काठमाडौं पोडवे कम्पनीले नयाँ खालको सार्वजनिक यातायात सेवा नेपालमा ल्याउन खोजेको छ । मुख्य शहरी क्षेत्रमा स्थल यातायात भीडभाडपूर्ण भएको सन्दर्भमा पोडवे प्रविधिमार्फत जमीन माथिबाट सार्वजनिक यातायात सेवा छिटो र छरितो बनाउन सकिने कम्पनीको विश्वास छ । आर्थिक अभियान सँगको कुराकानीमा कम्पनीका निर्देशक डा. शम्भु चौधरी ले यो प्रविधि, नेपालमा यसको उपयोगिता र यो प्रविधि भित्त्याउन गरिएका प्रयासबारे बताएका छन् ।
काठमाडौं पोडवे कसरी सञ्चालन हुनेछ ? पोडवे कस्तो प्रविधि हो ?
पोडवे प्रणाली बेलारुसमा ४० वर्षसम्म गरिएको अनुसन्धानको परिणाम हो । हाल एउटा पोडवे प्रणाली युनाइडेड अरब इमिरेट्सको दुबईमा सञ्चालनमा छ । यो व्यापक रूपमा परीक्षण गरिएको र प्रमाणीकरण गरिएको प्रणाली हो । यसले यात्रु र सामान दुवैका लागि सुरक्षित यातायात सेवा प्रदान गर्छ । नेपालमा भरपर्दो सार्वजनिक यातायातको आवश्यकतालाई ध्यानमा राख्दै पोडवे नेपाल शहरी क्षेत्रमा यातायात सेवा दिन चाहन्छ । यसका लागि कम्पनी प्रतिबद्ध छ । आर्थिक विकासका लागि भरपर्दो सार्वजनिक यातायात आवश्यक छ । वैज्ञानिक तरीकाले डिजाइन गरिएको यो यातायात प्रणाली नेपालमा देशभरि विस्तार गर्नु हाम्रो लक्ष्य हो ।
नेपालमा पोडवे सेवा शुरुआत र विस्तार गर्न काठमाडौं पोडवेले के कस्तो रणनीति लिएको छ ?
हामी अहिले यो सेवा लुम्बिनी र काठमाडौं उपत्यकामा लागू गर्ने रणनीतिमा छौं । साथै कर्णालीमा पनि सेवा विस्तारका लागि सम्भाव्यता अध्ययन गरेका छौं । प्रारम्भिक चरणमा हामीले काठमाडौंको गौशालादेखि चाबहिलसम्म भीडभाड भएको क्षेत्रलाई लक्षित गरी विकास र सञ्चालन गर्ने लक्ष्य राखेका छौं । हामीले काठमाडौं उपत्यकाको नदी कोरिडोरमा सम्भावित पोडवे मार्गको विस्तार गर्न सकिने देखेका छौं । धुलिखेलदेखि नागढुंगासम्मका रुट हाम्रो योजनामा समावेश छन् ।
देशको कानूनले यसलाई यातायातको वैध माध्यमको रूपमा मान्यता दिएको छ । तर कार्यान्वयनमा लैजान के कस्ता कुराले बाधा पुर्याएका छन् ?
हामी सही दिशामा अघि बढ्दै छौं । नेपालको कानूनले पोडवेलाई यातायातको वैध माध्यमको रूपमा मान्यता दिनु हाम्रा लागि महत्त्वपूर्ण कदम हो । यो परियोजना अगाडि बढाउन हामी भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयसँग सक्रिय रूपमा छलफलमा छौं । साथै, हामीले काठमाडौं महानगरपालिका र अन्य स्थानीय सरकारहरूसँग छलफल गरेका छौं । यी प्रयास जारी रहँदा हाम्रो यो परियोजना शीघ्र कार्यान्वयन हुनेमा विश्वस्त छौं ।
तपाईंको कम्पनीको वेबसाइटमा युनिकार, युनिबस, युनिफ्लास र युनिकोन्ट यातायात सेवा उल्लेख छन् । यीमध्ये कुन सेवा पहिले शुरू गर्न चाहनुहुन्छ ?
हामीसँग कुनै पनि प्रणाली लागू गर्ने क्षमता छ । तर छनोट अन्तत: सरकारको आवश्यकता र प्राथमिकतामा निर्भर गर्दछ । काठमाडौं जस्ता शहरी केन्द्रका लागि युनिबस सबैभन्दा उपयुक्त विकल्प सावित हुन सक्छ । यद्यपि अन्तिम निर्णय गर्ने अधिकार त सरकारसँगै छ ।
पोडवे नेपाल सेवा आपूर्तिकर्ता कम्पनी वा सेवा प्रदायक हो ?
हामी मुख्यत: प्रविधि आपूर्तिकर्ता कम्पनी हौं । तर आवश्यक परेमा सार्वजनिक–निजी साझेदारी (पिपिपि) मोडलअन्तर्गत सेवा सञ्चालन गर्न पनि सक्छौं । हाम्रो क्षमता अध्ययन गर्ने, डिजाइन तयार गर्ने, निर्माण र प्रणालीको सञ्चालन गर्नेसम्मको छ । संक्षेपमा, हामी यो यातायात सेवाका सबैखाले समाधान दिन सक्छौं । हाम्रा प्रवद्र्धकहरू इन्जिनियरिङ, औषधि, व्यापारलगायत विविध पृष्ठभूमिबाट आएका छन् । सक्षम, योग्य प्रवद्र्धक र कर्मचारीका कारण हामी यो सेवासँग सम्बन्धित परियोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्षम छौं ।
पोडवे नेपालले हासिल गर्न खोजेका अल्पकालीन तथा दीर्घकालीन लक्ष्य र उद्देश्य के हुन् ?
हाम्रो प्राथमिक उद्देश्य अपर्याप्त सार्वजनिक यातायातका कारण मानिसले सामना गरिरहेका वर्तमान चुनौतीलाई सम्बोधन गर्दै यातायात व्यवस्थापनको उच्चतम समाधान प्रदान गर्नु हो । पोड वे सेवाबाट निजी सवारीसाधनको बढ्दो आयात र तिनले खपत गर्ने पेट्रोलियम पदार्थको आयातबाट हुने उच्च व्यापार घाटा पनि कम हुनेछ । हाम्रो दीर्घकालीन लक्ष्य यहाँको सार्वजनिक यातायातलाई यूरोपेली सार्वजनिक यातायातको स्तरमा विकास गर्न सघाउनु हो ।
कम्पनीले काठमाडौंको विद्यमान यातायात पूर्वाधारसँग आफ्नो सेवालाई कसरी एकीकरण गर्नेछ ?
हाम्रो देशमा सार्वजनिक बसले हाल सार्वजनिक यातायातको प्राथमिक सेवा प्रदायकको रूपमा काम गर्छन् । पोडवे नेपालले यातायातका सबैखाले सेवाका लागि समयतालिका, मार्ग, योजना र समन्वयलाई एकीकृत गर्ने रणनीति लिएको छ । जस्तै, दुबई शहरमा मेट्रो, बस र ट्रामहरू एक एकीकृत यातायात सेवाको अवधारणाअन्तर्गत निर्बाध सञ्चालन हुन्छन् । हामी नेपालमा पनि यस्तै अवधारणा लागू गर्न चाहन्छौं ।
पोडवे प्रणाली कत्तिको सुरक्षित छ ?
पोडवे प्रणाली पूर्ण रूपमा सुरक्षित रहेको प्रमाणित छ । ठाउँ हेरेर अतिरिक्त सुरक्षाका विशेषता थप्न सकिन्छ । प्रत्येक पोडमा एक उद्धार प्रणाली हुन्छ । चल्दै गरेको जेनेरेटर बिग्रेमा तुरुन्त सेवा सञ्चालन गर्न दुई अतिरिक्त जेनरेटर सँगै जोडिएका हुन्छन् । यसबाहेक सेवाको विश्वसनीयता र सुरक्षा सुनिश्चित गर्न सेवाको कसिला परीक्षण गरिएका छन् ।
नयाँ यातायात सेवा शुरू गर्न लाग्दा आइपर्ने नियामकीय अवरोध वा जनमानसमा स्वीकार्यता जस्ता चुनौतीलाई कसरी सामना गर्नुहुन्छ ?
लगानीकर्ता र सेवा प्रदायकले सरकारले राजनीतिक तथा नियामकीय जोखिम वहन गरोस् भन्ने अपेक्षा गर्नु स्वाभाविक हो । हाल उपलब्ध यातायातका सेवामा रहेका समस्याका कारण मानिशहरू पोडवे जस्तो सुरक्षित र आरामदायी यातायात प्रणाली सञ्चालनबाट उत्साहित हुने हाम्रो आकलन छ । त्यसैले सरकारले पोडवे सेवा यथाशीघ्र सञ्चालनमा ल्याउन सहजीकरण गर्नुपर्छ ।
पोडवे प्रणालीले वातावरणीय दिगोपनमा र कार्बन उत्सर्जनमा कस्तो प्रभाव पार्छ ?
पोडवे पूर्ण रूपमा विद्युतीबाट सञ्चालन हुन्छ, जसले गर्दा कार्बन उत्सर्जन नहुने भएकाले वातावरणीय रूपमा लाभदायी छ । विद्युत् शक्तिबाट चल्ने हुनाले यसको सेवा विस्तारले पेट्रोलियम पदार्थको आयात घटाउन सकिन्छ ।
पोडवे सेवालाई सीमान्तकृत समुदायसहित सबै तह र तप्का जनताका लागि कसरी पहुँचयोग्य बन्न सक्छ ?
सार्वजनिक यातायात परम्परागत रूपमा तल्लो तहका जनतामा सेवा पुर्याउनेसँग सम्बन्धित छ । हामी आफ्नो सेवामार्फत ‘सार्वजनिक यातायात सबैका लागि’ भन्ने अवधारणा कार्यान्वयन गर्न चाहन्छौं । यस्तो लक्ष्य हासिल गर्न हामी सीमान्तकृत समुदायका लागि अनुदान प्रस्ताव गर्ने योजना बनाएका छौं, जसकारण हाम्रो सेवामा समावेशीकरण होस् र यसको पहुँच विस्तार गर्न सकियोस् । हाम्रो दृष्टिकोण विकसित देशमा अपनाइएका सेवाको मोडेल अनुकरण गर्ने हो । ती देशमा सार्वजनिक यातायात सबैका लागि पहुँचयोग्य छ ।
पोडवे नेपालले काठमाडौं र काठमाडौंबाहिर आर्थिक विकास तथा रोजगारी सृजनामा सघाउने कस्तो योजना बनाएको छ ?
यो प्रणालीको उपयोग बढ्दै जाँदा रोजगारी सृजना हुने, सडक दुर्घटना कम हुने, प्रदूषण घट्ने र आयातित सवारीसाधन तथा पेट्रोलियम पदार्थमाथिको निर्भरता कम हुनेछ । महत्त्वपूर्ण के हो भने पोडवे सेवाको विस्तारबाट यात्रुको यात्रामा लाग्ने समय घट्नेछ भने सडकमा हुने भीड कम हुनेछ । यसबाट आर्थिक तथा सामाजिक गतिविधि विस्तारमा पनि सघाउ पुग्नेछ ।
पोडवे प्रविधिलाई थप परिष्कृत र प्रयोगकर्तामैत्री बनाउन के कस्तो अनुसन्धान तथा विकासका पहल भएका छन् ?
युनाइटेड अरब इमिरेट्सको शारजाह रिसर्च सेन्टरमा हाल पोडवे प्रविधिलाई थप परिष्कृत गर्न र यसको सेवाको प्रभावकारिता बढाउन महत्त्वपूर्ण अनुसन्धान भइरहेको छ । यो प्रविधिको प्रभावकारिता पहिले नै प्रमाणित भइसकेको छ । तर पनि यो प्रविधिलाई थप परिष्कृत गर्न निरन्तर अनुसन्धानको खाँचो छ । हामीले हाम्रो सेवा स्थानीय जनताको आवश्यकता र भौगोलिक अवस्थिति सुहाउँदो होस् भनेर काठमाडौं उपत्यका र कर्णाली प्रदेशमा अध्ययन पनि गरेका छौं ।
आफ्नो सेवा शहरी योजना र विकास पहलसँग निर्बाध एकीकरण सुनिश्चित गर्न सरकारी निकाय, शहरी योजनाकार र अन्य सरोकारवालासँग कस्तो सहकार्य गर्नुहुन्छ ?
हाम्रा प्रयास सफल बनाउन सरकारी समर्थनको महत्त्वपूर्ण भूमिका रहन्छ । त्यसैले हामी यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय, प्रदेश सरकार, स्थानीय सरकारलगायत प्रमुख सरोकारवालासँग निरन्तर छलफल जारी राख्छौं । हाम्रो परियोजनाको सफलताका लागि विशेषज्ञको मार्गदर्शन पनि महत्त्वपूर्ण रहनेछ ।