काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निओ मनि ट्रान्सफर प्रालि (नियो रेमिट) र युनाइटेड रेमिट प्रालिसँग भुक्तानी सेवासम्बन्धी सम्झौता गरेको छ । सम्झौतामा बैंकका विभागीय प्रमुख ऋषिराम ढकाल र नियो रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनालको हस्ताक्षर छ । युनाइटेड रेमिटसँगको सम्झौतामा रेमिटका सुदनसिंह सिलवाल र बैंकका विभागीय प्रमुख ढकालले हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै निओ रेमिट र युनाइटेड रेमिटबाट पठाएको वैदेशिक रेमिट्यान्स राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयबाट भुक्तानी हुने भएको छ । उक्त रेमिटबाट सोझै खातामा जम्मा हुने गरी पठाएको रकम पनि भुक्तानी प्राप्तकर्ताको खातामा जम्मा हुने बताइएको छ । बैंकले २९४ शाखा, ३१२ एटिएम, ९९ शाखारहित बैंकिङ सेवा, ७३ एक्स्टेन्सन काउन्टर, क्यूआर कोड सेवा, पोस सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्यूआर टेलर (विना चेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, परिष्कृत रूपको मोवाइल बैंकिङ (डिजिटल संसार) तथा विना इन्टरनेट चल्ने यूएसएसडी मोबाइल बैंकिङका सेवा समेत सञ्चालनमा ल्याएको छ ।