पाटन । नेपालको आयातित धुपले बढ्दो परनिर्भरता, स्वास्थ्य र आर्थिक रूपमा चिन्ता बढाएको भन्दै नेपालको सांस्कृतिक सम्पदालाई जोगाउन समर्पित युवाहरूको समूह मोही (MOHEE) ले शनिबार "आमासँग सिकौं" नामक कार्यशाला आयोजना गरेको छ। बखुन्डोलमा आयोजित कार्यशालामा युवाहरूलाई वृद्ध महिलाहरूले बाटेको धुप बनाउन सिकाएका थिए ।
सन २०२३ मा नेपालले ३ हजार १०० टनभन्दा बढी अगरबत्ती आयात गर्दा २१ करोड नेपाली रुपैयाँ खर्च भएको थियो । यस्ता उत्पादनहरूमा प्रायः सिन्थेटिक रसायन र पेट्रोलियमबाट बनेका हुने भएकाले क्यान्सरलगायत स्वास्थ्य जोखिमहरू निम्त्याउँ गरेको मोहीका प्रमुख अनिल रञ्जितले बताए ।
'परम्परागत नेपाली धुप, जसलाई बाटेको धुप भनेर चिनिन्छ, नेपाली जडिबुटीबाट बनाइने यो एक सुरक्षित विकल्प हो,' रञ्जितले भने, 'हामीले हाम्रो जरा कहिल्यै भुल्न हुँदैन, हाम्रा सांस्कृतिक अभ्यासहरू हाम्रो सबैभन्दा दिगो सम्पत्ति हुन्। हामीले प्रवर्द्धन गर्नुपर्छ।'
मोहीका सदस्य सिमोन पौडेलले परम्परागत धुपको औषधीय गुणबारे चर्चा गरेका थिए । सिन्थेटिक उत्पादनहरू आयात गर्नुभन्दा, आफ्ना प्राकृतिक उत्पादनहरूलाई प्रयोग र निर्यात अवसरहरू पनि खोज्नु पर्ने बताए ।