काठमाडौं । सप्तकोशी डेभलपमेणन्ट बैंक लिमिटेडले पहिलो त्रैमाससम्ममा रू. १३ करोड ७ लाख नोक्सानीमा रहेको छ । कम्पनीले गत आवको पहिलो त्रैमाससम्ममा पनि रू. ११ करोड १ लाख नोक्सानीमा थियो ।
यसरी हेर्दा कम्पनीको नोक्सानी गत आवको तुलनामा चालू आवमा बढेको छ । चालू आवमा कम्पनीको इम्पेरिमेन्ट चार्ज बढेसँगै सञ्चालन नाफा रू. १३ करोड ७ लाख ऋणात्मक रहेकाले नोक्सानी बढेको हो ।
त्यसैगरी कम्पनीको खुद ब्याज आम्दानी पनि गत आवको तुलनामा चालू आवमा १३ दशमलव २८ प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू. ६ करोड ३२ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा घटेर रू. ५ करोड ४८ लाखमा सिमित भएको हो ।कम्पनीको चुक्तापूँजी रू. ८३ करोड ४३ लाख रहेको छ भने जगेडामा रू. ११ करोड १९ लाख सञ्चित गरेको छ ।
चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. ४ अर्ब २६ करोड निक्षेप संकलन गरेर रू. ४ अर्ब १८ करोड कर्जा लगानी गरेको हो । कम्पनी नोक्सानीमा रहेसँगै प्रतिशेयर आम्दानी रू. १५ दशमलव ६८ ऋणात्मक रहेको छ ।