काठमाडौं । डा. यादवप्रसाद पन्त पत्रकारिता पुरस्कारबाट न्यू बिजनेश एज तथा आर्थिक अभियान दैनिकका प्रधानसम्पादक मदन लम्साल सम्मानित भएका छन् ।
डा. यादवप्रसाद पन्त अनुसन्धान तथा विकास प्रतिष्ठानले आइतवार एक विशेष समारोहमा आर्थिक क्षेत्रमा अतुलतीय योगदान गरेको भन्दै लम्साललाई कदरपत्रले सम्मान गरेको हो ।
नेपालको आर्थिक र व्यावसायिक पत्रकारिताको क्षेत्रमा ३ दशकदेखि निरन्तर सक्रिय लम्सालले छापा र अनलाइन मिडियामार्फत आर्थिक जगत्का महत्त्वपूर्ण विषयमा कलम चलाउँदै आएका छन् ।
सम्मान ग्रहण गर्दै लम्सालले आफूले गरिरहेको कामलाई प्रतिष्ठानले मूल्यांकन गरी दिएको सम्मानबाट थप जिम्मेवारी बढेको बताए ।
सोही अवसरमा रमादेवी पन्त सामाजिक सम्मान गृह श्रमिक महिला ढाका उद्यमी समाजका अध्यक्ष प्रेमकुमारी राईलाई प्रदान गरिएको छ । पूर्वअर्थ तथा जलस्रोतमन्त्री डा. यादवप्रसाद पन्तको १००औं जन्मजयन्तीका अवसरमा पूर्वमन्त्री बालाराम घर्तिमगरलाई अभिनन्दनसमेत गरिएको थियो ।
घर्तिमगरले स्व. पन्तलाई स्मरण गर्दै उनी अत्यन्तै मिलनसार र देशप्रेमको भावनाले ओतप्रोत व्यक्ति रहेको बताए । उनले त्यसकारण उनलाई नेपालीले बिर्सन नसकेको घर्तिमगरको भनाइ छ ।
सोही अवसरमा प्रतिष्ठानले प्रकाशन गरेको सम्झनामा डा. यादवप्रसाद पन्त पुस्तकको लोकार्पण लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी लगायतले गरे ।
रेग्मीले डा. यादवप्रसाद पन्तले सामाजिक, आर्थिक क्षेत्रमा पुर्याएको योगदानको चर्चासमेत गरे । पन्तले नेपालको विकासमा महत्त्वपूर्ण योगदान दिएको चर्चा गर्दै लोकसेवा आयोगका अध्यक्ष रेग्मीले उनी सामान्य अर्थशास्त्री मात्र नभएर सफल कूटनीतिज्ञसमेत भएको बताए ।
नेपालको योजनाकार र अर्थशास्त्री स्व. पन्तले बनारस हिन्दु विश्वविद्यालयबाट सन् १९५२ मा अर्थशास्त्रमा विद्यावारिधि गरेका थिए । त्यसलगत्तै केही समय उनले त्रिचन्द्र कलेजमा अर्थशास्त्र पढाए । त्यसपछि उनले नेपाल सरकारको अर्थ सल्लाहकार र अर्थसचिवको जिम्मेवारी पनि सम्हालेका थिए । उनले राष्ट्रिय योजना आयोगको सदस्यको जिम्मेवारी पनि निर्वाह गरेका थिए ।
उनले २०१५–२०२६ सालसम्म गर्भनरका रूपमा काम गरेका थिए । त्यसपछि उनी जापानको राजदूत नियुक्त भए । त्यतिबेला उनको पहलमा नेपालले आर्थिक सहयोग पाएको थियो । त्यसपछि उनले अस्ट्रेलिया, फिलिपिन्स, दक्षिण कोरियाको राजदूतको जिम्मेवारी पाएका थिए ।