काठमाडौं। प्रोग्रेशिभ फाइनान्स लिमिटेडले २७औं एवं २८औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सोमवार संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद महर्जनको अध्यक्षतामा उक्त साभारणसभा सम्पन्न भएको हो ।
सभामा सञ्चालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै अध्यक्ष महर्जनले संस्थाले आर्थिक वर्ष २०७९/८० तथा २०८०/८१ मा गरेका कार्यक्रम तथा गतिविधिबारे प्रकाश पारेका थिए । उनले चालू आर्थिक वर्षमा संस्थाले सञ्चालन गरेका तथा आगामी आर्थिक वर्षमा संस्थाले सञ्चालन गर्ने कार्यक्रम तथा योजनाबारे जानकारी दिए । साधारण सभामा वार्षिक प्रतिवेदनका सम्बन्धमा उठेका प्रश्न एवं जिज्ञासाको जवाफ दिँदै अध्यक्ष महर्जनले संस्था अपेक्षित रूपले प्रगति गरिरहेको बताए ।
साथै संस्थाले गत आर्थिक वर्षमा मुनाफा आर्जन गरी शेयरधनीमा आशाको सञ्चार गराएको उनको भनाइ छ । साधारणसभाले आर्थिक वर्ष २०७९/८० तथा २०८०/८१ को वित्तीय अवस्थाको विवरण, नाफा/नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरणका साथै सम्पूर्ण अनूसूचीसहितको वित्तीय विवरण छलफलपश्चात् स्वीकृत गरेको छ ।
सभाले आर्थिक वर्ष २०८०/८१का लागि कम्पनी रजिष्ट्रार कार्यालयबाट स्वीकृति लिई नियुक्त गरिएको बाह्य लेखापरीक्षक रन्जिव एण्ड एशोसिएट्सको नियुक्ति अनुमोदन गरेको छ । त्यसैगरी २०८१/८२ का निम्ति बाह्य लेखापरीक्षकका रूपमा डी.जी एण्ड एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्ति गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।
संस्थाले हाल २३ ओटा शाखा कार्यालय तथा चारओटा एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा दिँदै आएको संस्थाका प्रमुख सूचना अधिकारी प्रमोद भट्टराईले जानकारी दिए ।