काठमाडौं । धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा विगत १ हप्ताका अधिकांश दिनमा कारोबार मूल्यका हिसाबले हिमालयन रिइन्स्योरन्स कम्पनी सबैभन्दा अगाडि रह्यो ।
कारोबार रकमका हिसाबले फागुन ६, ११, १२ र १३ गते यो कम्पनी पहिलो भएको हो । फागुन ८ मा भने नेपाल पुनर्बीमा कम्पनी कारोबार रकममा अगाडि रह्यो । फागुन ५ गते पनि कारोबार रकममा यही कम्पनी अगाडि थियो ।
यसले पुनर्बीमा कम्पनीहरूको शेयरमा लगानीकर्ताको आकर्षण धेरै रहेको देखाएको छ । कारोबार रकमका हिसाबले मात्र यी कम्पनी अगाडि आएका होइनन् बरु यिनको शेयर मूल्य पनि बढेको छ ।
माघ मसान्तयता शेयरबजार केही उकालो लागेको छ । माघ मसान्तसँग तुलना गर्दा दुवै पुनर्बीमा कम्पनीको शेयरमूल्य बढेको देखिन्छ । माघ मसान्तमा नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ९७४ रुपैयाँ ७५ पैसा रहेकोमा फागुन १३ गते १ हजार ३०४ रुपैयाँ कायम भएको छ ।
त्यस्तै हिमालयन रिइन्स्योरेन्सको माघ मसान्तमा प्रतिकित्ता ८४९ रुपैयाँ रहेको शेयरमूल्य फागुन १३ गते प्रतिकित्ता १ हजार २५ रुपैयाँ कायम भएको छ । फागुनमा नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३२९ रुपैयाँ २५ पैसाले र हिमालयन रिइन्स्योरेन्सको प्रतिकित्ता १७६ रुपैयाँले बढेको हो ।
नेपालमा दुईओटा मात्र पुनर्बीमा कम्पनी सञ्चालनमा छन् । वित्तीय अवस्था राम्रो रहेका यी कम्पनीको शेयरमा पछिल्लो साता लगानीकर्ताको आकर्षण कायमै रहेको नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले बताए ।
यी कम्पनीहरू पूँजी वृद्धि अभियानमा रहेकाले आगामी दिनमा आकर्षक बोनस र हकप्रद शेयरमार्फत पूँजी बढाउने भएकाले लगानीकर्ता त्यसमा समेत लोभिएको बुझाइ रौनियारको छ ।
नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य यसअघि २ हजार रुपैयाँ नाघेकाले बढ्दो बजारमा यसअघिको मूल्यसम्म पुग्ने विश्वासले पनि लगानीकर्ता यस कम्पनीको शेयरप्रति आकर्षित भएको रौनियारको भनाइ छ । हिमालयन रिइन्स्योरेन्सले ८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको र नेपाल पुनर्बीमा कम्पनीले पनि पूँजी पुर्याउनुपर्ने बाध्यात्मक अवस्थामा हकप्रद र बोनसलाई नै जोड दिने विश्वासका साथ लगानीकर्ता यी कम्पनीको शेयर खरीदमा सक्रिय रहेको रौनियारको बुझाइ छ ।
२०८२ माघ मसान्तसम्ममा पुनर्बीमा क्षेत्रका यी दुई कम्पनीलाई २० अर्ब रुपैयाँका दरले पूँजी कायम गर्नुपर्ने बाध्यता छ । यसअघि यी पुनर्बीमा कम्पनीलाई २०८१ माघ मसान्तसम्ममा तोकिएको पूँजी कायम गर्ने समयसीमा दिइएकोमा उक्त अवधिभित्र पूँजी पुग्ने नदेखिएकाले नेपाल बीमा प्राधिकरणले १ वर्ष थपेर सहुलियत प्रदान गरेको हो ।
यी कम्पनीहरूले बोनस र हकप्रद शेयरमार्फत पूँजी बढाउने योजना प्राधिकरणमा पेश गरेका छन् । त्यसका लागि समय लाग्ने भएसँगै प्राधिकरणले १ वर्ष थप गर्ने निर्णय गरेको प्राधिकरणका कानून विभाग प्रमुख शम्भराज लामिछानेले जानकारी दिए । प्राधिकरणले दिएको सहुलियतलाई ध्यानमा राखेर थपिएको समयमा पूँजी कायम गर्न समेत सम्बद्ध कम्पनीलाई निर्देशन दिएको लामिछानेले जानकारी दिए ।
हाल नेपाल पुनर्बीमा कम्पनीको १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सको १० अर्ब ४० करोड चुक्तापूँजी छ ।
प्राधिकरणले तोकेको चुक्ता पूँजी कायम गर्न नेपाल पुनर्बीमालाई थप ६ अर्ब ५७ करोड ७८ लाख १३ हजार रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सलाई थप ९ अर्ब ६० करोड रुपैयाँ आवश्यक छ । हिमालयन रिइन्स्योरेन्सले ८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव २०८० फागुन २० गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित गराइसकेको छ । कम्पनीले ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हकप्रदपछि हिमालयनको चुक्ता पूँजी १८ अर्ब ७२ करोड रुपैयाँ कायम हुनेछ ।
नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीका लागि तय गरेको न्यूनतम चुक्ता पूँजी कायम गर्न हिमालयन रिइन्स्योरेन्सलाई ८० प्रतिशत हकप्रदपछि पनि थप १ अर्ब २८ करोड रुपैयाँ आवश्यक हुन्छ ।
नेपाल पुनर्बीमा कम्पनीले भने २०७६/७७ सालदेखि नै निरन्तर लाभांश वितरण गर्दै आएको छ । यसले पनि बोनस र हकप्रद शेयर जारी गरेर पूँजी बढाउने योजना पेश गरेको प्राधिकरणले बताएको छ ।