एकजना उद्योगीले बडो उत्साहित हुँदै मलाई सोधे, ‘पत्रकार महोदय ! बल्ल दुई ठूला दल मिलेर एउटै सरकार बनाए । अब त देशमा सबै क्षेत्रमा राम्रो हुने भो हैन त ?’ उनको आशय एक प्रकारले देशमा रामराज्य नै आउँछ हैन भन्ने थियो ।
मैले भनेँ, ‘रामराज्य मात्रै किन सामराज्य नै आउँछ नि । ठूला दलहरूका नेता कार्यकर्ता एकैचोटि सत्तामा नहुँदा खानपिनमा कम्ताको असमानता थियो त । अचेल हेर्नुस्, दुवैथरी हाँसी–खुशी छन् । ठूला दलहरूले सबैलाई समान गर्ने भएकाले अहिले यो सामराज्य हो नि त । भलै यसलाई हामराज्य भने पनि हुन्छ, खामराज्य भने पनि हुन्छ ।’ यो सुनेर उनी जिल्ल परे ।
मैले भन्दै गएँ, ‘पहिलेले जस्तो गर्थे, अहिलेकाले पनि त्यस्तै गर्ने हो । संविधान त्यै हो, कानून तिनै हुन्, सरकारका नीति तथा कार्यक्रम, बजेट त्यस्तै हुन्, कर्मचारी तिनै हुन्, जनता पनि तिनै हुन् । मन्त्री पनि कति त तिनै पुरानै छन् । कांग्रेस र एमालेबीच सत्ता समीकरणका लागि भएको ७ बुँदे सहमति अझै सार्वजनिक भएको छैन । के के न गर्छु भनेर चर्का चर्का कुरा गरेर सरकारमा गएको नयाँ भनिने दलले पनि झिँगा पनि मार्न सकेन । अनि यो नयाँ सरकारले के चैं नयाँ गर्ने हुन सक्छ र ?’
मैला व्याख्या शुरू गरेँ, ‘नवनियुक्त प्राय:जसो मन्त्रीहरूकोे हुलिया र उनीहरूको विगत हेर्नुस् त, अनि यसो अनुमान गर्नुुस्, तपाईंलाई के लाग्छ ?
अघिल्लो सरकार स–साना दलहरू मिलेर बनेको थियो । आकांक्षाहरू पनि साना साना नै थिए । अब ठूला दलहरूको चालामाला पनि ठूलै हुने भए । गफ पनि ठूला ठूलै हुने भए । आकांंक्षाहरू पनि ठूला हुने नै भए ।
अझ यसलाई डबल इन्जिनवाला सरकार पनि भन्छन् । डबल इन्जिनवाला भएपछि इन्धन पनि सोही अनुसार हाल्नुुपर्यो । इन्धन भनेपछि बुझ्नुभयो नि ? अब माथि केन्द्रदेखि तल स्थानीय तहसम्म सबै ठाउँमा लाभका पदहरूमा, ठेक्कापट्टाहरूमा दुई दलका मान्छेहरूलाई भागबण्डा गर्नुपर्ने हुन्छ । सिंहदरबारमा हेर्नुस् त बधाई दिनेको भिड । काम हेर्नुपर्ने बेला भिड हेर्न थालेपछि काम चैं कहिले गर्ने, कसले गर्ने ? यसो भएपछि धानको साटो धतुरो नफले के चैं फल्छ भन्या ?’
मेरो कुरा सुनेर उनी जिल्ल परे । मलाई अर्कै ग्रहबाट आएको एलियन जस्तो मानेर हेरिरहे, अर्थात् उनले अझै मेरो कुरा राम्रोसँग बुझेनछन् । मैले फेरि सविस्तार व्याख्या गर्नुपर्ने भो । मैले फेरि भन्न थालेँ–
नेताहरू देशको विकासको एजेण्डा बोकेर सरकारमा आउँछन् । तर कुर्सी पाउनासाथ एजेण्डाका विकासमा चैं लाग्न बाध्य हुन्छन् । पहिलो एजेण्डा त सरकारले खाने र ख्वाउने हुन्छ । त्यसका लागि खाने नयाँ नयाँ तरीकाहरू निकाल्नैपर्ने हुन्छ । त्यसैले अब सरकारले भ्रष्टाचारमा नयाँ आयाम स्थापित गर्नेछ । अहिलेको सरकारको नेतृत्वमा बस्नेहरू पछिल्लो सरकार हुँदा जुन जुन कुरामा बोनस कमिसन खान पाएका थिएनन्, त्यो यसपटक निकाल्नेछन् । अब विनाकमिसन तथा छूट कुनै सम्झौता वा खरीदविक्री हुनेछैनन् ।
जसरी मूल्य सूचक र मुद्रास्फीतिका बारेमा हरेक महीना राष्ट्र बैंकले जानकारी गराउँछ, त्यस्तैगरी कमिशनका दरहरू घटबढ भएको बारेमा पनि अब सर्वसाधारणलाई समयमै सूचित गरिन्छ । ‘बाँच र बाँच्न देऊ’ भनेजस्तै अब नयाँ सरकारको नयाँ नारा ‘खाऊ र खान देऊ’ हुनेछ । समृद्धि आफ्नै पालामा ल्याउने भन्ने भएपछि त अब सबैले खान पाउनुपर्यो, खान दिनु पनि पर्यो ।
कमिसनका दररेट के कस्तो हुनेछ र कमिशन क–कसकोमा बाँडिन्छ भन्ने बारेमा सुझाव पेश गर्न एउटा समिति वा आयोग बनाइनेछ । अब धेरै मन्त्रीको पहिलो निर्णय नै समिति बनाउने भन्ने छ । यस्तो समिति दुईथरी हुन्छन्– एउटा जनतालाई देखाउने, अर्को आफन्तलाई रिझाउने ।
तिनले सुझाव पनि फरक फरक दिन्छन् । जसरी मूल्य सूचक र मुद्रास्फीतिका बारेमा हरेक महीना राष्ट्र बैंकले जानकारी गराउँछ, त्यस्तैगरी कमिशनका दरहरू घटबढ भएको बारेमा पनि अब सर्वसाधारणलाई समयमै सूचित गरिन्छ । ‘बाँच र बाँच्न देऊ’ भनेजस्तै अब नयाँ सरकारको नयाँ नारा ‘खाऊ र खान देऊ’ हुनेछ । समृद्धि आफ्नै पालामा ल्याउने भन्ने भएपछि त अब सबैले खान पाउनुपर्यो, खान दिनु पनि पर्यो । जसले यसको विरोध गर्छ, त्यो देश विरोधी हुनेछ ।
नयाँ सरकारको एउटा नयाँ लक्ष्य अन्तरिक्षमा पनि एउटा बैंक खोल्ने हुनेछ । भ्रष्टाचार, जुन हाम्रो समाजको नयाँ शिष्टाचार बनिसकेको छ, यसको धनराशीलाई अब स्विस वा जर्मन बैंकमा जम्मा गर्ने जोखिम मोल्न सकिन्न । किनकि सिआइबी, अख्तियारले नगरे पनि कुनै पत्रकारले कुनै पनि बेला यी बैंकहरूमा गएर खातापाता वा लकर जाँच गर्न सक्छन् र सत्यतथ्य बाहिर ल्याउन सक्छन् ।
अर्को महत्त्वपूर्ण काम नयाँ सरकारको शिक्षा क्षेत्रमा हुनेछ । स्कुलहरूमा अब नयाँ किसिमका पाठ्यक्रम लागू गरेर उनीहरूमा नयाँ संस्कारले सुसज्जित गरिनेछ । विगतमा कलेज जानेहरूलाई सिकाएजस्तै अब विद्यार्थीहरूलाई सानैदेखि सिकाइनेछ कि विरोधीहरूका विरुद्धमा कसरी कसरी षड्यन्त्र रच्न सकिन्छ । कसरी नेता तथा कार्यकर्ताहरूलाई ब्ल्याकमेल गर्न सकिन्छ । नयाँ दलहरूलाई कसरी फसाउन सकिन्छ, चरित्र हत्याको राजनीति कसरी गरिन्छ ।
समानताको भाषण गर्दै व्यवहारमा जातीय विभेदलाई कसरी बढावा दिन सकिन्छ, नयाँ नयाँ काण्डहरू रच्दै कसरी उम्कँदै गर्न सकिन्छ, खुट्टा कसरी तान्न सकिन्छ, अफवाह कसरी फैलाउन सकिन्छ ? राजनीतिमा चप्पल पड्काउँदै कसरी कुन गल्लीबाट छिरेर नयाँ सडकमा पजेरो हुइँक्याउँदै सवार हुन सकिन्छ, सबै सिकाइन्छ । जब केटाकेटीलाई बच्चैदेखि यी कलाहरू सिकाइन्छ, तब उनीहरू ठूलो भएपछि हार खाँदैनन् । बरु भ्रष्टाचारमा आ–आफ्नौ शैलीमा अहिलेका नेताहरूभन्दा पनि चार कदम अघि बढेर देशको नाम सगरमाथाको उचाइमा पुर्याइरहन्छन् । स्मार्ट युवाले भ्रष्टाचार गर्ने स्मार्ट तरीका पनि सिक्नेछन् । केटाकेटीहरूलाई नैतिकता, इमानदारी, देशभक्ति, कर्तव्यनिष्ठा, भाइचारा जस्ता फाल्तु कुरा सिकाएर गुमराहमा पारिँदैन र उनीहरूको समय पनि बर्बाद पारिन्न ।
जनाताका आधारभूत आवश्यकताहरूबाट टाढा राख्न उनीहरूलाई अनेक ठूला ठूला सपना देखाउन भने छाडिँदैन । जब आफूले बोलेको समयमा काम हुँदैन, फेरि अरू कुनै काण्डको पर्दाफास गर्ने भन्दै मूल मुद्दाहरूलाई ओझेलमा पारिन्छ । अथवा अर्कोले स्टन्ट गर्यो भन्दै आफै अर्को स्टन्ट गरिन्छ । विरोधीलाई सिध्याउन विरोधी नै प्रयोग गरिन्छ ।
मेरो कुरा सुनेर वाक्क, दिक्क र छक्क परेका उद्योगीले मलाई भने, ‘तपाईंका कुरा अलि बढी नै नकारात्मक र निराशावादी भएनन् र ? नेपालमा नेताहरूका योगदानहरूलाई बिर्सन मिल्छ र भन्या ?’
मैले भने, ‘ठीक भन्नु भो । मैले त सामान्य मानिशहरूले भन्ने कुराहरू त्यत्तिकै दोहोर्याइदिएको मात्र पो । वास्तवमा नेताहरू त लक्ष्मीप्रसाद देवकोटाले कल्पना गरेको उद्देश्य के लिन उडी छुनु चन्द्र एक भनेजस्तै नेपालीहरूलाई चन्द्रमामा नै पुर्याउने अभियानमा छन् नि । चन्द्रमामा रोजगारी छैन, त्यहाँ पानी छैन, बत्ती छैन, पूर्वाधार छैनन्, खानेकुरा छैन । त्यस्तै, ती कुराहरू यहाँ पनि छैनन् । केही रहेछन् भने पनि ती कुराहरू यहाँ नरहने वातावरण बनाउनमा दत्तचित्त छन् नेताहरू । किनकि महान् नेताहरू नेपालीलाई चन्द्रमामा लानुको साटो देशलाई नै चन्द्रमाजस्तो बनाउने लक्ष्य लिएर दिनरात जो खटिरहेका छन् । कुरा बुझ्नु भयो नि ?’