काठमाडौं। नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको ८८औं वार्षिकोत्सव शुक्रवार सम्पन्न भएको छ । १९९४ कात्तिक ३० गते स्थापना भएको बैंकले स्थापना दिवसको अवसरमा कार्यक्रम गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता बैंकका सञ्चालक समिति अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले गरेका थिए ।
बैंकले नेपालभर २२९ शाखा, २०५ एटीएमका साथै ६० एक्सटेन्सन काउन्टरमार्फत २५ लाखभन्दा बढी ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बंैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको बताइएको छ । ९ लाखभन्दा बढी ग्राहकले डिजिटल प्रविधिमार्फत बैंकिङ सेवा लिई लाभान्वित भएको बताइएको छ ।