काठमाडौं । लगानीकर्ताले दोहोरो कर तिर्नुपर्ने स्थिति र लाभांश लैजान झन्झटिलो प्रक्रियाका कारण बेलायती लगानी नेपालमा धेरै बढ्न नसकेको सरोकारवालाले बताएका छन् ।
नेपाल राष्ट्र बैंकको एक अध्ययनअनुसार २०८० असारसम्ममा नेपालमा बेलायतको प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ८५ करोड रुपैयाँ कायम छ । उक्त लगानीका आधारमा बेलायत ११औं ठूलो लगानीकर्ता हो । क्षेत्रगत लगानी हेर्दा बेलायत (यूके)ले नेपालका कृषि, उद्योग, सेवा गरी तीन क्षेत्रमा लगानी गरेको छ । यसमध्ये सबैभन्दा धेरै सेवाक्षेत्रको लगानी मौज्दात ५ अर्ब ८४ करोड रुपैयाँ छ ।
नेपालस्थित बेलायती राजदूतवास र डेभलपमेन्ट फर बिजनेश एन्ड ट्रेड (डीबीटी)ले काठमाडौंमा आयोजना गरेको ‘नेपाल–यूके बिजनेश फोरम’मा बोल्दै नेपालका लाागि बेलायती राजदूत रब फेनले दुई देशबीच दोहोरो करमुक्ति सम्झौता नहुँदा बेलायती लगानी बढाउन चुनौतीपूर्ण रहेका बताए । ‘बेलायती उद्यमीहरू नेपालमा लगानी गर्न इच्छुक छन्,’ फेनले भने, ‘यस्ता फोरमले यूके–नेपालमा लगानी र व्यापारका सम्भावना थप उजागर गर्नेछ ।’ ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट (बीआईआई)को दक्षिण एशियाका लागि क्षेत्रीय निर्देशक हबिब युसुफले बेलायती लगानीकर्ताले नेपाल र बेलायत दुवै ठाउँमा कर तिर्नुपर्ने बाध्यता रहेको र पूँजी फिर्ता चुनौतीपूर्ण रहेको बताए ।
नेपाल र बेलायतबीच द्विपक्षीय लगानी सम्झौता सन् १९९३ मै भए पनि दोहोरो करमुक्ति सम्झौता भएको छैन । यसको अर्थ नेपालमा लगानी गर्ने बेलायती लगानीकर्ताले दुवै देशमा कर तिर्नुपर्ने हुन्छ ।
नेपालले हालसम्म १० देशसँग मात्र यस्तो सम्झौता गरेको छ । कार्यक्रममा लगानीकर्ताले दोहोरो करका कारण समस्या भएको बताए । साथै लाभांश लैजाने झन्झटिलो प्रक्रिया अझै रहेको भन्दै यसलाई सरल बनाउन आग्रह गरे ।
नेपाल सरकारका आर्थिक सल्लाहकार तथा अर्थशास्त्री डा. युवराज खतिवडाले नेपाल–बेलायतबीचको सम्बन्ध लामो भए पनि नेपालमा बेलायती लगानी अपेक्षाकृत नभएको बताए । नेपालको साना तथा मझौला उद्योगमा लगानीको ठूलो खाडल (ग्याप) रहेको भन्दै खतिवडाले थपे, ‘विदेशी प्रत्यक्ष लगानीमात्रै नभई इक्वीटी फन्डमार्फत लगानी आउनसक्छ ।’
बेलायतमै व्यवसाय गरिरहेको कँडेल ग्रूप, यूकेका प्रबन्ध निर्देशक राजन कँडेलले शिक्षा, सूचनाप्रविधि र उच्च मूल्यका वस्तु उत्पादनमा नेपालमा लगानी गर्न सकिने बताए । नेपालीको खर्च गर्ने क्षमता बढ्दै गएकाले उच्च मूल्यका वस्तु उत्पादनका बजार पनि राम्रै रहेको उनको भनाइ छ ।
बेलायतको डिपार्टमेन्ट फर बिजनेश एन्ड ट्रेडअन्तर्गत अन्तरराष्ट्रिय रणनीति व्यापार सम्बन्ध (दक्षिण एशिया टीम) का प्रमुख पेत्रा लेनिहानले नेपालले विदेशी लगानीको क्षेत्र थप खुलाउनुपर्ने बताए । ‘हाम्रो निरन्तर लबिइङपछि भारतले बीमा क्षेत्रमा शतप्रतिशत विदेशी लगानी खुला गर्यो, नेपालले पनि त्यस्तै गर्न सक्छ,’ उनको भनाइ थियो ।
उक्त कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले पछिल्ला केही महीनामै सरकारले लगानीसम्बन्धी दर्जनौं कानून, नीतिहरू सुधार गरेको जानकारी गराए । ‘निजी लगानीका साथै नेपालले ठूलो लगानी खोजिरहेको छ,’ सचिव राउतले भने, ‘सूचना तथा प्रविधि क्षेत्र, स्वच्छ ऊर्जा, खनिज, पूर्वाधारलगायत क्षेत्र खुला छन् ।’
यस्तै, उनले नेपालले अनलाइनमार्फत नै उद्योग दर्ता गराउन सकिने र सूचनाप्रविधि क्षेत्रमा लगानीको सीमा हटाइसकेको पनि जानकारी गराए । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नीतिगत सुधारमा भइरहेका प्रयासबारे जानकारी गराए । निजी लगानी आकर्षित गर्ने गरी काम गरिएको भन्दै उनले नेपालले ऊर्जा क्षेत्रबाहेक गैरऊर्जा केबलकार, द्रुतमार्गजस्ता परियोजनाका लागि पनि लगानी खोजेको र त्यसमा लगानी गर्न आग्रह गरे ।
कार्यक्रममा युनिलिभर नेपालका प्रबन्ध निर्देशक (एमडी) अम्लान मुखर्जीले नेपाल लगानी गर्न इच्छुक उद्यमीका लागि राम्रो गन्तव्य रहेको बताए । ‘हामीले एउटा प्रडक्टबाट नेपालमा लगानी शुरू गरेका हौं,’ मुखर्जीले भने, ‘यो ३ दशकको अवधिमा प्रडक्टको संख्या अहिले १६४ पुगेको छ भने नेपालमा हाम्रो व्यवसाय लाभदायक नै भइरहेको छ । त्यसैले हामीले नेपालमा लगानी गर्न सक्यौं भने अरूले पनि गर्न सक्नुहुन्छ ।’