काठमाडौं। नेपाल मर्चेन्ट बैंकर्स संघको कार्यसमिति पदाधिकारीहरूले बिहीवार नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग भेटघाट गरेका छन् ।
ललितपुर खुमलटारस्थित बोर्डको कार्यालयमा आयोजना गरिएको उक्त भेटघाट कार्यक्रममा संघका अध्यक्ष रामेन्द्र रायमाझी, निवर्तमान अध्यक्ष विजयलाल श्रेष्ठ, उपाध्यक्ष मनिषनारायण जोशी, महासचिव निर्मल भट्टराई, कोषाध्यक्ष शिभान्तराज पाण्डे, सदस्यहरू सन्दिप कार्की र पुष्प शर्माको उपस्थिति थियोे ।
उक्त कार्यक्रममा संघका अध्यक्ष रायमाझीले समग्र पूँजी बजारलाई स्वच्छ, पारदर्शी, भरपर्दो तथा विश्वासिलो बनाउन, लगानीकर्ताको हकहित संरक्षण गर्न तथा समग्र धितोपत्र बजारलाई समयसापेक्ष विकास तथा विस्तार गर्न आधुनिक प्रविधिमैत्री बनाई नियमन र सुपरिवेक्षण कार्यलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
साथै, बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठले समग्र पूँजीबजारलाई स्वच्छ, पारदर्शी तथा समय सापेक्ष आधुनिक प्रविधिमैत्री बनाई नियमन तथा सुपरिवेक्षण कार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।