काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्सको लिमिटेडले माघ २१ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट सर्वसाधारणका लागि आफ्नो जारी पूँजीको ३० प्रतिशत दरले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्कासन गर्न माघ ३ गते अनुमति पाएको हो ।
सर्वसाधारणमा जारी हुने कुल कित्ता शेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत शेयर निष्कासन गर्नुपर्ने व्यवस्थाबमोजिम कम्पनीले १ लाख ८० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सम्पूर्ण कित्ता शेयर बाँडफाँट भएमा कम्पनीले दोस्रो चरणमा ९० हजार कित्ता सामूहिक लगानीकोष र ५४ हजार कित्ता कम्पनीका कर्मचारीलाई बाँडफाँट गरी बाँकी १४ लाख ७६ हजार कित्ता भने सार्वजनिक निष्कासनमा ल्याउनेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूले फागुन ५ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् । आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले समयमै वित्तीय दायित्व भुक्तानी गर्ने सम्बन्धमा मध्यम स्तरको जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बि माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ ।
कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट आस्बा सेवा प्रदान गर्न अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइन समेत आवेदनका लागि प्रयोग गर्न सक्नेछन् ।
यो कम्पनी औषधि उत्पादन तथा वितरणसम्बन्धी कार्य गर्ने कम्पनी हो । स्थानीय स्रोत र साधनको उपयोग गर्ने गरी यो कम्पनी स्थापना भएको हो । एलोपेथिक तथा आयुर्वेदिक औषधिहरू उत्पादन तथा आयात गरी विक्री वितरण एवम् प्रवर्द्धन गर्ने कार्य यो कम्पनीले गर्दै आएको छ ।
२०८० सालको चैत महीनादेखि कम्पनीले उत्पादन शुरू गरी विक्री वितरण गर्दै आएको जानकारी दिएको छ ।
हाल कम्पनीमा संस्थापकतर्फ ४२ करोड रुपैयाँ चुक्तापूँजी कायम रहेको छ । सर्वसाधारणतर्फको सम्पूर्ण कित्ता शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ६० करोड रुपैयाँ कायम हुनेछ ।
गत आर्थिक वर्ष ०८०/८१ सम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ९० रुपैयाँ १७ पैसा रहेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी भने ३ रुपैयाँ ३० पैसा छ । कम्पनी हाल सञ्चित नोक्सानीमै रहेको देखिन्छ ।