काठमाडौं । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाविरुद्ध मुद्दा दायर भएको छ । पर्साको वीरगञ्ज महानगरपालिका ७ का ६६ वर्षीय झाविरुद्ध ठगी, लिखित किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराध कसुरमा बुधवार जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका यसअघिका प्रतिवादीहरूलाई पनि यिनै कसुरमा मुद्दा दायर गरिएको थियो । यसअघि उक्त प्रकरणमा झा र परराष्ट्रमन्त्री आरजु राणा देउवालाई जोडेर समाचारहरू आएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पनि झा पक्राउ पर्नुपूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेतृत्व गरेको सरकार ढल्नुको एउटा प्रमुख कारण झाको गिरफ्तारी रहेको संकेत गरेका थिए । लामिछाने दाहालले नेतृत्व गरेको निवर्तमान सरकारमा उपप्रधान तथा गृहमन्त्री थिए ।
झालाई असार १४ गते पक्राउ गरेर प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । झाको साथबाट प्रहरीले भारतीय आधारकार्ड समेत बरामद गरेको थियो । झाले मन्त्रिपरिषद्बाट भुटानी शरणार्थीसम्बन्धी काम अघि बढाउने निर्णय गराउन भन्दै रामशरण केसीको हिमालयन बैंकबाट जारी भएको २ करोड रुपैयाँको चेक ग्यारेन्टीस्वरूप लिएको आरोप छ ।
उनले उक्त चेकबापतको रकम हरिभक्त महर्जनबाट लिएको आरोप छ । रामशरण केसीलाई पनि शरणार्थी बनाएर अमेरिका पठाइदिने भनी चेक लिएको श्यामकृष्ण श्रेष्ठले सनाखत गरेका छन् ।
चेक लिनुभन्दा अगाडि झा र रामशरण केसीको बीचमा भएको भनिएको अडिओ रेकर्डहरू पनि प्रहरीले परीक्षणका लागि पठाएको छ । झाले बयानका क्रममा आफूमाथि लागेका आरोप इन्कार गरेका छन् । झाले २ करोडको चेक लिँदाको भिडिओसमेत अदालतमा पेश गरिएको छ । यस्तै रामशरण केसीले झासँग कुरा गरेको भनिएको अडिओसमेत पेश गरेका छन् । उक्त भिडिओमा पनि झाले प्रयोग गर्ने मोबाइल नम्बर स्पष्ट देखिएको प्रहरीको दाबी छ ।
झाले २०७८ मङ्सिर ८ गते चेक लिएको भनिएको थियो । उक्त कुराको प्रमाण रामशरण केसीको मोबाइल फरेन्सिक ल्याबमा परीक्षण गर्दा पनि चेकको फोटो प्राप्त भएको प्रहरीले जानकारी दिएको छ ।
उनले उक्त चेक बुझेर कञ्चन श्रेष्ठलाई आफ्नो नाममा रहेको नेपाल इन्भेष्टमेण्ट बैंकको खातामा भुक्तानीका लागि २०२१ डिसेम्बर ९ मा पेश गरी उक्त चेक बाउन्स भएको देखिएको छ । बैंकले उक्त रिपोर्ट प्रहरीलाई साउन २८ गते बुझाएको छ ।
कञ्चन श्रेष्ठले कागज गर्दा पनि आफूले झाको चेक साटिदिन गएको र नसाटिएपछि उनलाई नै फिर्ता दिएको बताएका छन् । झाले टोपबहादुर रायमाझी, टेकनाथ रिजाल, इन्द्रजित राई, टेकनारायण पाण्डेसँग सम्पर्क र समन्वय गरेको पाइएको अभियोग छ । कञ्चन श्रेष्ठ झाकी श्रीमतीले सञ्चालन गरेको विभान्सु ब्रदर्स प्रालि नामक कम्पनीका कर्मचारी हुन् ।
यसअघिका प्रतिवादीहरू पक्राउ परेपछि झा भागेर भारत गएको प्रहरीले बताएको छ । झा समेतका प्रतिवादीले २८ करोड ८१ लाख ७४ हजार ५०० रुपैयाँ पीडितबाट ठगी गरेको आरोप छ ।
उनलाई राष्ट्रहित प्रतिकूल काम गरेको कसुरमा ५ वर्ष कैद र ५० हजार जरीवाना, ठगी कसुरमा ७ वर्ष कैद र ७० हजार रुपैयाँ जरीवाना, किर्ते कसुरमा ७ वर्ष कैद र ७० हजार जरीवाना, संगठित अपराध कसुरमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरीवाना माग दाबी गरिएको छ ।