काठमाडौं । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ निष्कासनका लागि विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
यी दुवै कम्पनीबीच आज (सोमवार) यससम्बन्धी सम्झौता भएको हो । प्रभु केवलकारको आईपीओ निष्कासनका लागि विक्री प्रबन्धक नियुक्तिसम्बन्धी उक्त सम्झौतापत्रमा प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष भोज कुमार खड्का र कुमारी क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।
यससँगै प्रभु केवलकारको रू. ३० करोड बराबरको आईपीओ निष्कासन प्रक्रिया अगाडि बढेको छ ।
प्रभु ग्रुप्स एण्ड कम्पनीज अन्र्तगतका प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेड, प्रभु होल्डिङ्गस् एण्ड हाईड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड, हाईड्रो होल्डिङ्गस् एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेड, प्रभु स्टिल्स एण्ड हाईड्रो ईक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेड गरी ४ वटा कम्पनीको मुख्य लगानीमा प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड स्थापना भएको हो ।
प्रभु केवलकारको लगानीमा तीनवटा केवलकार परियोजनाहरू अगाडि बढेका छन्, जसमध्ये बुटवलमा भगवान गौतम बुद्धको कुलगुरु ऋषि कालदेवलको आश्रम र नुवाकोट गढी पाल्पा जाने सिद्धार्थ केवलकार परियोजना गत असोजबाट व्यावसायिकरूपमा सञ्चालनमा आइसकेको छ । उक्त केवलकारबाट छोटो समयमा नै ७५ भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले यात्रा गरिसकेका छन् ।
प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड सिद्धार्थ केवलकार कम्पनीको मुख्य लगानीकर्ता हो । यो केवलकार बुटवलस्थित फुलबारी पार्क रहेको देउराली डाँडादेखि पाल्पाको नुवाकोटमा पुग्छ । जहाँ राजा मणिमुकुन्द सेनको दरबार, सांस्कृतिक डबली, कामना भैरवको मन्दिर, कर्णेल उजीर सिंहको शालिक लगायत विभिन्न पुरातात्विक सम्पदासमेत छन्।
बाजुरा जिल्लाको बडीमालिका मन्दिर र चितवनको ईच्छाकामना मन्दिरमा केवलकार बनाइ सञ्चालन गर्ने कम्पनीको तयारी रहेको छ । यस कम्पनीले जलविद्युत, कृषि, पर्यटन, विभिन्न उत्पादनमुलक उद्योग र साहासिक पर्यटनमा समेत लगानी गर्दै दोस्रो बजारमा राम्रो उपस्थिति जनाएको छ ।
यस कम्पनीले चालु आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिकमा रू. ५ करोडभन्दा बढी मुनाफा आर्जन गरेको छ ।