काठमाडौं । अर्थतन्त्रको ऐना मानिने नेपालको पूँजीबजारमा तीव्र उतारचढावबीच कारोबार भइरहेको छ । पछिल्लो समय २ हजार ३० बिन्दुबाट उकालो लाग्दै ३ हजार बिन्दु पार गरेको बजार मापक नेप्से भदौ १८ गतेको कारोबारमा २ हजार ८३० दशमलव २० बिन्दुमा आएर बन्द भएको छ ।
यसअघि २ कारोबार दिन लगातार बजार घट्दा नेप्से ९० अंक तल झरेकोमा भदौ १७ गते १२७ दशमलव ३२ अंकले माथि उक्लिएको थियो । भदौ १८ गतेको कारोबारमा ६ दशमलव ९४ बिन्दुले बढेर नेप्से २ हजार ८३० दशमलव २० मा पुगेको छ ।
केही दिनयता दोस्रो बजारमा धितोपत्रको किनबेच भने कम भएको छ । साउन ३१ गते नेप्से ३ हजार ३६ दशमलव ६४ बिन्दुसम्म पुगेको दिन बजारमा २९ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको धितोपत्र किनबेच भएको थियो । भदौ १८ गते १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँभन्दा बढीको मात्रै कारोबार भयो ।
पछिल्ला २ सातामा उचाइमा पुगेर केही तल आए पनि समग्रमा शेयरबजार माथि नै छ । पूँजी बजारका विज्ञहरू बजार तत्काल तल आउने सम्भावना कम रहेको बताउँछन् ।
स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटाले बजार सकारात्मक बन्ने आधारहरू प्रशस्त रहेकाले घट्ने सम्भावना कम रहेको बताए । दोस्रो बजारमा व्यक्तिगतसँगै संस्थागत लगानीकर्ताको संख्या बढ्नु, बैंकिङ प्रणालीमा तरलता पर्याप्त हुनु, बैंकमा निक्षेपको ब्याजदर घट्नुलगायत कारणले पूँजीबजारमा लगानीको वातावरण बन्दै गएको उनको भनाइ छ ।
राष्ट्र बैंकले पनि संस्थागत लगानीकर्ताका लागि तोकेको अधिकतम शेयर धितो कर्जाको सीमा हटाएको छ । यसले गर्दा उनीहरूलाई शेयर धितोमा कर्जा लिएर थप शेयर किन्ने बाटो खुलेको छ । तीव्र रूपमा माथि उक्लिरहेको बजारमा केही दिनयता केही करेक्सन आउने क्रममा उतारचढाव भएको विज्ञहरूको मत छ ।
लगानीकर्ता छोटेलाल रौनियार बजार मापक नेप्से उच्च बिन्दुबाट केही तल आए पनि लगानीकर्ताको उत्साह नमरेको बताउँछन् । नेपाल स्टक एक्सचेन्जका अनुसार हाल दोस्रो बजारमा करीब २३ लाख लगानीकर्ता छन् । दुई महीनायता बजार बढेसँगै दोस्रो बजारमा नयाँ लगानीकर्ता थपिएका छन् । बजारमा नयाँ लगानीकर्ताको प्रवेश बढिरहेकाले बढ्दा मात्तिने र घट्दा आत्तिने परिपाटीमा समेत वृद्धि देखिएको रौनियारले बताए ।
पूँजीबजारले रुचाएका अर्थमन्त्री रहेको, पूँजीबजारमैत्री मौद्रिक नीति आएको र बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य पूँजी भएकाले पूँजीबजारमा उत्साह कायमै रहेको उनको भनाइ छ । सबै कुराले सकारात्मक माहोल सृजना गरेको अवस्थामा लघुवित्त कम्पनीहरूले १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्दा पूरा गर्नुपर्ने शर्त हटाउनुपर्ने उनको सुझाव छ । नाफा कमाएका र लाभांश बाँड्न सक्ने क्षमताका लघुवित्तलाई राष्ट्र बैंकले यसअघिको नियम संशोधन गरी लाभांशको दायरा फराकिलो पार्नुपर्ने रौनियारको भनाइ छ ।
पूँजीबजारमा लगानी गर्ने लगानीकर्ताले वित्तीयसँगै प्राविधिक विश्लेषणमा समेत ध्यान दिनुपर्छ । नेपालको पूँजीबजारलाई प्राविधिक रूपमा विश्लेषण गर्दै आएका विश्लेषक विष्णुप्रसाद बस्यालले पनि प्राविधिक रूपमा बजार बढ्न सक्ने संकेत गरे ।
बजार केही तलमाथि हुनसक्ने भए पनि यसले २ हजार ८६० देखि २ हजार ८७० सम्मको बिन्दु पछ्याउँदै २ हजार ९०० बिन्दुसम्म पुग्ने प्रक्षेपण प्राविधिक विश्लेषणले देखाएको बस्यालले बताए । पूँजीबजारका सरोकारवालाहरूले सकारात्मक गतिका रूपमा औंल्याएको पूँजीबजारको कुल बजार पूँजीकरण ४४ खर्ब ९४ अर्ब ९४ करोड १५ लाख ७४ हजार रुपैयाँ कायम भएको छ । साउन ३१ गते नेप्सेले ३ हजार बिन्दु पार गर्दा कुल बजार पूँजीकरण ४७ खर्ब ६५ अर्ब ९० करोड ९८ लाख रुपैयाँ कायम भएको थियो । उक्त दिन कुल बजार पूँजीकरणले कीर्तिमान कायम गरेको थियो । पछिल्लो कारोबार दिन ऐतिहासिक कीर्तिमानभन्दा कुल बजार पूँजीकरण २ खर्ब ७० अर्ब ९६ करोड ८३ लाख रुपैयाँ कम कायम भएको छ ।
देशको अर्थतन्त्र चलायमान हुनेतर्फ अघि बढेको उल्लेख गर्दै अध्यक्ष सापकोटाले अर्थतन्त्र चलायमान हुनुअघि पूँजीबजार चलायमान हुने बताए । ‘हाम्रो बजारमा लगानीकर्ताभन्दा ट्रेडर बढी छन्,’ उनले भने, ‘आत्तिने र मात्तिने लगानीकर्ताका कारण बजारको दिगो विकास हुन सकेको छैन ।’ बजार घट्दा लगानीकर्ता मात्र होइन, ब्रोकरको समेत कारोबारमा समस्या हुने भएकाले लगानीकर्ताले आफ्नो क्षमता हेरेर कारोबार गर्नुपर्ने सापकोटाले सुझाए । अत्याउने र मत्याउने व्यक्तिको पछि लाग्दा सोझा सीधा लगानीकर्ता बढी जोखिममा पर्ने सम्भावना पनि उनले औंल्याए ।