काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले असोज २३ गते सातौँ वार्षिक साधारण सभा बोलाएको छ । भदौ २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । कम्पनीले नेप्सेमार्फत जारी गरेको सूचनामा कहाँ र कति बजे सभा गर्ने बारे जानकारी दिइएको छैन् । सभाले प्रस्तावित लाभांशसँगै ७ प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्नेछ ।
अघिल्लो आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा १७ प्रतिशत हकप्रद शेयर निष्कासनको तयारीमा रहेको कम्पनीले १० प्रतिशत बोनस शेयरपछि कायम चुक्तापूँजी ४ अर्ब ७२ करोड ५६ लाख रुपैयाँको आधारमा ७ प्रतिशत मात्र हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको छ ।
नेपाल धितोपत्र बोर्डबाट हालसम्म पनि कम्पनीको १७ प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव स्वीकृत नभएको अवस्थामा हकप्रद शेयर निष्कासन गर्ने निर्णय पुनरावलोकन गर्ने निर्णय कम्पनीले गरेको हो । जीवन बीमा कम्पनीले ५ अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्नपर्ने व्यवस्था बमोजिम कम्पनीले बोनस र हकप्रद शेयरको सहारा लिन लागेको हो । हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि ५ अर्ब ५ करोड ६३ लाख ९२ हजार रुपैयाँ कायम हुनेछ । सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
लाभांश र हकप्रद शेयर निष्कासनको प्रस्तावसँगै सभाले अघिल्लो आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै गत आर्थिक वर्ष ०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । कम्पनीले बुक क्लोजको मिति पनि तय गर्न बाँकी रहेको छ ।