काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचकसँगै कारोबार रकम वृद्धि भएको छ । नेप्से १ दशमलव ४६ प्रतिशत बढेर २ हजार ७५६ दशमलव ३६ विन्दुमा पुगेको हो । मंगलवार पनि नेप्से १ दशमलव २४ प्रतिशत वृद्धि भएको थियो । यो सँगै नेप्से लगातार तिन कारोबार दिन वृद्धि भएको छ । अघिल्लो कारोबार दिन रू. ७ अर्ब ४४ करोड बराबरको कारोबार भएकोमा आज रू. ९ अर्ब ३१ करोड बराबरको कारोबार भएको हो ।
करेक्सनको चरण सकिएपछि बजार पुनः उकालो यात्रा तय गरेको देखिएको छ । यस भन्दा अगाडि नेप्से २ हजार ७८८ विन्दुसम्म पुगेर पुन: २ हजार ६६१ विन्दुसम्म झरेको थियो ।
धितोपत्र बोर्डमा नयाँ अध्यक्ष चयन भएकाले पनि आम लगानीकर्ताको मनोविज्ञानमा सकारात्मक प्रभाव परेको कारण पनि खरीदकर्ता आकर्षित भएको देखिन्छ ।
यद्यपि पछिल्लो समय वित्तीय प्रणालीमा तरलता प्रशस्त हुनु, ब्याजदर निरन्तर घट्नु र सूचीकृत कम्पनीले गत आवको लाभांश घोषणा गर्नु लगायतका कारण पनि अहिलेको लगानीमा जोखिम कम भएको शेयर जानकारहरू बताउँछन् ।
सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ६९ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ०७ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ७० प्रतिशत वृद्धि भएको छ । ३१६ धितोपत्रको १ करोड ७१ लाख ८३ हजार ८५४ कित्ता शेयर ८९ हजार पटकमा रू. ९ अर्ब ३१ करोड बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका धितोपत्रमध्ये सात धितोपत्रको मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । विशाल बजार कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सर्पोट लघुवित्त वित्तीय संस्था ,सप्तकोशी डेभलपमेन्ट बैंक र मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएको हो ।
बुधवार मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ७६४ मा झरेको छ । दोस्रोमा नेपाल फाइनान्स कम्पनीको शेयर मूल्य ६ दशमलव ७७ प्रतिशत घटेर रू. १ हजार ४४५ कायम भएको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा जानकी फाइनान्सले ओगटेको छ । यस कम्पनीको रू.३४ करोड बराबरको भएको हो । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको रू. ३३ करोड १६ लाख बराबरको भएको हो ।
कारोबारमा आएका १३ समूहगत सूचकमध्ये फाइनान्स समूहको सूचक शून्य दशमलव ४७ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको सूचक बढेको हो । सबैभन्दा बढी ब्यापार समूहको सूचक ९ दशमलव २७ प्रतिशत वृद्धि भएको छ । त्यस्तै विकास बैंक समूहको ३ दशमलव १८ प्रतिशत र जीवन बीमा समूहको सूचक २ दशमलव ८१ प्रतिशत वृद्धि भएको छ ।