कोटेश्वरमा हुने ट्राफिक जाम कम गर्न सरकारले यहाँ फ्लाइओभर निर्माण गर्ने काम अघि बढाएको छ । यसका लागि उसले सहुलियत ऋण लिने निर्णय गरेको छ । निश्चय नै राजधानीमा बढ्दो जनसंख्याको चाप र बढ्दो ट्राफिकसँगै यहाँको यातायातलाई व्यवस्थित गर्न निकै चुनौती थपिएको छ । काठमाडौं उपत्यकामा सवारीसाधनको अत्यधिक वृद्धि भए पनि त्यसको दाँजोमा सडक निर्माण र विस्तार भने निकै कम भएको छ । भएका सडकको स्तरोन्नति पनि ज्यादै कम भएको छ । केही ठाउँमा सडक फराकिलो पार्ने काम त भएको छ तर चोक र जन्क्सनमा भने समस्या यथावत् छ । यो समस्या कम गर्न अन्डरपास वा इन्टरसेक्शन अर्थात् फ्लाइओभर आवश्यक देखिन थालेको छ । तर, फ्लाइओभर महँगो पर्ने भएकाले अन्य विकल्प पनि खोजिनु आवश्यक छ । अन्य कुनै विकल्प छन् भने तिनलाई प्राथमिकता दिँदा बढी लाभदायी हुन्छ ।
बस्तीको विकास र ट्राफिक जामलाई ख्याल गर्ने हो भने कोटेश्वरलगायत केही प्रमुख चोकमा फ्लाइओभर निर्माण गर्न ढिला भइसकेको छ । कोटेश्वरमा फ्लाइओभरका लागि ऋण लिन तयारी थाल्नुअघि सरकारले सम्भावित विकल्पहरू खोज्यो वा खोजेन भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ । भक्तपुरबाट काठमाडौं आउने सबै सवारीसाधनलाई कोटेश्वरका साथै अन्य स्थानबाट आवतजावत गर्न सक्ने व्यवस्था मिलाउन सक्ने अवस्था थियो वा थिएन ? थियो र छ भने त्यस्ता विकल्प बढी फलदायी हुन्छन् । यद्यपि त्रिभुवन विमानस्थलले ठूलो क्षेत्र ओगटेकाले काठमाडौंको मुख्य केन्द्रमा आउन अहिले कोटेश्वरको विकल्प देखिएको छैन । यहाँको ट्राफिक जाम गर्न सडक बिस्तार गरिएको छ । लेन थपेपछि विगतको दाँजोमा समस्या केही घटेको छ तर यो स्थायी समाधान हुने भने देखिँदैन । त्यसैले यहाँ फ्लाइओभर बनाउने भनी अघिल्ला सरकारहरूले समेत बजेट कार्यक्रम समावेश गरेका थिए । फ्लाइओभरको विकल्प त्यति भरपर्दो नदेखिएकाले यसको निर्माण गरिनु ठीकै हो । यहाँनेर चिन्ताको विषय के छ भने यसको निर्माण अवधिभर सर्वसाधारण र सवारीचालकले जामको समस्या निकै खप्नुपर्ने हुन्छ । अहिले ग्वार्कोमा निर्माणाधीन इन्टरसेक्शनका लागि त्यहाँ घण्टौं जाम हुने गरेको छ । काम निकै सुस्त गतिमा भइरहेकाले यो समस्या कहिलेसम्म भोग्नुपर्ने हो थाहा छैन । कोटेश्वरमा पनि यस्तै समस्या आउन सक्छ । त्यसैले सर्वसाधारणको आवतजावत प्रभावित नहुने गरी यसको निर्माण कार्य गरिनुपर्छ, वर्षौंसम्म काममा ढिला गर्नु हुँदैन । सुस्ती हुने समस्या यहाँ पनि कायम रहने हो भने सर्वसाधारणले दु:ख पाउँछन् ।
अन्य देशमा यस्तो सञ्चालनमा रहेका स्थानमा थप निर्माण कार्य गर्दा धेरै पक्षमा ध्यान दिइएको हुन्छ । आवागमन नरोकियोस् भनेर रातको समयमा काम गर्ने, एकातिर काम सकेर मात्रै अर्कातिर काम थाल्ने आदि गरेर सर्वसाधारणलाई असर कम पर्नेगरी काम गरिन्छ । त्यस्तै निर्माण सामग्रीको प्रयोगमा पनि ध्यान दिइन्छ । अन्यत्र नै तयार पारिएको सिमेन्ट, रड आदि ल्याएर प्रयोग गरिन्छ । त्यस्तै अन्यत्र नै ठूलाठूला स्ल्याबहरू बनाएर ल्याइन्छ र निर्माण क्षेत्रमा फिटिङमात्रै गरिन्छ । नेपालमा पनि त्यस्तै गर्न सम्भव छ । विगतको दाँजोमा अहिले यस्ता नवीन प्रविधिको प्रयोग बढ्दो छ । तर, समयमा काम सम्पन्न नगर्ने प्रवृत्तिका कारण यस्तो प्रविधिलाई उच्च प्राथमिकता दिएको भने पाइन्न । त्यसैले छिटोभन्दा छिटो निर्माण गर्नेगरी ठेक्का सम्झौता हुनुपर्छ । कतिपय देशमा पूर्वाधार निर्माणका ठेक्कामा प्रतिस्पर्धा गराउँदा मूल्यमा होइन, निर्माण अवधिमा प्रतिस्पर्धा गराइन्छ । अर्थात् जसले कम रकममा ठेक्का हालेको छ त्यसलाई ठेक्का दिने होइन, जसले सबैभन्दा चाँडो आयोजना सक्ने कबोल्छ त्यसैलाई ठेक्का दिइन्छ । ठेक्काका लागि इन्जिनीयरहरूले बजारको मूल्य हेरेर कति लाग्छ भनेर लागत अनुमान गरेका हुन्छन् । त्यसमा ज्यादै अन्तर हुँदैन । त्यसैले ज्यादै कम मूल्यमा काम गर्छु भन्छ भने कि त्यसले गुणस्तर बिगार्छ कि समयमा काम सम्पन्न गर्दैन । त्यसैले यो अभ्यासमाथि समेत पुनर्विचार आवश्यक देखिन्छ ।