नेपालको वैदेशिक व्यापार सधैं घाटामा गइरहेको छ । आयातको तुलनामा निर्यात ज्यादै कम रहने गरेको छ । यो अनुपात पुर्न नेपालका लागि असम्भव जस्तै देखिँदैछ । त्यसैले यसलाई कम गर्ने लक्ष्यहरू लिइएका छन् तर त्यसअनुसार परिणाम भने हासिल हुन सकेको छैन । यही क्रममा यस आलेखमा चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो छ महीनाको आयात निर्यातको अवस्था तुलना गरिएको छ । आव २०८१/८२ को प्रथम छ महीनाको कुल वैदेशिक व्यापारमा अघिल्लो आवको सोही अवधिको तुलनामा ९ दशमलव २५ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागबाट प्रकाशित प्रथम छ महीनाको तथ्यांकअनुसार आव २०८१/८२ मा रू. ९२१ अर्ब १६ करोड रुपैयाँको आयात भएको छ जुन गत वर्षको आयात रू. ८४३ अर्ब १४ करोड रुपैयाँको तुलनामा करीब ९ दशमलव २५ प्रतिशतले बढी हो । निर्यातमा सकारात्मक संकेत देखिएको छ । गतवर्ष यस अवधिमा रू. ७४ अर्ब ९७ करोडको निर्यात भएकोमा यस वर्ष रू. ९८ अर्ब ७९ करोड रुपैयाँको निर्यात भई ३१ दशमलव ७८ प्रतिशतले वृद्धि भएको छ । आयातमा भएको ७ दशमलव ०६ प्रतिशत वृद्धिदरको तुलनामा यो वृद्धि उत्साहजनक छ । व्यापारघाटा यस वर्ष गतवर्षको तुलनामा ४ दशमलव ३८ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा आयातबाट प्राप्त हुने कुल राजस्व रू. २२४ अर्ब ३४ करोड संकलन भएको छ । यो अघिल्लो आवको रू. २०३ अर्ब ७० करोडको तुलनामा १० प्रतिशतले बढी हो ।
चालु आवको प्रथम ६ महीनामा मूल्यका दृष्टिले सबैभन्दा बढी मूल्यको आयातित मालवस्तुमा पेट्रोलियम तथा कोइला रहेको छ । यस क्षेत्रको आयात मूल्य रू. १४७ अर्ब १८ करोड रहेको छ भने गतवर्ष यसको आयात मूल्य रू. १५७ अर्ब ७६ करोड रहेको थियो । यस क्षेत्रको आयातमा करीब ६ दशमलव ७ प्रतिशतले गिरावट आएको छ । दोस्रोमा फलाम तथा इस्पात रहेको छ । यसको आयात मूल्य रू. ६८ अर्ब ०८ करोड रहेको छ जुन गतवर्षको तुलनामा २ दशमलव ७ प्रतिशतले बढी हो । तेस्रोमा विद्युतीय उपकरणहरू आयात भएका छन् । यिनको आयात मूल्य रू. ५४ अर्ब ७१ करोड छ, जसमा गतवर्षको तुलनामा ५ प्रतिशतले वृद्धि भएको छ । चौथोमा मेशीनरी तथा सम्बद्ध उपकरण पर्छ । यसको आयात मूल्यमा १२ दशमलव ८ प्रतिशतले वृद्धि भई रू. ५४ अर्ब २३ करोड पुगेको छ । पाँचौंमा सवारीसाधन आयात भएको छ । यसको आयात मूल्य रू. ४७ अर्ब ९७ करोड रहेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा ३२ प्रतिशतले वृद्धि हो ।
प्रमुख निर्यात
चालु आवको प्रथम ६ महीनामा सबैभन्दा बढी मूल्यको निर्यात भएका मालवस्तुको क्षेत्रमा जीवजन्तु तथा वानस्पतिक बोसो तथा तेल रहेका छन् । यिनको वृद्धि देखिनुको मुख्य कारण पाम आयल तथा सोयाबिन आयाल निर्यातमा भएको वृद्धि हो । यस क्षेत्रको निर्यात रू. २५ अर्ब १३ करोडको रहेको छ । गतवर्ष यिनको निर्यात निकै कम अर्थात ३ अर्ब ५४ करोड मात्र थियो । समीक्षा अवधिमा ६०९ प्रतिशतले वृद्धि भएको छ । दोस्रो निर्यात हुने वस्तुमा कफी तथा चिया रहेका छ । गतवर्ष रू. ७ अर्ब २४ करोडको निर्यात रहेको यस क्षेत्रको यस वर्ष रू. ८ अर्ब २४ करोडको निर्यात भएको छ । यस वर्ष १३ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ । तेस्रोमा रू. ६ अर्ब ८६ करोड बराबरको कृत्रिम रेसाबाट निर्मित धागो निर्यात भएको छ । गतवर्ष रू. ५ अर्ब ६३ करोडको निर्यात रहेको यसको निर्यातमा २१ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ । चौथोमा रू. ६ अर्ब २५ करोडको गलैँचा तथा यस्तै अन्य भुइँमा बिछ्याउने वस्तु निर्यात भएको छ । गतवर्ष रू. ५ अर्ब ६८ करोडको निर्यात भएको थियो । समीक्षा अवधिमा १० प्रतिशतले वृद्धि भएको छ । पाँचौंमा रू. ६ अर्ब १९ करोडको फलाम तथा इस्पात निर्यात भएको छ । गतवर्ष रू. ८ अर्ब ९ करोडको निर्यात भएको थियो र समीक्षा अवधिमा निर्यात हुने मालवस्तुमा प्रथम स्थानमा थियो । यस वर्ष यस क्षेत्रको निर्यातमा २३ प्रतिशतले गिरावट आएको छ ।
राजस्व संकलन
चालु आवमा सबैभन्दा बढी राजस्व संकलन पेट्रोलियम पदार्थ तथा कोइला आयातबाट भएको छ । समीक्षा अवधिमा यसबाट रू. ५८ अर्ब १६ करोड मूल्यको राजस्व संकलन भएको छ । यो भनेको गतवर्षको तुलनामा ३ दशमलव ७ प्रतिशतले वृद्धि हुनु हो । सवारीसाधन तथा यसका पार्टपुर्जा आयातबाट संकलित राजस्व करिब रू. ३८ अर्ब रहेको छ जुन गतवर्षको रू २६ अर्ब ५१ करोडको संकलित राजस्वको तुलनामा ४३ प्रतिशतले बढी हो । त्यस्तै राजस्व संकलनका दृष्टिले तेस्रो स्थानमा रहेको फलाम तथा स्पात ३ दशमलव ५ प्रतिशतले, चौथो स्थानको विद्युतीय उपकरण १० दशमलव ७ प्रतिशतले तथा पाँचौं स्थानको मेशीनरी तथा सम्बद्ध उपकरण आयातबाट संकलन हुने राजस्वको वृद्धि २० दशमलव ७ प्रतिशतले भएको छ ।
लेखक तथ्यांक शास्त्री एवं भन्सार विभागका पूर्व कर्मचारी हुन् ।