जेठ १५ संवैधानिक आधारसहितको बजेट दिवस हो । यसको लोकतन्त्र दिवससित पनि साइनो छ । यसै दिन लोकतन्त्र दिवस मनाइन्छ, देशले २४० वर्ष पुरानो राजतन्त्रलाई यसै दिन फालेको सम्झनामा । वास्तवमा जनमुखी, विकासमुखी र रूपान्तरणकारी बजेट नै लोकतन्त्रको मानक हो ।
जनताले बजेटबाट के पाउँछन् यसैको आधारमा लोकतन्त्रको दशा र दिशा स्पष्ट हुन्छ । यस वर्ष पनि संवैधानिक व्यवस्थाअनुसार जेठ १ मा राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम र जेठ १५ गते अर्थमन्त्रीबाट सरकारको आय र व्ययको अनुमान अर्थात् बजेट सार्वजनिक भएको छ । विगतमा नीति तथा कार्यक्रम र बजेटमा तादात्म्य नभएको भनी आलोचना हुने गरेकोमा यस वर्ष यस प्रकारको तालमेल मिलाउन केही प्रयास पनि भएको थियो ।
यसका साथै आगामी आर्थिक वर्षदेखि नै लागू हुनेगरी १६औं पञ्चवर्षीय योजना पनि कार्यान्वयनमा ल्याइँदै गरिएको छ । योजना, नीति तथा कार्यक्रम र बजेटमा दरिलो तालमेल भयो भने सरकारको व्यावसायिकता देखिने, राजनीतिक लोकप्रियता कम देखिने र देशको विकासमा नयाँ इँटा थपिने हुन्छ । जनताको सुख, शान्ति, समृद्धि र गरीबीबाट मुक्त भएको अवस्था नै विकास प्रयासको वास्तविक फल र लोकतन्त्रको मर्म हो ।
गरीबी घटाउन उच्च आर्थिक वृद्धि प्राप्त गर्ने र गरीबोन्मुख वितरण गर्ने व्यवस्था सुनिश्चित गर्ने नीतिगत सन्तुलन चाहिन्छ । यस दिशामा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा गरिएका व्यवस्था परिणाममुखी भई मुलुकबाट गरीबी निवारण हुन सक्ने देखिन्छ ।
सरकारले गर्ने नीतिगत तथा कार्यक्रमिक प्रयासले हुने सबै प्रकारका विकासका क्रियाकलापबाट गरीबी न्यूनीकरण गर्न मद्दत मिल्ने भए तापनि गरीबी जस्तो जटिल समस्याको समाधानको लागि विशेष कार्यक्रमहरूको पनि आवश्यकता रहन्छ । यस आलेखमा आगामी आवको नीति तथा कार्यक्रम र बजेटमा मुलुकमा व्याप्त रहेको गरीबीको समस्या सम्बोधन गर्ने सम्बन्धमा गरिएका व्यवस्थाको समालोचनात्मक परिचर्चा गरिएको छ ।
राष्ट्रपतिले प्रस्तुत गर्नुभएको २१७ बुँदाको नीति तथा कार्यक्रमको बुँदा नं. २५ मा ‘सहकारी संस्थाहरू अनिवार्य रूपमा सहकारी तथा गरीबीसम्बन्धी व्यवस्थापन सूचना प्रणालीमा आबद्ध हुनुपर्ने व्यवस्था गरिनेछ,’ भनी उल्लेख गरिएको छ । यस्तो सूचना प्रणाली भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयमा रहेको सहजै अनुमान गर्न सकिन्छ । यतिबेला गरीबी निवारणमा उल्लेख्य भूमिका निर्वाह गर्नसक्ने सहकारी संस्थाहरूमा संकट देखिएको छ ।
गरीबले दुखजिलो गरेर जम्मा गरेको रकम दुरुपयोग गरिएको छ । यसले गरेको भए पनि यो गरीबमारा काम हो, वित्तीय कुशासन हो । यसले मुलुकमा गरीबी बढाउने काम गरेको छ, सहकारीको मूल मर्ममाथि नै प्रहार भएको छ । यसलाई संस्थागत भ्रष्टाचारको रूपमा पनि लिन सकिन्छ । त्यसैले त यो संकटले सरकार र संसद्लाई पनि हल्लाएको छ । यस्तो अवस्थामा सहकारी संस्थाहरूलाई मन्त्रालयको सहकारी व्यवस्थापन प्रणालीमा आबद्ध गर्दा यस्ता संस्थाको प्रभावकारी नियमन हुने अनुमान गर्न सकिन्छ । यस्तो नियमनले सहकारी क्षेत्रमा भविष्यमा संकट नआउने र गरीब नागरिकलाई अर्को जोखिममा पर्नु नपर्ने अवस्था सुनिश्चित गर्न यस्तो व्यवस्थाले काम गर्नेछ भनी कामना गर्न सकिन्छ ।
नीति तथा कार्यक्रमको बुँदा नं. २६ मा ‘आगामी आवभित्र गरीब घरपरिवार पहिचान कार्य सम्पन्न गरिनेछ । गरीबलक्षित कार्यक्रमहरू एकीकृत रूपमा सम्पन्न गरिनेछ । पहिचान भएका गरीबको स्थानीय तहमार्फत नि:शुल्क बीमा गरिनेछ । गरीबीको रेखामुनि रहेका घरपरिवारका लागि विद्युतीय चूल्हो, ट्युबवेललगायत सामग्री उपलब्ध गराइनेछ’ भनी उल्लेख छ ।
नेपालमा निरपेक्ष गरीबी र असमानता निरन्तर घट्दै गएको भए तापनि प्रत्येक पाँच जनामा एक जना व्यक्ति अहिले पनि गरीबीमा रहेको सरकारी अनुमान नै छ । असमानता पनि समाजवाद–उन्मुख समाज स्थापना गर्ने संविधानको उद्घोषलाई साकार पार्ने गरी घटाउन नसकिएको अवस्था छ । यस्तो अवस्थामा बजेटको यस उद्देश्यबाट सरकारको गरीबी र असमानता घटाउने प्रतिबद्धता स्पष्ट हुन्छ ।
गरीबी निवारणका लागि गरीबको पहिचान गर्नुपर्छ भन्ने सैद्धान्तिक मान्यतामा आधारित रहेर २०६९ सालदेखि नै गरीब पहिचान कार्यक्रम सञ्चालनमा छ । यसको आफ्नै विधि र प्रक्रिया छ । यो असाध्यै झन्झटिलो काम हो । यसमा समावेश नहुनु पर्ने घरपरिवार समावेश हुने र समावेश हुनुपर्ने घरपरिवार समावेश नहुने अवस्था पनि रहन्छ । आजको धनी भोलि गरीब बन्न सक्छ र आजको धनी भोलि गरीब पनि बन्न सक्छ । तर पनि गरीबको पहिचानले लक्षित कार्यक्रम सञ्चालन गर्न र सेवासुविधा प्रदान गर्न सजिलो हुन्छ । यस अर्थमा नीति तथा कार्यक्रमको यो बुँदालाई गरीबको पक्षमा भएको सरकारी संवेदनशीलताका रूपमा लिन सकिन्छ ।
नीति तथा कार्यक्रमको बुँदा नं. १०६ मा ‘गरीब, असहाय तथा सीमान्तकृत समुदाय बसोवास गर्ने अव्यवस्थित तथा झुपडी बस्तीलाई व्यवस्थित बस्तीमा स्तरोन्नति गरिनेछ’ भनी उल्लेख गरिएको छ । सुरक्षित आवास खान पाउने र लगाउन पाउनेजस्तै जनताको आधारभूत आवश्यकता हो । आधारभूत आवश्यकता पूरा गरिदिने दायित्व सरकारको पनि हो । यस्तो आधार पाएपछि जनता तङ्रिन पाउँछन् वा सक्छन् । जनता आवासजस्ता कार्यक्रम वर्षौंदेखि सञ्चालनमा आए तापनि देशको कतिपय भागमा अझै जनता असुरक्षित र जोखिमयुक्त झुपडीमा रहेका छन् । यसले एकातिर देशको मुहार बिगारेको छ भने अर्कोतिर जोखिमयुक्त बस्तीहरूले भूकम्प, डढेलोजस्ता विभिन्न प्रकार र प्रकृतिका जोखिमहरूको सामना गर्न नसकेर सम्बद्ध घरपरिवारलाई गरीबीमा धकेलेको छ । यसरी हेर्दा बस्ती सुधार गरीबी निवारणको अभिन्न पाटो हुन जाने भएकाले नै सरकारले नीति तथा कार्यक्रममा स्थान दिएको स्पष्ट हुन्छ ।
नीति तथा कार्यक्रमको बुँदा नं. १४४ मा ‘प्राविधिक धारको उच्च शिक्षामा दलित समुदायको पहुँच वृद्धि गर्न दलित लक्षित गरीब तथा जेहनदार छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिनेछ’ भनिएको छ । देशमा १३ प्रतिशत दलित छन् । परम्परागत रूपमा वास्तवमा यिनीहरू शिल्पी हुन् । उनीहरूमध्ये अधिकांश गरीबीको जाँतोमा पिसिन बाध्य भएका छन् ।
गरीब भएपछि समाजको हेपाइमा परेका हुन् । कति गरीब बाहुनले पनि यस्तो हेपाइ भोगेका छन् । दलितको गरीबीको कारण साधनस्रोत र शिक्षामा पहुँचकै कमी हो । त्यसमा पनि उच्च र प्राविधिक शिक्षामा उनीहरूको पहुँच कम छ । वास्तवमा यो शिल्पी समुदायलाई प्राविधिक शिक्षामा प्रोत्साहन गरिनुपथ्र्याे । यसले परम्परा र आधुनिकतालाई जोडेर उनीहरूलाई आर्थिक सशक्तीकरण प्रदान गर्दथ्यो र देशले दलित र गरीबीको माखेसाङ्लो देख्नुपर्ने थिएन । नीति तथा कार्यक्रममा उल्लिखित व्यवस्थाले दलित समुदायको पेशागत हक सुनिश्चित गर्दै मुलुकको गरीबी घटाउने उद्देश्य प्राप्त गर्न मद्दत गर्ने देखिन्छ ।
आगामी वर्षको बजेटमा पनि गरीबी घटाउने सम्बन्धमा केही विशेष व्यवस्था भएको देखिन्छ । बुँदा नं. ११ मा २०६५ सालमा ३० दशमलव ८ प्रतिशत रहेको निरपेक्ष गरीबी अहिले २० दशमलव ३ प्रतिशतमा झर्नुलाई लोकतन्त्रको उपलब्धिको रूपमा उल्लेख गरिएको छ । १६ वर्षको लोकतन्त्रले १० प्रतिशत गरीबी घटाउनु उल्लेख्य नभए तापनि यस बीचमा देशले सामना गर्नु परेको भूकम्प, नाकाबन्दी र कोरोनाले अपेक्षित उपलब्धि प्राप्त गर्न बाधा सृजना गरेको विषय पनि मननयोग्य छ । यसलाई बुँदा नं. १४ मा पनि समीक्षात्मक रूपले उल्लेख गरिएको छ ।
बजेटको बुँदा नं. २४ मा बजेटका पाँचओटा उद्देश्यमध्ये चौथो उद्देश्यमा ‘स्रोतसाधनलाई सन्तुलित र समन्यायिक ढङ्गले परिचालन गरी आर्थिक असमानता र गरीबी न्यूनीकरण गर्नु’ उल्लेख गरिएको छ । गरीबी र असमानता सभ्य समाजका कलंक हुन् । यिनीहरू अन्तरसम्बद्ध पनि छन् । सामान्यतया असमान समाजमा नै उच्च गरीबी हुन्छ । नेपालमा निरपेक्ष गरीबी र असमानता निरन्तर घट्दै गएको भए तापनि प्रत्येक पाँच जनामा एक जना व्यक्ति अहिले पनि गरीबीमा रहेको सरकारी अनुमान नै छ । असमानता पनि समाजवाद–उन्मुख समाज स्थापना गर्ने संविधानको उद्घोषलाई साकार पार्ने गरी घटाउन नसकिएको अवस्था छ । यस्तो अवस्थामा बजेटको यस उद्देश्यबाट सरकारको गरीबी र असमानता घटाउने प्रतिबद्धता स्पष्ट हुन्छ ।
अन्त्यमा, आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा देशको २० प्रतिशत जनसंख्याले भोगिरहेको गरीबीको समस्या समाधान गर्ने सन्दर्भमा केही विशेष व्यवस्थाको घोषणा गरिएको छ । यसलाई सकारात्मक तवरले नै लिनुपर्छ । मूलत: गरीबी न्यूनीकरण गर्न व्यापक रोजगारीका अवसरको सृजना गरिनु आवश्यक हुन्छ । नागरिकमा पनि काम गरेर खाने उत्कट इच्छा हुनुपर्छ । सामाजिक सुरक्षाजस्ता वितरणकारी कार्यक्रमबाट पनि गरीबलाई राहत र ऊर्जा प्रदान गर्न सकिन्छ । यसरी हेर्दा गरीबी घटाउन उच्च आर्थिक वृद्धि प्राप्त गर्ने र गरीबोन्मुख वितरण गर्ने व्यवस्था सुनिश्चित गर्ने नीतिगत सन्तुलन चाहिन्छ । यस दिशामा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा गरिएका व्यवस्थाहरू परिणाममुखी भई मुलुकबाट गरीबी निवारण हुने लोकतन्त्रको मर्म साकार बन्ने आशा गर्न सकिन्छ ।
लेखक योजना आयोगमा कार्यरत छन् ।