ठूलो चाड दशैंतिहारपछि छठ पर्व पनि सिद्धिएको छ । यसै हप्ता ‘बजेट पर्व’ पनि सिद्धियो । तर, विपक्षी दलहरूको आन्दोलनको चाडपर्व भने बल्ल शुरू हुँदैछ । अब चक्काजाम, मशाल जुलुश, बन्दहडतालजस्ता पर्व नाटकहरू सित्तैमा हेर्न पाइने छ । धेरै छुट्टी मनाउन चाहने कर्मचारी एवम् आमनेपालीका लागि यो खुशीकै कुरा हो । आज चर्चा गर्न लागेको चाहिँ त्यस्ता चाडपर्व धेरै नमनाउने तर चाउचाउ भने धेरै खाने चीनको विषयमा हो ।
न अमेरिकाको जस्तो चुनाव, न नेपालको जस्तो चलखेल, न गालीगलौज, न बन्दहडताल, न त मारमुङ्ग्री । एकैचोटि देशको राष्ट्रपतिमा झ्वाट्ट सी जिनपिङ हुने भनेर चीनले विश्वलाई समाचार दियो । त्यसमा पनि दशौँ वर्षसम्म वर्तमान राष्ट्रपति हु जिन्ताउलाई एकछत्र राज गर्न दिएर चीनले आफू अप्रजातान्त्रिक मुलुक रहेको सन्देश दिइरहेको थियो । अहिले यसरी राजकुमार सीलाई राष्ट्रपति बनाउने घोषणा गर्यो । कति शान्तिपूर्ण सत्ता परिवर्तन । तर, माओको देशमा माओकै उच्चारण गर्न छाडेका छन् चिनियाँहरूले । यो भने बेकाइदा भयो । नेपाली काइदाबारे उसले कुनै ध्यान नै दिएन ।
चीनले नेपालबाट धेरै कुरा सिक्न सक्छ । किनकि माओका सच्चा चेलाहरू त विशाल चीनमा भन्दा सानो नेपालमै धेरै छन् । विभिन्न पार्टीको उद्योगधन्दा मज्जाले चलाएर बसेका छन् ।
(तीतोमीठोबाट) वर्ष ८, अंक ६५, शुक्रवार ८ मङ्सिर, २०६९