काठमाण्डौ । प्लाष्ट नेपाल फाउण्डेसनको आयोजनमा यही मंसिर १३ गतेदेखि १५ गतेसम्म राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा चौथो अन्तरराष्ट्रियस्तरको प्लास्टिक प्रदर्शनी हुने भएको छ ।
प्रदर्शनीमा नेपालमा उत्पादित विभिन्न प्लास्टिकजन्य वस्तुहरूका उत्पादकहरू साथै प्लास्टिक उत्पादनमा प्रयोग हुने कच्चा पदार्थहरू, उत्पादनमा प्रयोग गरिने विभिन्न मेसिन–औजार–उपकरणहरू लगायत नवीनतम प्रविधि समेतको प्रदर्शनी गरिने कार्यक्रम रहेको प्लाष्ट नेपाल फाउण्डेसनका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।
यस मेलामा नेपाल, भारत, बंगलादेश, चीन लगायतका विभिन्न उत्पादक, कच्चा पदार्थ आपूर्तिकर्ता र मेसिन उपकरण आपूर्तिकर्ता, सेवा प्रदायकहरूको सहभागिता हुनेछ ।
यस मेलाले नेपालमा प्लाष्टिकजन्य वस्तुको उत्पादन र उपयोग तथा उपयोगपछिको व्यवस्थापनका विषयमा प्रचारप्रसार गरि जनचेतना जगाउने तथा विश्व बजारमा गरिएका नवीनतम प्रविधिको विकासलाई नेपाली बजारमा समेत भित्र्याउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
नेपालमा सञ्चालित प्लास्टिकजन्य उद्योग र यससँग सम्बन्धित उद्यमी व्यवसायीहरूको प्रयासमा गैरनाफामूलक संस्थाको रूपमा २०७० मा स्थापित संस्थाले प्लास्टिकको बहुआयामिक उपयोगमा भैरहेको विश्वव्यापी विस्तारबाट नेपालसमेत लाभान्वित भैरहेको सन्दर्भमा यो मेला आयोजना गर्न लागेको जनाएको छ ।