माघ १०, वीरगञ्ज । भारतले मुलुककै मुख्य नाका वीरगञ्ज र आसपासका सीमावार्ती भारतीय क्षेत्रमा नेपाली सवारी साधनलाई अनुमतिविना प्रवेशमा रोक लगाएको छ । सोमबारदेखि भारत प्रवेश गर्ने सवारी साधनले अनिवार्यरुपमा भारतको अनुमति लिनुपर्ने छ । सीमावर्ती क्षेत्रमा बढ्दो सुरक्षा चुनौति र अनधिकृत कारोबार नियन्त्रणका लागि यो व्यवस्था लागू गरिएको भारतीय पक्षको भनाइ छ ।
आइतबार प्रकाशित भारतीय पत्रिका हिन्दुस्तान दैनिकको बिहार संस्करणले भारतीय रक्सौल कस्टमका सहायक आयुक्त कमलेश कुमारलाई उधृत गर्दै नेपाल–भारत सीमानामा आतङ्कवादीको घुसपैठ र अन्य सुरक्षा चुनौतिलाई नियन्त्रण गर्न नेपाली सवारी साधनलाई यो व्यवस्था अनिवार्य गरिएको जनाएको छ । अब नेपाली सवारीका चालकहरुले रक्सौल प्रवेशका लागि एक दिनको अस्थायी पास लिनुपर्ने भएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले प्रवेश अनुमति लागू गरिएको जानकारी आएको बताए । ‘रक्सौलतिर प्रवेशका लागि पास अनिवार्य गरिएको भन्ने सुनेँ । तर, यो दुईतर्फी समन्वयमा भएको होइन,’ प्रमुख जिल्ला अधिकारी घिमिरेले भने ।
खुला सीमानाको दुरुपयोग गरी हुनसक्ने आपराधिक गतिबिधि र अनधिकृत कारोबार नियन्त्रणका लागि सवारी साधनलाई प्रवेश अनुमतिको व्यवस्था मिलाइएको जनाइएको छ । अस्थायी पास लिएका सवारी साधन सीमावर्ती क्षेत्रबाट ३ किलोमिटरको दुरीको भारतीय क्षेत्रसम्म मात्र जान सक्छन् । अनुमति लिएर तोकिएको ठाउँबाट मात्र प्रवेश गर्न पाइनेछ । बढी समयका लागि अनुमति चाहिएमा भारतीय दूतावास र वीरगञ्जको भारतीय महावाणिज्य दूतावासबाट स्वीकृति लिनुपर्ने छ । भारतीय सवारी साधनलाई नेपाल प्रवेशमा यसअघि नै यो व्यवस्था लागू भइसकेको छ । वीरगञ्ज नाकाबाट प्रवेश गर्ने भारतीय साधनले वीरगञ्ज भन्सार कार्यालयबाट अनुमति लिन्छन् ।
सीमा क्षेत्रको सुरक्षा प्रभावकारी बनाउन नेपाल र भारतका सुरक्षाकर्मीको संयुक्त टोलीले सीमानाकाहरुमा चेकजाँच तीव्र पारेको छ । आइतबार छपकैया छोटी भन्सार नाकामा नेपालको सशस्त्र प्रहरी र भारतीय सशस्त्र सुरक्षा बलले सवारी साधन र यात्रुहरुको खानतलासी लिएका थिए । प्रमुख जिल्ला अधिकारी घिमिरेले सीमावर्ती क्षेत्रको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर चेकजाँच गरिएको जानकारी दिए ।