काठमाण्डौं । नेपालको निजी क्षेत्रले सन् २०१७ देखि २०२३ सम्म १०९ उद्योगहरूमा सूचना प्रविधि (आईसीटी) क्षेत्रमा ७.१ अर्ब रुपैयाँ लगानी गरेको विश्व बैंकको तथ्यांकले देखाएको छ ।
यसले ६ हजार ७४६ रोजगारी सिर्जना गरेको अनुमान विश्व बैंकको छ । सानादेखि ठूलासम्मका उद्योगका कारण नेपालको आईसीटी क्षेत्रको बहुआयामिकता देखिएको उक्त प्रतिवेदनमा उल्लेख छ । (नेपालमा साना उद्योग भनेको १५ करोडभन्दा कम पूँजी भएका, मध्यम उद्योग १५ करोडदेखि ५० करोडसम्मका र ठूला उद्योग ५० करोडभन्दा बढी पूँजी भएकालाई बुझ्ने गरिन्छ।)
यसक्षेत्रको सबैभन्दा धेरै आयात हुने वस्तु तथा सेवामा इन्टरनेट ब्यान्डविड्थ, कम्प्युटर, मोबाइल लगायत पर्छन् । नेपालले भारत र चीनबाट इन्टरनेट ब्यान्डविड्थ आयात गर्छ । सन् २०२३ मा मात्रै ४.७ अर्ब खर्च इन्टरनेट ब्यान्डविड्थ खरीदमा खर्च भएको विश्व बैंकको तथ्यांकले देखाउँछ ।
टेलिकम, कम्प्युटर र सूचना प्रविधि सेवाले नेपालको सेवा निर्यातको १० प्रतिशत (जीडीपीको ०.३ प्रतिशत) हिस्सा ओगटेको छ ।
सेवा निर्यातमा नेपाल दक्षिण एसियामा दोस्रो स्थानमा छ, पहिलो स्थानमा पाकिस्तान छ । डिजिटलमार्फत पुर्याइने सेवा निर्यातले सन् २००५ देखि २०२३ सम्म ११.६ प्रतिशत वार्षिक वृद्धि दर हासिल गरेको तथ्यांकले देखाउँछ । सन् २०२३ सम्ममा यसले सेवा निर्यातको ५० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ ।
नेपाल आईसीटी सामान उत्पादन र निर्यातमा भने कमजोर देखिएको छ । विदेशी प्रत्यक्ष लगानी (एफडीआई) कम आएका कारण नेपालमा आईसीटी सामान उत्पादन र निर्यातमा चुनौती देखिएको प्रतिवेदनमा उल्लेख छ ।
'विदेशी प्रत्यक्ष लगानी (एफडीआई) न्यून हुनुले नेपालले आईसीटी सामान निर्यात गर्न सकेको छैन । चीन र भियतनामजस्ता देशहरूले एफडीआईमार्फत यस क्षेत्र विकास गरेका छन् । नेपालले आईसीटी सामानको आयात (जीडीपीको १.२ प्रतिशत) गर्छ, जसमा मोबाइल र कम्प्युटर उपकरणहरू प्रमुख छन्,' प्रतिवेदनमा उल्लेख छ ।