काठमाडौं। प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले उक्त कार्यका लागि शेयरको खरीद प्रत्याभुतिकर्तामा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लाई संयुक्त रुपमा नियुक्त गरेको छ ।
कम्पनीले २२ लाख ५ हजार कित्ता आईपीओ प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल २२ करोड ५० लाख रुपैयाँको खरीद प्रत्याभुति सेवाको लागि नियुक्त गरेको हो ।
सोमवार आयोजित एक कार्यक्रममा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोका तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र नबिल इन्भेष्टमेन्ट बैंकिङ का तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले संयुक्त रुपमा त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएर स्वीकृति पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ ।
२०७९ पुस १२ गते कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको उक्त कम्पनीले सोही वर्षको चैत २९ गते नेपाल बीमा प्राधिकरणबाट निर्जीवन लघुबीमा व्यवसाय सञ्चालकको अनुमति पाएको हो । कैलालीको धनगढीमा केन्द्रीय कार्यालय रहेको कम्पनीले लघुबीमा सेवा प्रदान गर्दै आएको छ ।