेको छ । त्यस्तै हिमालयन बैंकको शेयर मूल्य ४ दशमलव ०७ प्रतिशत घटेर रू. २६१ दशमलव ९० कायम भएको छ ।
शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा आइसिएफसि फाइनान्सले ओगटेको छ । यस कम्पनीको रू. ४३ करोड ४४ लाख बराबरको शेयर खरीदविक्री भएको हो । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा कुमारी बैंक छ । कम्पनीको रू. २६ करोड ९७ लाख बराबरको शेयर कारोबार भएको हो ।
आज कारोबारमा आएका १३ समूहगत सूचकमध्ये दुई समूहको सूचक बढेको छ भने बाँकी समूहको सूचक घटेको छ । तीमध्ये वित्त समूहको सूचक सबैभन्दा बढी २ दशमलव ३२ प्रतिशत वृद्धि भएको छ ।