काठमाडौं । अर्बौं लागतमा तयार भई सञ्चालनमा आएका अन्तरराष्ट्रिय विमानस्थलहरूमा व्यावसायिक उडान हुन नसकेपछि सरकारले यो असफलताका कारण पत्ता लगाउन र नयाँ रणनीतिको लागि सुझाव पेश गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ ।
दशकौंको पर्खाइपछि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र त्यसको ६ महीनापछि पुस १७ गते पोखरा अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन गरिएको थियो । त्यही बेला नै सरकारले यी विमानस्थलबाट अन्तरराष्ट्रिय उडान गर्ने एयरलाइन्सलाई विभिन्न शुल्कमा शतप्रतिशत छूट दिने घोषणा गरेको थियो । एक वर्षका लागि छूट सुविधा दिने घोषणा अहिले पनि जारी छ । तर, सुविधा घोषणा भए पनि सरकारले नयाँ अन्तरराष्ट्रिय विमानस्थलमा नियमित अन्तरराष्ट्रिय उडान आकर्षित गर्न सकेको छैन ।
त्यही असफलताको मूल्यांकन र नयाँ रणनीति बनाउन सरकारले उच्चस्तरीय समिति गठन गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक बाबुराम पौडेलको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गरेको हो ।
यसअघि प्राधिकरणले ती दुई विमानस्थलबाट उडान गर्ने एयरलाइन्सलाई अवतरण शुल्क, पार्किङ सेवा शुल्क, सञ्चार तथा उड्डयन सहायता शुल्क (ओभरफ्लाई) र सुरक्षा सेवा शुल्कमा शतप्रतिशत छूट दिने घोषणा गरेको थियो ।
यस्तै भूमिस्थ प्रबन्ध सेवा (ग्राउन्ड ह्यान्डलिङ) शुल्क पनि छूट दिने भनिएको छ । प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेले ती शुल्कहरू प्राधिकरणको अधीनमा रहेको हुँदा छूट दिइएको बताए । प्राधिकरणबाहेक अन्य निकायले पनि शुल्क उठाउने गरेको भन्दै प्राधिकरणले ती अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने भूमिस्थ सेवा शुल्कमा ५० प्रतिशत छूट दिनुपर्ने निर्णयसमेत गरेको बताए ।
‘यत्रो छूट दिँदा दिँदै पनि एयरलाइन्स कम्पनीको चासो देखिएन । यता त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमै जहाजको चाप बढ्यो,’ पाण्डेले भने, ‘एयरलाइन्सका लागि हजार १२ सय अमेरिकी डलर छूट दिने कुराले खासै महत्त्व राख्ने रहेनछ भन्ने अहिले प्राधिकरणको बुझाइ छ ।’ उनका अनुसार हवाई यात्रुको टिकटको रकमको गणना नै जटिल हुने गरेको छ । एउटै जहाजमा यात्रा गर्नेको टिकटको मूल्यमै आकाश जमीनको फरक पर्छ । ‘प्राधिकरणले दिने यस्ता छूट सुविधाले खासै फरक नपर्ने देखियो,’ उनले भने, ‘टिकटमै प्रशस्त कारोबार हुने भएकाले महँगो भए पनि त्रिभुवन विमानस्थलमै उडान/अवतरण गर्ने रणनीति एयरलाइन्स कम्पनीको देखियो ।’
छूट सुविधा दिँदासमेत अन्तरराष्ट्रिय एयरलाइन्स आकर्षित नभएपछि त्यसको समीक्षा तथा नयाँ रणनीति बनाउन अध्ययन गरिने
महँगो शुल्क तिर्न परे पनि काठमाडौं जहाज उतार्ने र उडान भर्ने रणनीति अन्तरराष्ट्रिय एयरलाइन्स कम्पनीहरूको भएको कारण अहिले प्राधिकरणले पनि नयाँ रणनीतिका विषयमा अध्ययन थालेको उनको भनाइ छ । ‘अहिले प्राधिकरणले दिएका छूट सुविधा र बजारको अध्ययन पनि
गरिनेछ,’ उनले भने, ‘त्यसका लागि मन्त्रालयले उच्चस्तरीय कमिटी बनाएको हो, उक्त कमिटीले स्थलगत रूपमा पोखरा र भैरहवाका सरोकारवालाहरूसँग भेटेर अन्तरक्रिया तथा छलफल गरेको छ भने सुझाव संकलन गरेको छ ।’
यो कमिटीले नेपालमा अन्तरराष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीका पदाधिकारीबीच पनि छलफल तथा सुझाव संकलन गरिसकेको छ । केही समयमै समितिले प्रतिवेदन बुझाउने भन्दै उनले यसपछि दुई विमानस्थलमा उडानका विषयमा थप काम हुने बताए । विमानस्थल उद्घाटनको बेलादेखि नै अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन गर्न र एयरलाइन्स कम्पनीहरूलाई आकर्षित गर्न पहिलो प्राथमिकताकै त्यस्ता कम्पनीको सञ्चालन लागत घटाउन मद्दत गर्ने रणनीति प्राधिकरणले लिएको थियो । ‘तर, यो रणनीतिले काम गरेन,’उनले भने ।