काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म ६९ लाख ८१ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको यस अवधिसम्म ४ लाख ९५ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको कम्पनी यस वर्ष भने नाफामा गएको हो । अघिल्लो त्रैमाससम्म यो कम्पनी ३ करोड ९१ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा थियो ।
वित्तीय खर्च बढी हुँदा गत असार मसान्तसम्म कम्पनीको खुद नोक्सानी बढी भएको थियो । गत असार मसान्तसम्म कम्पनीले वित्तीय खर्च शीर्षकमा ६ करोड ८८ लाख रुपैयाँभन्दा बढी खर्चिएको थियो ।
यो वर्षको पहिलो त्रैमाससम्म भने कम्पनीको वित्तीय खर्च कम भएकाले खुद नाफामा सकारात्मक प्रभाव परेको हो । यस वर्ष कम्पनीले वित्तीय खर्च शीर्षकमा १ करोड ४३ लाख रुपैयाँभन्दा बढी मात्र खर्चिएको छ ।
विद्युत् विक्री आम्दानी पनि गत वर्षभन्दा यस वर्ष बढेको छ । गत वर्ष ३ करोड ३१ लाख रुपैयाँभन्दा बढी विद्युत् विक्री गरेको कम्पनीले यस वर्ष ३ करोड ४६ लाख रुपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ६४ करोड रुपैयाँ छ । जगेडा कोष रकम भने २९ करोड ८ लाख रुपैयाँभन्दा बढी ऋणात्मक देखिन्छ । अल्पकालीन कर्जा ५ करोड ४४ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको दीर्घकालीन कर्जा भने ५६ करोड १० लाख रुपैयाँभन्दा बढी छ ।
पहिलो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ६४ पैसा र प्रतिशेयर नेटवर्थ १० रुपैयाँ ४५ पैसा छ । कम्पनीका पूर्व कर्मचारीहरूले पारिश्रमिक भुक्तानीका सम्बन्धमा चित्त नबुझी कम्पनीविरुद्ध श्रम अदालत, काठमाडौंमा हालेको मुद्दाको फैसलाउपर कम्पनीलाई चित्त नबुझेपछि सर्वोच्च अदालतमा कम्पनीले मुद्दा हालेको उल्लेख गरेको छ ।
उक्त मुद्दा हाल विचाराधीन अवस्थामा रहेको कम्पनीको भनाइ छ । साथै आयोजनाको सिभिल निर्माण कार्यका ठेकेदारले डिजाइन नक्साअनुरूप कार्य नगरी कम्पनीलाई क्षति पुगेकाले सम्झौता अनुसार हर्जाना भराई पाउँ भनी पाटन उच्च अदालतमा मुद्दा दायर भएको समेत कम्पनीले जानकारी दिएको छ । उक्त मुद्दा पनि हाल विचाराधीन अवस्थामै रहेको कम्पनीको भनाइ छ ।