काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (Nepal Infrastructure Bank ltd.) ले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. १ अर्ब १६ करोड १८ लाखभन्दा बढी खुद नाफा (Net Profit) गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण (financial statement) अनुसार यस वर्ष खुद नाफा गत वर्षको तुलनामा ६७ दशमलव २८ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ६९ करोड ४५ लाखभन्दा बढी मात्र खुद नाफा गरेको थियो ।
गत वर्षको तुलनामा कम्पनीको सञ्चालन नाफा ६७ दशमलव ३१ प्रतिशत बढी भएको छ । यस वर्ष इम्पेरमेन्ट चार्ज कम हुँदा कम्पनीको सञ्चालन नाफा बढ्न पुगेको हो । गत वर्ष तेस्रो त्रैमाससम्म रू. ९ करोड ७७ लाखभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज यस वर्ष रू. ६ करोड ५० लाखभन्दा बढी मात्र रहेको छ । सञ्चालन नाफा भने गत वर्ष रू. ९९ करोड २० लाखभन्दा बढी भएकोमा यस वर्ष रू. १ अर्ब ६५ करोड ९७ लाखभन्दा बढी भएको छ ।
गत वर्षको तुलनामा कम्पनीको वितरणयोग्य नाफा पनि ६७ दशमलव ४४ प्रतिशत बढी भएको छ । गत वर्ष रू. ५४ करोड ७१ लाखभन्दा बढी रहेको वितरणयोग्य नाफा यस वर्ष रू. ९१ करोड ६१ लाखभन्दा बढी रहेको छ । हाल कम्पनीको चुक्तापूँजी भने रू. २१ अर्ब ६० करोड छ भने जगेडा कोष रकम ४१ दशमलव २९ प्रतिशत बढेर रू. १ अर्ब ९८ करोड ५८ लाखभन्दा बढी कायम भएको छ ।
कम्पनीले गत वर्षको तुलनामा यस वर्ष ११६ दशमलव ४७ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष रू. १ अर्ब २८ करोड ६८ लाखभन्दा बढी कर्जा प्रवाह गरेको कम्पनीले यस गर्ष रू. २ अर्ब ७८ करोड ५६ लाखभन्दा बढी कर्जा प्रवाह गरेको हो । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ७ दशमलव १७ र प्रतिशेयर नेटवर्थ रू. १०९ दशमलव १९ छ ।