काठमाडौं । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरिसकेको पियोर इनर्जी लिमिटेडले चैत २८ गते आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ ।
आम सर्वसाधारणका लागि कम्पनीले ११ लाख ९५ हजार २०० कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । कम्पनीले पहिलो चरणको आईपीओ फागुन २० गतेदेखि चैत ५ गतेसम्म निष्कासन गरी चैत १५ गते बाँडफाँट गरेको थियो । कम्पनीले १ लाख ६० हजार कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्र बाँके जिल्लाका अयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि र१ लाख ४४ हजार कित्ता आईपीओ वैदेशिक रोजगार गरी रहेका नेपालीहरूका लागि बाँडफाँट गरेको हो । यी बाहेक पनि कम्पनीले कर्मचारीहरूका लागि २८ हजार ८०० कित्ता र सामूहिक लगानीकोषका लागि ७२ हजार कित्ता आईपीओ समेत बाँडफाँट गरिसकेको छ ।
प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीले सर्वसाधारणका लागि ९५ हजार २०० कित्ता शेयर निष्कासनमा ल्याउन लागेको हो । आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । सार्वजनिक निष्कासन छिटोमा २०८२ बैशाख २ गतेसम्म रहने र सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा वैशाख ११ गतेसम्म निष्कासन लम्बिने जानकारी कम्पनीले दिएको छ ।
आईपीओमा परेको पछिल्लो तथ्याङ्कलाई हेर्दा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएकाले यस कम्पनीको आईपीओ छिटो अवधि वैशाख २ गतेसम्म मात्र विक्रीमा रहने निश्चित छ ।
कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताहरूले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइन समेत आवेदनका लागि प्रयोग गर्न सक्नेछन् ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीको परिचय
पियोर इनर्जी कम्पनी सौर्य ऊर्जा उत्पादक कम्पनी हो । पियोर इनर्जी प्राइभेट लिमिटेडको नामबाट २०७५ असार ५ गते दर्ता भएको यो कम्पनी २०७९ असार ३० गते पब्लिक लिमिटेड कम्पनीको रूपमा परिणत भएको थियो । यस कम्पनीमा ८ जना संस्थापक शेयरधनीहरू छन् ।
यस कम्पनीले दुई सौर्य विद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको छ । १० मेगावाट क्षमताको सौर्य पि.भि विद्युत आयोजना ब्लक–१ बाट २०८० पुस ११ गतेदेखि र १० मेगावाट सौर्य पि.भि विद्युत आयोजना ब्लक –२ बाट २०८० साल वैशाख १८ गतेबाट व्यापारिक उत्पादन शुरू गरिएको हो । यस कम्पनीले निर्माण गरेका सौर्य विद्युत आयोजना उत्पादन केन्द्र बाँके जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर ८ मा रहेको छ । कम्पनीको रजिष्टर्ड कार्यालय भने सोल्टीमोड, काठमाडौंमा रहेको छ ।
पूँजी संरचना
८० करोड रुपैयाँ अधिकृत पूँजी रहेको कम्पनीको जारी पूँजी पनि ८० करोड रुपैयाँ नै रहेको छ । हाल कम्पनीको चुक्तापूँजी ६४ करोड रुपैयाँ रहेको छ । आईपीओ निष्कासन तथा बाँडफाँडपछि कम्पनीको चुक्तापूँजी ८० करोड रुपैयाँ कायम हुनेछ । सोपश्चात् कम्पनीमा संस्थापकतर्फ ८० प्रतिशत र सर्वसाधारणतर्फ २० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ । आईपीओबाट प्राप्त पूँजी कम्पनीले बैंकबाट लिएको कर्जा तथा धरौटी र दायित्व भुक्तानीमा प्रयोग गरिने बताएको छ ।
वित्तीय अवस्था
यो कम्पनी हाल सञ्चित नोक्सानीमै रहेको छ । अघिल्ला तीन आर्थिक वर्षको वास्तविक वित्तीय विवरणलाई हेर्दा आर्थिक वर्ष ०७८/७९ मा १९ लाख ६ हजार रुपैयाँ, ०७९/८० मा ४१ लाख ३७ हजार रुपैयाँ र ०८०/८१ मा २ करोड २६ लाख ९४ हजार रुपैयाँभन्दा बढी कम्पनी सञ्चित नोक्सानीमा रहेको देखिन्छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने कम्पनी २ करोड ३ लाख रुपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । चालू आर्थिक वर्षभित्र सञ्चित नोक्सानी सुधारेर १ करोड १४ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण कम्पनीको छ । पछिल्लो वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ ९६ रुपैयाँ ४५ पैसा छ भने २ रुपैयाँ ७५ पैसा प्रतिशेयर नोक्सानीमा छ ।
सञ्चालक समिति
यस कम्पनीमा पाँच सदस्यीय सञ्चालक समिति रहेको छ । अक्षय गोल्याण अध्यक्ष रहेको कम्पनीको सञ्चालकहरूमा भने सुरभी गोल्याण, शक्ति कुमार गोल्याण, निशान्त गोयल र मयंक रोहिल्ला छन् । सञ्चालकहरूमध्ये निशान्त गोयल र मयंक रोहिल्ला भने भारतीय नागरिक हुन् । यी दुवै नागरिक रेनेर्गो डेभलपर्स प्रालिका प्रतिनिधि हुन् ।
कम्पनीका सञ्चालक समिति अध्यक्ष गोल्यानसँग कम्पनीको ६४ दशमलव शून्य ५ प्रतिशत शेयर स्वामित्व कायम छ । उनी ३६ वर्षका हुन् भने एमबिए गरेका छन् । कम्पनीको स्थापना कालदेखि नै गोल्याणले यस कम्पनीमा अध्यक्षको जिम्मेवारी पूरा गर्दै आएका छन् ।
दोस्रो बजारमा पहिलो कारोबारका लागि पाउने खुला मूल्य कति ?
यो कम्पनीले प्राथमिक बजारमा लगानीकर्ताहरूका लागि प्रतिकित्ता १०० रुपैयाँमा आईपीओ जारी गरी त्यसको कारोबारका लागि धितोपत्र दोस्रो बजारमा सूचीकृत गराउनेछ । कम्पनीको आईपीओ दोस्रो बजारमा कारोबारयोग्य भएपछिको मूल्य भने धितोपत्र दोस्रो बजार सञ्चालकले निर्धारण गर्नेछ ।
हाल नेपालमा सञ्चालनमा रहेको एकमात्र धितोपत्र दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा पहिलो कारोबार मूल्य तोक्ने गरेको छ । हालको व्यवस्था बमोजिम कुनै पनि कम्पनीको आईपीओ सूचीकृतपछि कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि त्यसको तीन गुणासम्मको मूल्यरेञ्ज पहिलो कारोबारका लागि तोक्ने गरिन्छ ।
यस कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ ९६ रुपैयाँ ४५ पैसा रहेको छ । यस आधारमा दोस्रो बजारमा सूचीकृतपछि कम्पनीको पहिलो कारोबार मूल्य न्यूनतम प्रतिकित्ता ९६ रुपैयाँ ४५ पैसादेखि अधिकतम २८९ रुपैयाँ ३५ पैसासम्म तोकिनेछ । पहिलो कारोबारपछिको मूल्य भने बजारमा लगानीकर्ताको माग र आपूर्तिका आधारमा निर्धारण हुनेछ ।